
काठमाडौं । परशु -कल्पना स्रष्टा सम्मान-२०८१ द्धारा वरिष्ठ आख्यानकारद्धय गणेश रसिक र ध्रुव सापकोटा सम्मानित भए ।
नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्धारा सम्मानित गरिएको हो ।
आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।
नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले स्वीकृत गर्दै सापकोटा र रसिकलाई छनोट गरेको हो ।
कार्यक्रमका वरिष्ठ अतिथि नगेन्द्रराज शर्मा र रोचक घिमिरे,पुरस्कारका संस्थापक मध्येका प्रतिबोध प्रधान,प्रतिमा प्रधान न्यौपाने,प्रतिक्षा प्रधान जोशी लगायतले उक्त सम्मान अर्पण गरे ।
उक्त सम्मान नेपाली साहित्यमा आख्यान लगायत विभिन्न विधामा सशक्त कलम चलाएका बरिष्ठ आख्यानकार स्व.परशु प्रधान र उनकी धर्मपत्नि कल्पना प्रधानको नाममा उनका छोराछोरीहरुले स्थापना गरेका हुन् ।
सम्मानित स्रष्टा गणेश रसिक गीत,संगीत सहित आख्यानका क्षेत्रमा क्षितिज छुन खोज्दा (कथासंग्रह), एउटा सारंगी छुन खोज्दा (कथासंग्रह), रसिकका गीतहरु,आकाशगंगाको ओतमूनी(उपन्यास),जब सिस्नुहरु टेक्दै हिंडे (संस्मरण), दशगजामा उभिएर हेर्दा लगायतका दर्जनौं कृतिका कृतिकार हुन् ।
यसैगरी अर्का सम्मानित आख्यानकार ध्रुव सापकोटाका उच्चारण (कथासंग्रह),नेपथ्य(कथासंग्रह),हामी हाँसिरहेछौं (कथासंग्रह), अन्धकार (कथासंग्रह), अकल्पनीय(उपन्यास), बिखण्डित (उपन्यास), लगायत सहलेखनमा समेत आधा दर्जन आख्यान नेपाली साहित्यमा छन् ।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उचित व्यक्तिको नाममा रहेको पुरस्कार सही व्यक्तिले पाएको बताए । उनले यस्ता पुरस्कार र छनोटले साहित्यकारलाई प्रेरणा मिल्ने भन्दै यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे ।

साहित्यिक पत्रकार रोचक घिमिरेले प्रधानसँग आफ्नो चिनजान वि.सं.२०१८ सालबाट भएको स्मरण गरे । ‘रचना’ साहित्यिक पत्रिकामा प्रधानले भोजपुरबाट धेरै योगदान गरेको चर्चा गरे ।
नेपाल स्रष्टा समाजका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा आएको बताए । भोजपुरको विद्यालयमा शिक्षक हुँदा नै प्रधानले आफूलाई साहित्यमा लाग्न प्रेरित गरेको उनले बताए ।
कार्यक्रममा प्राडा. कृष्णप्रसाद दाहालले परशु प्रधान नेपाली साहित्यको बृहस्पति भएको बताए । प्रधान नेपाली साहित्यमा जता राखे पनि चम्किने साहित्यकार भएको उनको भनाइ छ ।उनले सम्मानित आख्यानकारद्धय रसिक र सापकोटाको योगदानको चर्चा गरेका थिए । साथै उनले सहि व्यक्तित्व चयन गरेर सम्मान अर्पण गरिएकोमा खुशी व्यक्त गरे।

यसैगरी कार्यक्रममा स्वर्गिय परशु प्रधानका छोरा वरिष्ठ पत्रकार प्रतिक प्रधानले पिताजीको नाउँमा राखिएको सम्मानको निरन्तरता दिइने बताए ।साथै सम्मानको राशि सम्भव भएसम्म आगामी दिनमा बढाउँदै जाने बताए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष एवं सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले परशु प्रधान अरूलाई पनि अगाडि सार्ने साहित्यकार भएको बताए । ‘उहाँले कस्तो सिर्जना गर्नुभयो, त्यो भनिरहनुपरेन । तर, आफूले सिर्जना मात्रै गर्नुभएन। ‘ हामी आग्रह पूर्वाग्रहविना सम्मान गर्छौ । ‘उनले अगाडि भने ।

सम्मान अर्पण कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता एवं सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रममा सदस्य शंकर भारतीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।






