काठमाडौं।गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए ।
उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।
रसिककी छोरी देश बाहिर रहेकाले भोलि सोमबार मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए । संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् ।
सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे ।
उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८(२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२२०५५, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरेका थिए ।
उनले नेपाली साहित्यमा पनि योगदान गरेका छन् ।‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।




