
मिथिलाञ्चलमा आज तिला संक्रान्ति मनाइँदै
जनकपूर।मिथिलाञ्चल क्षेत्रमा आज तिला संक्रान्ति (माघेसंक्रान्ति) पर्व मनाइँदैछ।
मंगलबार बिहानैदेखि तिला संक्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए।
प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको र सोही अनुसार आज घरघरमा सो पर्व मनाइने छ।
मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको हो ।
घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौं, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको जलेश्वरका जयनारायण झा बताउँछन् ।
चिउरा, भुजा र तिलबाट बनाइएका विभिन्न प्रकारका लड्डुहरू घरका सबैले खानुका साथै आफन्त, नातेदार र कुटुम्बलाई पनि कोसेली पठाउने चलन रहेको उनले जानकारी दिए।





