
काठमाडौं । उपन्यासकार विष्णुजी शर्माद्धारा लिखित नयां उपन्यास ‘उहिलेकी द्रौपदी र अहिलेकी द्रौपदी’को काठमाण्डौंमा विमोचन भएको छ ।
वरिष्ठ गीतकार तथा प्रशासनविद डा.दामोदर रेग्मीले उक्त उपन्यासको विमोचन गरेका हुन् ।
प्रमुख अतिथी वरिष्ठ गीतकार तथा प्रशासनविद डा.दामोदर रेग्मीले विष्णुजी शर्माको यो सिर्जना अति नै मर्मस्पर्शी सन्देशमूलक मात्र नभै एउटा नयांधारलाइ समेटेर लेखिएको उपन्यास भएको वताए । यसमा नारी अधिकार नारी विद्रोह र सो को समाधानलाई सूत्रबध्द रुपमा प्रस्तुत गरिएको तथा उपन्यासमा कथाको अवधारणा सिर्जना त्यसमा काल्पनिकता करुणता र यथार्थतावीचको राम्ररी संयोजन गरिएको वताए ।
समीक्षक रोशन कुमार शर्माले विष्णुजी शर्माद्धारा लिखित नयां उपन्यास उहिलेकी द्रौपदी र अहिलेकी द्रौपदी उपन्यासको क्षेत्रमा एउटा नयां आयाम हो भन्दै व्दापरकालीन द्रौपदीको वस्त्रहरणले महाभारतयुध्द जन्मिएको र अहिले महिलाहरु वलात्कारमा पर्दा हिंजो जस्तै अहिले पनि उनको पक्षमा बोलिदिने कोही नभएको र उनको चीत्कारले शासकहरु घुंडा टेक्न बाध्य हुनु पर्ने कुरा उपन्यासमा उल्लेख भएको र कल्पनामा आधारित उपन्यास भएपनि उपन्यसका शव्दहरु चलचित्रसरह सलल वगिरहेको छ भन्ने धाराणा राखे।
कृतिकारले पुस्तक लेखनको काम जति गाह्रो छ त्यो भन्दा कठीन सो को प्रकाशन र वितरण रहेको छ भन्दै रहरले किताव लेखिन्छ तर व्यवसायिक रुपमा सर्जकहरु सधै ठगिने गरेका छन् तैपनि किन हो किन पुस्तक लेखिरहन मन लाग्छ भने। उनले ‘उहिलेकी द्रौपदी र अहिलेकी द्रौपदी’नामक यो पुस्तक नारी चेतना र नारी मुक्ति तथा अधिकारमा केन्द्रित रहेर लेखिएको जानकारी दिए।



