
काठमाडौं ।स्रष्टा साँझ अमेरिकाको आयोजनामा ध्रुवराज थापा ’पुरूष’को लघुकथासङ्ग्रह ’सपनाको पहाड’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त परिचर्चा कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो परिचर्चा कार्यक्रममा प्रा.डा.गोविन्दमान सिँह कार्की, दीपक लोहनी, ममता मृदुल र शुक्रराज कुँवरले कृतिमाथि परिचर्चा गरेका थिए ।
सपनाको पहाडको परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ५८ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, नैतिक, सांस्कृतिकमाथि देखापरेको विकृति उपर कडा व्यङ्ग गर्नुको साथै नविन प्रविधि लगायत विविध विषयवस्तुहरु समेटिएको बताए ।
वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले ध्रुवराज थापा लेख्नेहरुको भिडबाट आफ्नो छुट्टै पहिचान बनाउन सक्ने नयाँ लघुकथाकार भएको बताए । लघुकथामा विषय र आयाम प्रति सचेतता देखाइएको छ । विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु थापाको लघुकथाको विशेषता भएको बताए ।
कार्यक्रममा परिचर्चाकार प्रा.डा गोविन्दमान सिँह कार्कीले ध्रुवराज थापा पुरुष एउटा पुरानो लघुकथाकार भएको र लघुकथा उत्कृष्ठ एवं पठनीय रहेको बताए। सपनाको पहाडमा यथार्थबादी, वस्तुबादी, प्रकृतिवादी कघुकथा भएकोले यो कृति उत्कृष्ठ र सफल रहको बताए।
परिचर्चाकार दीपक लोहनीले ध्रुवराज थापा पुरुषको कौतुहपूर्ण लघुकथा लेख्नसक्ने अद्भूत क्षमता भएका स्रष्टा हुन भन्दै खेलाउँदै खेलाउँदै एकदमै उत्कर्षमा पुर्याउन सक्ने अर्थात पूर्वदिप्तियुक्त कथा लेख्ने सफल लघुकथारको रुपमा ध्रुवराजलाई लिन सकिने बताए । पुरुषले आफ्ना लघुकथामा कुतुहूलतालाई बचाएको, उठानमा आकर्षकता, विषय र आयाममा लेखक सचेत रहेको बताए । उनले ध्रुवराज थापाको लघुकथा पढेर लघुकथाका सिद्धान्त बनेको हो भन्ने दाबी गरे ।
परिचर्चाकार ममता मृदुलले लघुकथाकार ध्रुवराज थापा पुरुष ५०को दशकका लघुकथाकार भएको प्रमाण त्यतिखेर छापिएका पत्रपत्रिका रहेका बताइन् ।
परिचर्चाकार शुक्रराज कुँवरले ध्रुवराज थापाका लघुकथाहरूमा बिम्व , प्रतीक र व्यङ्ग्यलाई भरपूर प्रयोग गरेको र विकृति विसङ्गतिको पहाडलाई कृतिकारले उदाङ्गो पारेको बताए ।
कृतिका भूमिकाकार खेमराज पोखरेलले अमेरिकाबाट बोल्दै सफल साहित्यकार हुन प्रतिभा, साधना र वातावरण हुनुपर्ने बताए ।
कार्यक्रमको सहजिकरण अमेरिका निवासी विश्वराज अधिकारीले गरेका थिए ।
कृतिका सर्जक ध्रुवराज थापा ’पुरूष’ले आफूले सन्तुष्टिको लागि लेख्ने गरेको र लेखिसकेपछि त्यसले समाज सुधारमा सघाउ पुर्याउने बताए । पुरुषले साहित्यकारले परिस्थितिको वर्णन गर्दै आफ्ना बिचारलाई पनि अघि सार्न सकिने बताए ।
परिचर्चा कार्यक्रममा क्यानाडाबाट डा.कुशुमाकर शर्मा, अमेरिकाबाट नवराज शर्मा र नेपालबाट श्याम श्रेष्ठ, महेन्द्र न्यौपाने, दिनानाथ पण्डित, रमेश सुवेदी, नीरा श्रेष्ठ, लक्ष्मण ज्ञवाली, अप्सरा भट्टराई, मनोहर पोखरेल उपस्थित थिए।

