
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए। ‘लगभग सबै तयारी सकिएको छ । बाहिरबाट आउने एन्जिला र रेखा आइसकेकी छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आईपुग्छ। अब भोलिको लागि तयारी हुँदैछ।’ आइतबार भएको प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक तामाङले भने ।
यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको बताए । ‘एन्फालाई धन्यवाद यो प्रतियोगिता आयोजनाका लगि । हाम्रो लागि यो ठूलो अवसर हो। उनले भनिन्, ‘साफ लगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं। हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’
कप्तान एन्जिलाले टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ , जित्छौं भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।’
नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग दशरथ रंगशालामा साँझ ६ बजे खेल्दैछ ।
प्रशिक्षक तामाङले नेपालले यसअघि कीर्गिस्तानसँग ६ वर्ष अघि खेलेको खेल जितेपनि अहिले टिम परिवर्तन भएको बताए। कीर्गिस्तानले अहिले खेल्ने फुटबल फरक हामीले राम्रो योजना बनाएर खेल्नु पर्छ । उनीहरु काउन्टर अट्याकमा खेल्छ त्यसमा हामीले ध्यान दिनुपर्छ ।’




