
पोखरा । साहित्यकार तथा मुक्तककार उषा शेरचनको मुक्तकसङ्ग्रह ‘त्रासदीका हिमनदी’ लोकार्पित भएको छ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा सरुभक्त,तीर्थ श्रेष्ठ लगायतले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे ।
पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा समालोचक डा. मुरारी पराजुलीले शेरचनका मुक्तकहरुमा जीवनका विविध आयामहरुको मार्मिक रुपमा चित्रण गरिएको बताए । उनले जीवनका अनेकौ अवयवहरु,राजनीतिक विद्रुपता प्रतिको व्यँग्य,प्रणयको शिष्ट भाव,मानव मूल्य र मान्यतामाथि आएको स्खलन,महिलाको पीडा लगायत विषयगत विविधतायुक्त मुक्तकहरु समावेश भएको बताए ।

स्रष्टा शेरचनले यो पुस्तकसँगै मुक्तक लेखन यात्राको समाप्त भएको घोषणा गर्दै अरु विधामा लेखन जारी हुने बताइन ।
साहित्यकारहरु सरुभक्त,तीर्थ श्रेष्ठ लगायतले शेरचनसँगका विभिन्न संगतहरुको अनुभव र अनुभूति सहित स्मरणीय कुराहरु राखे । उपन्यासकार सरस्वती प्रतिक्षा,कुमारी लामा लगायतले पनि उषा शेरचनको लेखनीको चर्चा गरे ।
कार्यक्रममा उनका मुक्तकहरु पनि वाचन गरे ।
यस अघि शेरचनका नजन्मेका आस्था(कवितासंग्रह),अक्षरहरुको शिविरबाट(मुक्तकसंग्रह),सर्वकालीन पीडा र जागृतिको शंखघोष(कविता),तेस्रो रंग(कथासंग्रह),बेग्लै म(कथासंग्रह),आँधी(उपन्यास) लगायतका कृति प्रकाशित छन् ।
