
काठमाडौं।नेकपा (एमाले) ले आजको दिन (वैशाख ११) लाई जनताले जितेको दिन भन्दै युथ सेलिब्रेसन गर्दैछ।
एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।
‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
पछिल्लो समय पार्टी कमिटीमा क्लस्टर नै छुट्टयाएर युवा सहभागिता बढाउँदै आएको एमालेले बिहीबार एक लाख युवा भृकुटीमण्डप उतार्ने दाबी गरेको छ।
युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
कार्यक्रममा देशभरका युवा सहभागी हुनेछन्। आजको युथ सेलिब्रेसनमा ४० वर्षमुनिका युवा नै वक्ता राखिने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए। थेवे कार्यक्रमका संयोजक पनि हुन्।
युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिनेछन्।
जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाइन्छ।





