
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन् । उनी पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजे काठमाडौं फर्किंदै छन् ।
यसअघि, शनिबार राति उनले माउन्ट ग्लोरी रिसोर्टमा आफू निकट व्यक्तिहरूलाई रात्रिभोज दिएका थिए ।
भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलकलगायत सहभागी भएका थिए । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए ।
यस्तै, स्याङ्जाको आलमदेवी, बागलुङ कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समितिलगायत संस्थाका प्रतिनिधि पनि भोजमा निम्त्याइएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ताहरू पनि भोजमा सामेल थिए ।
यसैबीच पूर्व राजाका समर्थकहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । रिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ ।
पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।
राप्रपाले काठमाडौंका टोल टोलमा सन्देशमूलक कार्यक्रम आयोजना गर्दै पूर्वराजाको स्वागतका लागि उपस्थित हुन अनुरोध गरेको सो पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् ।
उनका अनुसार सबै नगरपालिकामा पुगेर राप्रपाका कार्यकर्ताले राष्ट्रिय झन्डा लिएर विमानस्थलमा स्वागत गर्न निम्ता दिएको बताएका छन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुको आन्दोलन भएको उनीहरुको धारणा छ ।
यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।




