
काठमाडौंं। नेपाल बार एशोसियसनको नवनिर्वाचित केन्द्रीय समितिले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शिष्टाचार भेट गरेसँगै ध्यानाकर्षण गराएको छ ।
नेपाल बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार सम्माननीयसँगको भेटमा न्याय परिषद नियमावली २०७४ को नियम ११मा भएको शंसोधनको तत्काल खारेजीपछि मात्र न्यायाधीशको नियुक्ति गरिनुपर्ने,नेपाल बारका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विरुद्धको अपहेलना मुद्धाको शीघ्र सुनुवाई हुनुपर्ने,वरिष्ठ अधिवक्ताले इजलास समक्ष अनिवार्य रुपमा एक सहयोगी अधिवक्ता लिइ उपस्थित हुनुपर्ने लगायतका विषयहरु रहेका छन् ।
यसैगरी महासचिव कोइरालाका अनुसार मुद्धा दर्तामा हुने कठीनाईको तत्काल अन्त्य,दोहोर्याई पाउँ सुनुवाईको गाँम्भिर्यता कायम गरिनुपर्ने,कानून व्यवसायीले स्थगीत गरेको मुद्दा भन्दा माथिल्लो क्रमको मुद्दा हेर्न नभ्याउने भई आदेश हुँदा सो पश्यातको मुद्दामा समेत पटक कायम हुने विषयलाई पनि उठाइएको छ ।
नेपाल वारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा प्रधान न्यायाधीश राउतसँग बारले विभिन्न विषयहरु उठान गरेको हो ।
शिष्टाचार भेटको क्रममा बारले उठाएका विषयहरुमा प्रधान न्यायाधीशले सम्बैधानिक दायरामा रही न्यायपालिका सुधारको लागि जस्तो सुकै कदम चाल्न पनि आफु तयार भएको बताएको महासचिव कोइरालाले जानकारी दिए ।प्रधान न्यायाधीश राउतले आपसी सहमतिमा बार बेन्च समस्या समाधान समिति मार्फत आएका समस्याहरुलाई समाधान गर्दै न्यायपालिका सुधारको लागि आफु प्रतिवद्ध रहेको बताएको नेपाल बारका महासचिव कोइरालाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


