
काठमाडौं ।साहित्यिक पत्रकार संघद्वारा आयोजित एक कार्यक्रममा सर्जक डा.सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” (अनाख्यान)को लोकार्पण गरियो।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला लगायतले सो कृतिको लोकार्पण गरे।
कार्यक्रममा डा. कोइरालाले डा. सुमन कर्माचार्य प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भएको बताउँदै उनले गरीब दुखीहरूको स्वास्थ्योपचारमा दिएको योगदान उल्लेखनीय भएको बताए। डा.कोइरालाले वर्तमान राजनीतिक स्थितिप्रति चिन्ता व्यक्त गर्दै अहिले राज्य संन्यत्र बिचौलियाहरूले चलाइरहेको उल्लेख गरे।

कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको थियो।
कार्यक्रममा अध्यक्ष लेकालीले सबैलाई स्वागत गर्दै २०३८ सालमा संघले बी पी कोइरालाको अभिनंन्दन गरेको स्मरण गर्दै कृतिकार डा.कर्माचार्यको साहित्यिक योगदानबारे चर्चा समेत गरे ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाहरूले पार्टी, सरकार र नेताहरूमा रहेका विकृति र विसङ्गतिहरूलाई स्पष्ट रूपमा देखाएको धारणा व्यक्त गरे।
यसैगरी कृतिका सम्पादक विमल भौकाजीले लेखक र आफू एउटै गाउँठाउँमा हुर्केको बताउँदै उनी बहुमुखी प्रतिभा भएको व्यक्ति रहेको बताए।
कार्यक्रममा कृतिकार डा.कर्माचार्यले बीपी,गणेशमान र किशुनजी आफ्नो आदर्श भएको बताउँदै आफूले सधैं त्यही आदर्श बोकेर अहिलेसम्मको यार्त्रा तय गरेको उल्लेख गरे।
कार्यक्रममा कृतिकार डा.सुमन कर्माचार्यलाई आयोजक संस्थाका तर्फबाट प्रमुख अतिथि डा.कोइरालाले सम्मान गरे ।
कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि कोइराला, कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, सम्पादक विमल भौकाजी, कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेलाई मायाको चिनो प्रदान गरे ।






