
काठमाडौं ।नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा उल्लेख गरेको तीनकुने घटनाको विषयलाई लिएर टिप्पणी गरेको छ।
आज बैशाख १ गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराजा शाहको सन्देशमा आपत्ति प्रकट गरेको हो ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु, निजी घर तथा सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी, भाटभटेनीमा लुटपाट जस्ता घटना भएका थिए।
पूर्वराजा शाहले नयाँ वर्षका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा जनतामा आएको जागरण भनेकोप्रति एमाले सचिवालय बैठकले आपत्ति प्रकट गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने,- ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जागरण भन्ने हो भने सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, राजनीतिक पार्टी कार्यालयमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौं।’
उनले तीनकुने घटनाको जिम्मेवारी नलिएर पूर्वराजा शाह पन्छिएको बताए ।
‘उहाँले फागुन ७ गते, म अगाडि बढेँ, साथ दिनुहोस् भनिसकेपछि उहाँले नै तोकेका कमान्डरको नेतृत्वमा यी सबै कुरा भएका छन् । उहाँ जवाफदेही हुनुपर्छ नि त । तर, उहाँ जवाफदेही हुन पन्छिनुभयो,’ ज्ञवालीले भने ।
गणतन्त्र विरोधी कुरा कदापि मान्न नसकिने उनले बताए ।
बैशाख ९ लाई पार्टी स्थापना दिवसको रुपमा मनाउने निर्णय भएको पनि उनले जानकारी दिए ।उक्त दिवसमा विगतमा कम्यूनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान गर्ने निर्णय भएको पनि उनले बताए ।
बैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने तयारी गरिने निर्णय पनि उनले सुनाए ।

