
माणिकरत्न शाक्य
तीन लघुकथा
१. पात्रो
पात्रो दुई तीन चोटि फर्काएर ल्याएपछि त्यस विषयमा साहुनी र बाजे बीच भनाभन पर्दै थियोे । त्यसैबाट एक युवकले बाजेलाई सोध्यो-‘यति जाबो पात्रो पनि किन्न सक्नु हुन्न तपाईं ?’
‘कस्तो बच्चा रैछ, साहुनीको खाइलाग्दो जीऊ र बोलीले गर्दा पात्रोलाई त बहाना पो बनाएको त लाटा!’ बाजेले सुटुक्क पात्रोको भेद खोले ।
२. छापा
प्रहरीले राति होटेलमा छापा मार्दा दुब्ली नियाउरी बालिका नगर-वधुलाई समातियो र कठोर स्वरमा सोधियो-‘तँ किन वेश्या बनिस् ?
प्रहरीको अगाडि परेकीले हो कि, डरले हो थुरथुर काम्दै,चिट्चिट् पसिना काढ्दै गरेकी बालिकाले रूँदै भनिन्- ‘आमाको उपचार गर्न।’प्रहरीहरू निशव्द !
३. पुरस्कार
वरिष्ठ व्यक्तिको सामुन्नेमा परेर ऊ त्यसै त्यसै लाज मान्न थाली । उसलाई जागिर ख्वाइदिने प्रलोभन दिएर वरिष्ठ व्यक्तिले उसको सुकोमल अङ्गहरू मुसार्न थाल्यो । उसले कुनै पनि विरोध गरिन । आफ्नो सर्वश्व लुटाएर वरिष्ठ व्यक्तिलाई प्रसन्न तुल्याई ।
केही महिनापछि पुरस्कारको नाममा ऊ दोजिया भएर त्यस घरको कान्छी श्रीमती पो बनिन् ।








