
काठमाडौं ।नेकपा(एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको हिंस्रक प्रदर्शनप्रति नेकपा एमाले अत्यन्त गम्भीर भएको र त्यसको निन्दा तथा भ्रत्सना गर्ने निर्णय गरेको जनाएको छ।
उक्त जानकारी एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्तिमार्फत् दिएका छन्।
विज्ञप्तिमा भनिएको छ-‘शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतंक सिर्जना गर्नेमाथि कारबाही गर्न……’
एमालेले सबै राजनीतिक दल,नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासकाविरूद्ध गोलबन्द हुन आह्वान गरेको छ।
यसैगरी बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकको ध्यानाकर्षण भएको जनाएको छ। त्यसका लागि राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण समेत गरेको बताएको छ।
यसैगरी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई युथ समिटका रूपमा मनाउने निर्णय भएको पनि पोखरेलले जानकारी दिएका छन् ।





