
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान र साबुन बनाउन प्रयोग हुने रासायनिक पदार्थ बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ००५७ नम्बरको विद्युतीय भ्यान र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ। गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोकका करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ ।दुर्घटनामा परेका दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाका कारण राजमार्गमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

