
काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सत्रौं श्रृङ्खला मिति २०८१ फागुन २३ गतेका दिन सम्पन्न भएको छ ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर तीप्रति सम्मान प्रकट गर्दै कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा बोधविक्रम अधिकारीको ‘बाबुछोराको गन्थन’ शीर्षकको कथा वाचन गरिएको थियो । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष १ संख्या ८ (विसं १९९२)बाट उपन्यासकार शुकदेव उपाध्यायले वाचन गर्नुभएको थियो । त्यसपछि अन्य पाँच जना कथाकारहरूले २०२० को दशकदेखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा क्रमैसँग वाचन गर्नुभएको थियो ।
आजको कार्यक्रममा २०२० को दशकका कथा अन्तर्गत कथाकार हरि अधिकारीले २०२८ सालमा मधुपर्कमा प्रकाशित कथा ‘रामलालको आकाश’ सोही शीर्षकको आफ्नो कथासङ्ग्रह (२०४०) बाट वाचन गर्नुभएको थियो ।
२०४०को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार योगेन्द्र तिमिल्सिनाले मधुपर्क मासिकमा २०४६ सालमा प्रकाशित कथा ‘दिग्भ्रम’ आफ्नै कथासङ्ग्रह ’अनन्त आकाश’ बाट वाचन गर्नुभएको थियो ।
२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार मन्दिरा मधुश्रीले ‘मासुको तिर्सना’ शीर्षकको कथा मधुपर्क मासिकको २०५९ साउनको अङ्कबाट वाचन गर्नृुभएको थियो ।
२०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रासाले ‘आर्तनादः एउटा कोलाज कथा’ शीर्षकको रचना गरिमा मासिकको २०६९ चैतको अङ्कबाट वाचन गर्नृुभएको थियो ।
२०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार प्रमोद सारंगले ‘अन्धकारमा हुरी चलेको सडक’ शीर्षकको आफ्नो कथा ‘झ्यालबाट विश्व चियाउँदै’ नामक संयुक्त कथासङ्ग्रहबाट वाचन गर्नृुभएको थियो ।
कार्यक्रममा यस अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कथाकार/नियात्राकार भट्टराईले बिभिन्न पुस्ताका कथाकारहरूलाई एउटै मञ्चमा निम्त्याई फरकफरक दशकमा प्रकाशित कथा स्रष्टाकै स्वरमा वाचन गराउने गरिएकाले कुन कालखण्डमा केकस्ता विषयमा, केकस्ता भाषाशैलीमा कथाहरू लेखिए, के कस्ता प्रयोग गरिए जस्ता सूचना कथामा रुचि हुने आम लेखक र पाठकले थाहा पाउने तथा पुस्तापुस्ताका कथाकारहरूबीच परिचय र सुसम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा बताउनुभयो । यस अभ्यासबाट नेपाली साहित्यको एउटा सशक्त विधाको पुनर्जागरण र विकासमा योगदान हुने अपेक्षा पनि उहाँले गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले विशुद्ध साहित्यसेवाभावले दुई जनाको परिकल्पनाबाट शुरु गरिेएको यस अभियानले कथाकारहरू र कथाका पारखीहरूको माया निरन्तर पाउँदै आएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले १२खरी डिजिटल मिडियाले नयाँ पुस्ताका स्रष्टालाई कथाप्रति प्रोत्साहित गर्न केही वर्षअघिदेखि गरिरहेको कथालेखन प्रतियोगिताको प्रशंसा गर्नुभयो । त्यस्तै, ‘आरब्ध’ द्वैमासिक साहित्यिक पत्रिकाले हाल कथालेखनमा त्यति सक्रिय नरहेका प्रतिष्ठित कथाकारहरुलाई आग्रह गरी सिर्जित केही कथा र यस विधाबारेका केही समीक्षात्मक लेखहरु समावेश गरेर भरखरै विशेष अंक प्रकाशन गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । यस्ता रचनात्मक कार्यबाट नेपाली कथा विधाको विकासमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कथा विधाकी अनुसन्धानकर्ता समिना खनाल पृथाले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कथावाचकहरूका अतिरिक्त कथाप्रेमी श्रोताहरूको उपस्थिति रहेको थियो ।
यो मासिक कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । २०७० को दशकसम्ममा पत्रपत्रिका वा पुस्तकमा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले अग्रिममै आयोजकहरूसँग सम्पर्क राखी नाम दर्ता गराउनुपर्ने आयोजकले इखबर नेटलाई जानकारी दिए ।



