
काठमाडौँ । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।
निजीक्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही ३१ भदौदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत ५ जेठदेखि उडान स्थगित गरिएको थियो ।
भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ ।


