
समीक्षा
डा.राजेन्द्रप्रसादको जीवनगाथाको नेपाली स्वरुप
छविरमण सिलवाल
हरेक मान्छेले आफ्नो जीवनको अनुभव बाँड्न चाहन्छ । पहिला मान्छेहरु आफ्ना अनुभव बाड्नको लागि टोल छरछिमेकमा पाका व्यक्तिहरु गफिन्थे, साना सानाहरु सुन्थे । समाजका उत्कृष्ठ व्यक्तिहरु लिखित रुपमा आफ्ना अनुभवहरु पुस्तकका रुपमा निकाल्थे । समाजका गन्यमान्य व्यक्तिहरुका आत्मकथाहरु पढेर केही सिक्ने तथा आत्मवल प्राप्त हुने गर्दछ । पछिल्लो समयमा समाजका विभिन्न व्यक्तिहरुका आत्मकथा लेखन र पठनमा रुचि वढेको देखिन्छ । जीवनमा भोगेका अनुभव, संघर्ष, सफलता र सिकाईलाई अरूसँग बाँड्ने माध्यम धेरै छन् अहिले । त्यस्ता व्यक्तिका अनुभवहरुले हरेक मान्छेलाई जीवन जिउने क्रममा उत्साह प्राप्त हुन्छ, त्यसैले पनि आत्मकथाका पुस्तकहरु पठनीय बनेका छन् ।
आत्मकथा व्यक्तिको व्यक्तिगत जीवनसँग मात्र सम्बन्धित हुँदैन, त्यो लेखिएको समय, समाज, संस्कृति, राजनीति आदिको पनि दस्तावेज हुन्छ । आफ्नो विचार, भावना र सोच प्रकट गर्न आत्मकथा लेखेर मानिसहरूले आफू भित्र लुकेका भावना, सोच, विचार र आत्मनिरीक्षण अरूलाई देखाउने मौका पाउँछन् । र, पढ्ने व्यक्तिहरुले पनि ति आत्मकथाबाट सिक्ने अवसरका साथै इतिहासको कालखण्डमा घटेका विविध घटनाक्रमलाई बुझ्न पाउँछन् । अर्को कुरा ति व्यक्तिको जीवन यात्रा, कठिनाइ र संघर्षले भरिएको क्षण अरूलाई हौसला र प्रेरणाको स्रोत बन्न सक्छ । त्यतिमात्र नभएर लेखकले मानसिक सन्तुष्टिको लागि कहिलेकाहीँ आत्मकथा लेख्नु आफ्ना अनुभवलाई स्वीकार गर्ने, सम्झिने र त्यसबाट सन्तोष पाउने माध्यम पनि हुन्छ ।
यसकारण पनि दर्शक वा पाठकलाई नजिक ल्याउन सेलिब्रिटी, नेता, कलाकार वा प्रसिद्ध व्यक्तिहरूले आफ्नो व्यक्तिगत पक्ष समेटेर पाठकसँग भावनात्मक सम्बन्ध बनाउने प्रयत्न गरिरहेका छन् । स्वदेश तथा विदेशका विविध क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुका जीवनमा घटेका विविध आयामहरु हरेक मान्छेका लागि प्रेरणाका स्रोत बन्न पुग्छन् । यसको धेरै उदाहरणहरु छन् । समाज, राजनीति र इतिहासको ज्ञान आत्मकथामार्फत लेखकको समय, समाज, संस्कृति र राजनीतिक अवस्था प्रतिबिम्बित हुने गर्छ ।
यस्तै एउटा आत्मकथा डा.राजेन्द्रप्रसादले पनि लेख्नु भएको छ । भारतका प्रख्यात व्यक्तित्व डा.राजेन्द्रप्रसादको आत्मकथाले पनि त्यो समय र समाजको चित्र हुबहु उतारेको छ । भारत स्वतन्त्र भएपछिको प्रथम राष्ट्रपति हुनुभएका डा.राजेन्द्रप्रसादको जीवनगाथा पढ्दा त्यस समयको चित्र हुबहु पढ्न सकिन्छ । सन १९०५ मा भारत छोडोको अभियानमा लागेका व्यक्ति अन्ततः भारतको प्रथम राष्ट्रपति भए । त्यो समयमा उनले गरेका भोगेका यथार्थ चित्र पुस्तकको रुपमा आएको छ । यस पुस्तकलाई हिन्दीबाट नेपालीमा श्याम प्रधानले अनुवाद गनु भएको हो । श्याम प्रधान नेपाली साहित्य लगायत अनुवादमा पनि प्रख्यात हुनुहुन्छ । उहाँले नेपाली भाषीहरुका लागि यो पुस्तक लगायत थुप्रै पुस्तकहरु अनुवाद गर्नु भएको छ ।
एउटा साधारण परिवारको मान्छे कसरी देशको राष्ट्रपति बन्न सक्यो भन्ने कुरा आत्मकथा पढेपछि बुझिन्छ । हुनतः उनी राष्ट्रपति बन्छु भनेर ति आन्दोलनमा लागेका पनि होइन रहेछन् भन्ने कुरा पुस्तकबाट जानकारी पाइन्छ । एउटा साधारण व्यक्ति जो अन्याय सहन सक्दैन गरिव दुःखीका पीडालाई आफ्नै पीडा मानेर हिड्छ हो त्यस्ता व्यक्तिहरु सधैँ पुजिने रहेछन् भन्ने जानकारी पनि पुस्तकमार्फत सिक्न सकिन्छ । विद्यार्थी समयदेखि नै केही गरौँ भन्ने भावना उजागर भएका राजेन्द्रप्रसादले पढाईसँगै समाजसेवा तथा देशहितमा आवाज बुलन्द गर्दै अगाडि वढेका कथाले धेरैलाई प्रेरणादायी बन्न सक्छ । उनी आफै वकिल भएपनि राजनीतिक बन्दीको रुपमा धेरैपटक जेलजीवन विताएका क्षणमा पनि उनको आत्मविश्वास कतिपनि डगमगाएन । निरन्तरको साधना र लगनले आखिर अग्रेजबाट भारत स्वतन्त्र गराएका महत्वपूर्ण क्षणहरुको साक्षी बसेका राजेन्द्रप्रसादको आत्मकथा वास्तवमै प्रेरणादायी पुस्तकको रुपमा लिन सकिन्छ ।
जन्मसँगै हरेक मान्छेले आ–आफ्ना दुःख, सुखका भारीहरु आफैले बोकेर ल्याएको हुन्छ । हरेक मान्छेले आफ्नो कर्म साधनालाई नरोकीकनै जीवनका पाटाहरुमा सजाउन सक्ने रहेछ भन्ने ज्ञान यो आत्मकथाले दिन्छ । आखिर कर्म भन्दा ठूलो साधना केही रहेनछ । र, हरेक मानव कर्मठ बनेर जनजनसँग घुलमिल गर्दै जन्मभूमिको स्नेहलाई मुटुमा सजाएर लागेका डा.राजेन्द्रप्रसादको यो आत्मकथा वास्तवमै प्रेरणाका पुञ्जको रुपमा ग्रहण गर्न सकिन्छ ।
‘श्री राजेन्द्र बाबुलाई देख्नासाथ नै वहाँको सरलता र नम्रताको जुन छाप हामैो मन–मस्तिष्कमा पर्दछ, त्यसैले प्रतिबिम्ब नै यस आत्मकथाको पानापानामा भेटिन्छ । लगभग पछिल्लो पच्चिस वर्षदेखि हाम्रो देश कुन स्थितिबाट कुन स्थितिमा पुग्यो, त्यसको जीवन्त र एउटा पवित्र देशभक्तिको रङ हृदयभित्र अंकित भएको इतिहासका पाठकले यस आत्मकथामा भेट्नु हुनेछ ।’वल्लभ भाइ पट्टेलजीका यी हरफहरुले पुस्तकको ओज वढाएका छन् । पुस्तक पढिरहदा वल्लभ भाइ पट्टेलजीका यी हरफहरुसँग साक्षात्कार हुन सकिन्छ ।
आत्मकथा पढिरहदा डा.राजेन्द्रप्रसादको सरलता र नम्रताको छाप सबैको मन–मस्तिष्कमा पर्दछ । पवित्र देश भक्तिको रङ ह्रदयमा अंकित भएको इतिहासका पानाहरु पनि आत्मकथामा भेटिन्छन् । भारतको एउटा राज्य बिहारको ग्रामिण जीवनमा हुर्किएको बाल्यकाल र, एउटा बालक कसरी देशको प्रथम राष्ट्रिपति हुनपुग्यो भन्ने जिज्ञासा जो कोहीलाई पनि पर्नसक्छ । यसको उत्तर खोज्नलाई पनि यो आत्मकथा पढ्नुपर्ने देखिन्छ । त्यसबेलाको जीवनशैली, रितिरिवाज, धर्म–संस्कृतिका बारेमा पनि जानकार होइन्छ । अर्को कुरा आफ्नो पूर्खाले आर्जेको धर्तिमा अर्कैले गरिरहेको दमनका शृङ्खलालाई कसरी पच्चिस वर्षमा स्वतन्त्र गराउन सके भन्ने सहसीका कथाले भरिपूर्ण डा.राजेन्द्रप्रसादको आत्मकथाले त्यो क्रुर इतिहासको झल्को पनि दिन्छ ।
आज भन्दा करिव एकसय वर्ष अगाडिको इतिहास भैसकेको समयलाई हामीले अहिले पढ्दा कथा पढेजस्तो लागे पनि त्यो सत्य थियो । डा.राजेन्द्रप्रसादका स्कुल, कलेजमा वितेको समय वास्तवमै चुनौतिपूर्ण रहेछ । त्यति हुँदाहुँदै पनि डा.राजेन्द्रप्रसाद पढाईसँगै देशमा अङ्ग्रेजको शासनविरुद्धमा लागिरहे । यसैक्रममा कैयौ पटक जेलनेल भोगे, एउटै समयमा गान्धीलाई भेटेपछि गान्धीको सरलताबाट प्रभावित भएर एउटै अभियानमा लागि परेका वखतका धेरै कथाहरु यस आत्मकथामा पोखिएका छन् । त्यसैले पनि यस्ता आत्मकथाले मान्छे गलतबाटोमा लागिरहेको रहेछ भने पनि सहि मार्गमा ल्याउन मद्दत गर्दछ । त्यसैले पनि यस्ता कृतिहरुको महत्व हुन्छ । हिन्दी नबुझ्ने पाठकहरुको लागि श्याम प्रधानज्यूले नेपालीमा अनुवाद गरेर नेपाली पाठकलाई सजिलो गराउनु भएको छ । स्वतन्त्र भारतको प्रथम राष्ट्रपति डा.राजेन्द्रपसादको जीवन र तात्कालिन समाज जीवन, मूल्य एवं रीतिरिवाजको प्रतिबिम्ब प्रस्तुत गर्दछ वहाँको यो आत्मकथाले । यस्ता कृतिहरुले त्यो समयका वास्तविक चित्रहरुसँग नजिकिन सकिन्छ, ति भोगाईहरुलाई नजिकबाट बुझ्न सकिन्छ । हामी नजम्दैको त्यो युगका भोगाईलाई पुस्तकमार्फत अनुभूति गर्न सकिन्छ । त्यसैले पनि यस्ता कृतिहरुको महत्व हुन्छ । हिन्दीबाट अनुवाद गरेर नेपाली पाठकहरु समक्ष पुर्याउने वरिष्ठ सर्जक श्याम प्रधानको यो कार्यको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
पुस्तकलाई ओरियन्टल पब्लिकेसन्सले प्रकाशन गरेको छ ।








