
काठमाडौं । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
२३ जना घाइते छन् ।
रुसले उक्त आक्रमणमा भवन तथा गोदामलाई निसाना बनाएको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले जनाएको छ । उद्धार कार्य जारी छ । उद्धारकर्ता भग्नावशेषमा फसेका मानिसको खोजीमा जुटेका छन् ।
किभका मेयर भिताली क्लित्स्कोले बुधबार रातभरिको आक्रमणमा एउटा बाल अस्पतालमा समेत क्षति पुगेको बताएका छन् । अस्पतालका झ्यालका सिसा फुटेका छन् । आसपास रहेका धेरै सवारीसाधनमा आगलागी भएको छ ।
क्षेत्रीय प्रशासनले राति नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमणसम्बन्धी चेतावनी जारी गरेको थियो । प्रशासनले उक्त क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुन सक्ने जनाएको थियो ।

