
यो पौभाको मुख्य विषय काठमाडौंका एक जना प्रख्यात राजा प्रताप मल्लले हनुमानढोका परिसरमा रहेको तुलाजा भवानीको मन्दिर अगाडि दिईरहेको विश्व प्रसिद्ध दान तुलादान हो ।
तुलादान भनेको हिन्दू र मुगल राजाहरूले गर्ने ठूलो दान हो । यसको शुरूवात सबैभन्दा पहिले स्वर्गका राजा ईन्द्रले आफ्नो पापकर्म नाश गर्न गरेका थिए । यो समारोहको विधि अनुसार जुन व्यक्तिको नाममा दान गर्नु पर्ने हो, सो व्यक्तिलाई तराजुको एक भागमा राखिन्छ र त्यही वजन बराबर विभिन्न वहुमूल्य बस्तुहरू जस्तै ( असर्फी, हीरा, मोती, सुन, चाँदी, र सुनका गर गहनाहरू तराजुको अर्को भागमा राखेर जोखिन्छ । त्यही वजन बराबरको बहुमूल्य बस्तुहरू सबैभन्दा पहिला मल्लहरूका ईष्टदेवी तुलजा भवानीलाई चढाईन्छ । अरू बाँकी बहुमूल्य बस्तुहरू ब्राम्हण, साधु र अरू गरीब व्यक्तिहरूलाई दान गरिन्छ ।
यहाँ काठमाडौंका प्रसिद्ध राजा प्रताप मल्लले ने।सं। ७८४ वा ई.सं.१६६४ मा आफ्नो द्वितीय प्यारो पुत्र चक्रवतिन्द्रको सु-स्वास्थ्यको कामनाको लागि आफ्नो ईष्ट देवता तुलजा भवानीलाई चढाउन विभिन्न बहुमूल्य बस्तुहरूको तौलसंग जोख्दै हुनुहुन्छ ।
यो नेपालको सबैभन्दा राम्रो र महत्वपूर्ण पौभाहरू मध्ये एक हो । यो पौभाले मल्ल राजाहरू र मुगल राजाहरूको तुलजा भवानी संगको अन्तर सम्वन्ध देखाउँछ । यो नै नेपालको ईतिहासमा एउटै मात्र पौभा हो, जसमा राजालाई पौभाको मुख्य भागमा चित्रण गरिएको छ । साधारणतया नेवारी पौभाहरूमा पौभाको तल्लो भागमा पौभा दान गर्ने व्यक्तिहरूसंग राजाको चित्रण गरिन्छ ।
यो पौभा नेवारी कलाकारहरूको उच्च सीपको एउटा ज्वलन्त उदाहरण हो । यो पौभा नेपाली वास्तुकला अनुसार बनाईएका विभिन्न मन्दिरहरूले भरिपूर्ण छ । पौभाको मुख्य भागमा नेवारी वास्तुकला पगोडा शैलीमा बनाएको तुलजा भवानीको ठूलो मन्दिर छ । यो मन्दिरको वरिपरि विभिन्न पेटीमा पाईने स(साना मन्दिरहरूले काठमाडौं उपत्यकामा पाईने विभिन्न मन्दिरहरूको प्रतिनिधित्व गर्दछ । राजाको ठूलो शरीर, दूरान्तरको कमी, पहाड, रूख, ईन्देणी र आकाशमा देखिने वादलहरूको विभिन्न किसिमका रूपको बीचबाट विभिन्न देवताहरू र अप्सराहरूले पुष्पवर्षा गरिरहेको दृश्य देखाउने तरीका नेवारी कलाका विशेषताहरू हुन् ।
मन्दिरको सुनको छानामा देखिने विभिन्न रंगका चराहरू, संगीतकर्मीहरूको समूह, राजकीय व्यक्तिहरू, राज पुरोहित राजाहरू र आकाशमा वादलबाट निस्किरहेका ईश्वरीय व्यक्तिहरूको चित्रणले तुलादान समारोहको भव्यतालाई दर्शाउँछ ।
यो नेपालको ईतिहासमा राजा स्वयंले बनाउन लगाएको ने.सं. ७८४ वा ई.सं. १६६४ उल्लेख गरेको लामो अभिलेख भएको एकमात्र पौभा हो ।
यो पौभा रस्वादन गर्न यो पौभालाई तीन भागमा विभाजन गरौं । माथिल्लो भाग, बीचको भाग र तल्लो भाग । आकाशबाट शुरू भएर तलेजु भवानी मन्दिरको मुख्य ढोकासम्मको भागलाई माथिल्लो भागमा बाँडौं । आकाशमा विभिन्न वादलहरूबाट निस्किरहेका विभिन्न देवताहरू र अप्सराहरूले मन्दिरमा पुष्पवर्षा गरिरहेका छन् । यो पौभाको माथिल्लो भागको वाँया कुनातिर चन्द्रमा र दाँया कुनातिर सूर्य अंकित छ । सूर्यको तल ईन्देणीको वाहिर सेतो रंगको शिव र पार्वती साँढेमाथि बसिरहेको देखिन्छ । ईन्देणीको भित्र दाँया कुनामा हरियो रंगको विष्णु र लक्ष्मी गरूडमाथि बसेको छ । विष्णुको तल चार जना दिक्पाल देवताहरू छन् । खरानी रंगको नैरिती र उसको शक्ति मनुष्य माथि बसेको छ । नैरितीको तल नीलो रंगको यम र उसको शक्ति राँगोमाथि बसेको छ । यमको अगाडि रातो रंगको अग्नी देवता र उसको शक्ति भेडामाथि बसेको छ । यसको तल पहेंलो रंगको ईन्द्र र उसको शक्ति हात्तीमाथि बसेको छ ।
ईन्द्रणीको भित्र दायाँ कुनामा पहेंलो रंगको ब्रम्हा र उसको शक्ति हाँसमाथि बसेको छ । ब्रम्हाको तल सेतो रंगको वरूण र उसको शक्ति मकरमाथि बसेको छ भने हरियो रंगको वायु देवता र उसको शक्ति जरायोमाथि बसेको छ । यिनीहरूको तल पहेंलो रंगको कुवेर र उसको शक्ति घोडामाथि बसेको छ । ब्रम्हाको तल आकाशमा उडिरहेका दुई वटा गरूडहरू एकदमै अकार्षक रहेका छन् ।
यो पौभाको मुख्य भागमा पागोडा शैलीको ठूलो तुलजा भवानीको मन्दिर छ । यो मन्दिर काठमाडौंको हनुमानढोका वा तलेजु मन्दिर दुरूस्तै चित्रण गरिएको छ ।
यो मन्दिरको छाना विभिन्न रंगका चराचुरूङ्गीहरू र तिवेतियन नागारी र पर्सियन जस्ता विदेशी भाषामा लेखिएका अभिलेखहरूले सजिएका छन् । यो अभिलेखले प्रताप मल्लको विदेशी भाषाहरू प्रतिको पनि मोह दर्शाउँछ । यो मुख्य मन्दिरको दाँया बाँया दुई वटा शिखर शैलीका शिव मन्दिरहरू छन् । यी दुई मन्दिरहरूको तल दुई वटा ढुङ्गे धाराहरू छन् । यहाँको दृश्य विभिन्न जनावर, विभिन्न जनावर, रूख र नदीहरूले सिँगारिएका छन् । दाँया पोखरीको अगाडी एक जोडी नाग नागिन नाचिरहेका छन् ।
वंशावलीका अनुसार तलेजुको मन्दिर यन्त्रको रूपमा निर्माण गर्न तुलजा भवानीको निर्देशन भएको थियो । यो अति कठिन काम भएकोले तुलजा भवानी स्वयंको निर्देशनमा विभिन्न योगीहरूको सहयोगमा निर्माण भएको थियो । यो मन्दिर बनेपछि तुलजा भवानी स्वयं मौरीको रूपमा यो मन्दिरभित्र पस्नु भएको थियो । हरेक मल्ल राजाहरूले राज्याभिषेकको दिन आफ्ना छोराहरूलाई तुलजा भवानीको पवित्र गोप्य मन्त्र दिनु पर्ने प्रथा छ ।
पौभाको बीचको भाग तुलजा भवानीको मुख्य ढोकाबाट शुरू भएर दुई वटा हात्तीहरूले पहरा दिईरहेको सेतो ढोकासम्म पुग्छ । यो पौभाको मुख्य विषय नै यो भागमा पर्दछ । यहाँ राजा प्रताप मल्ल आफ्नो द्वितीय प्रिय पुत्र चक्रवतिन्द्र मल्ललाई विभिन्न बहुमूल्य बस्तुहरू जस्तै स्( हीरा, मोती, असर्फी, सुन, चाँदी, अन्य गर(गहनाहरूसंग तौलिरहेका छन् । राजालाई उसका छोरा, दुईजना रानीहरू रूपमती र अनन्तप्रीया, राजकीय पुरोहित, संगीतकर्मीहरू र राजदरवारका अन्य गन्यमान्य व्यक्तिहरूले घेरिरहेका छन् । ग्रहौं तराजुलाई अडाउनको लागि मन्दिरको ढोकाको अगाडि दुई वटा ढुङ्गाका स्तम्भहरू गाडिएका छन् । राजदरवारका सम्पूर्ण व्यक्तिहरूको आँखा राजा र तराजुतिर छ । यो दृश्यको तल दुईवटा पेटीहरू, स-साना पगोडा शैलीका मन्दिरहरूले सजिएका छन् ।
पौभाको तल्लो भाग सेतो ढोकादेखि शुरू भएर पौभाको पुच्छारमा रहेको लामो अभिलेख सम्म पुग्छ । मन्दिरका विभिन्न पेटी, तलीय बत्तीहरू र संगीतकर्मीहरूले सजाईएको छ । यो सेतो ढोकाको तल दुईवटा ढुङ्गाका स्तम्भहरू छन् । एउटा स्तम्भको माथि सिँहको मुर्ति छ भने अर्को स्तम्भमा राजा प्रताप मल्ल आफ्ना दुई रानीहरू संग बसिरहेको मुर्ति देखिन्छ । यी दुईवटा स्तम्भहरूको बीचमा रातो लुगा लगाईएका, होम गरिरहेका तान्त्रिक पुरोहितहरू देखिन्छ ।
बाँया कुनामा दुईवटा हात्तीहरू मुगल साम्राज्यको साहजहानक रूपमा चित्रण गरिएको छ । यसले नेपालको भारतीय मुगल साम्राज्यसंग राम्रो सम्वन्ध रहेको देखाउँछ ।
यो पौभाको पुच्छारको लामो अभिलेखले यो पौभा काठमाडौंका प्रख्यात राजा प्रताप मल्लले आफ्नो प्यारो द्वितीय पुत्र चक्रवतिन्द्र मल्लको सु(स्वास्थ्यको कामना गर्नको लागि ने।सं। ७८४ वा ई। सं। १६६४ मा तुलादान समारोह आयोजना गरी यो पौभा लेख्न दिएको भनी उल्लेख गरिएकोछ ।
यो पौभाको पुच्छारको अभिलेखमा आधुनिक पौभाको पुरानो शब्द, पति वहरा र यसको प्रयोग बारे लेखेको छ । यदि कसैले यो पतिवहरा वा पौभालाई विगार्यो भने पाँच किसिमको अकुशल पापहरू भोग्नु पर्ने हुन्छ, तर कसैले यो पौभालाई राम्ररी जतन गरी राख्यो भने एक करोड शिवलिङ्गहरू स्थापना गरेको जति पुण्य प्राप्ति हुन्छ भन्ने भनाई छ ।
यो पौभाले नेपाली पौभामा मुगल शैलीको प्रवेश कहिलेदेखि शुरू भयो भन्ने देखाउँछ । यो पौभामा विभिन्न राजकीय व्यक्तिहरूले लगाईएका विभिन्न रंगका लुगाफाटाहरू, गर(गहनाहरू, राजाको मुखमा दाह्री पलाएको, पगडी पहिरिएको, तुलादान समारोह, हात्ती र घोडाहरूको चित्रण गर्नु उत्तर भारतको मुगल राज्यको प्रभाव हो । प्रताप मल्लका दुवै रानीहरू रूपमती र अनन्तप्रीया भारतको कुच विहारका भएकाले उनमा मुगल राजाहरूको प्रभाव परेको हुन सक्छ । राजाले कलाकारहरूलाई आफ्नो वीरत्व र पुरूषार्थ चित्रण गर्न मुगल राजाको रूपमा चित्रित गर्न अह्राएको पनि हुन सक्छ, वा कलाकार स्वयं मुगल चित्रको प्रभावमा परेर यसरी चित्रित गरिएको पनि हुन सक्छ ।
दुर्भाग्यवश स् यस्तो अमूल्य पौभा हाल नेपालमा छैन । राजाले स्वयं बनाउन दिएको पौभा समेत नेपालबाट विदेश जानु हामी नेपालीहरूको लागि एकदमै लाजमर्दो कुरा हो । प्रतापदित्य पालका अनुसार उनले यो पौभा पहिलो पटक पेरिसको कुमार ग्यालरीमा देखेको थिए रे । तर पछिल्लो पटक मल्ल कालका देवताहरू र मन्दिरहरू भने पुस्तकका लेखक अन्ने भेरगातिका अनुसार यो पौभा अहिले पेरिसको कलेज डि फ्रान्स भन्ने संस्था संग छ ।







