
काठमाडौं । ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा माघ १२ गते शनिबार प्रगतिवादी स्रष्टा देविका तिमिल्सिनाले एक दर्जन कविता सुनाए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गरेका थिए ।
कवि तिमल्सिनाले रचनागर्भको जानकारीसहित ‘कसको कविता सुनाऊँ’, ‘दोहन जारी छ’ ‘अझै रात असुरक्षित छ’, ‘लोकतन्त्र र समाजवाद’, ‘बाटै बिर्सियो १’, ‘मान्छे अर्थात् जनता’, ‘प्रकृति र मान्छे’ र ‘आआफ्नो अधिकार’ शीर्षकका अत्यन्त उत्कृट, सशक्त एवम् सुन्दर वैचारिक आठओटा गद्यकविता वाचन गरे ।

त्यसैगरी सहयोगी कविहरू डम्बर पहाडी ‘एकलाक’ले ‘भुइँमान्छे’ शीर्षकको गद्यकविता, दिवा तिमल्सिनाले ‘लेटाङ १ तिमीलाई सम्झिरहेको छु’ शीर्षकको, मन ढुङ्गाना तिमल्सिनाले ‘रारा र म’ शीर्षकको र शार्दूल भट्टराईले ‘श्रमिक र समृद्धि’ शीर्षकको कविता गरी चारओटा त्यस्तै सुन्दर, शालीन तर सशक्त वैचारिक कविता वाचन भएको थियो ।
अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले सञ्चालन गरेको उक्त कार्यक्रममा आख्यानकार नारायण ढकाल, अग्रज स्रष्टा उमेश उपाध्याय, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, नर्मदेश्वरी सत्याल, नमुना शर्मा, शार्दूल भट्टराई, डा।गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, कविनायककी जीवनसङ्गिनी मन ढुङ्गाना तिमल्सिना, कालिकाप्रसाद तिमल्सिना, खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित थिए ।
डा.हरिप्रसाद सिलवालले कवि तिमल्सिनाको परिचय दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा सनातकोत्तरसम्मको शिक्षा हासिल गरेका तिमिल्सिना २०३० सालमा ‘खियाऊ हातका नङ्ग्रा’ शीर्षकको कविता छपाएर नेपाली साहित्यमा प्रवेश गरेका थिए ।तिमिल्सिनाको ‘मृत्यु दोस्रो पुस्ताको’ २०४४, ‘सीमाहीन सीमा’ २०५१ र ‘पृथ्वी आफ्नै कक्षमा घुमिरहेछ’ २०७४ जस्ता कथासङ्ग्रह प्रकाशित छ । त्यसैगरी ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ कवितासङ्ग्रह २०८० प्रकाशित भैसकेका तिमल्सिनाले झण्डै एक दर्जन साहित्यिक तथा अन्य पत्रपत्रिकाको सम्पादनसमेत गरेका छन् । विभिन्न साहित्यिक,सामाजिक र मानवअधिकार लगायतका संघसंस्थामा अग्रणी भूमिकामा रहेका स्रष्टा हुन तिमल्सिना ।
तिमल्सिनाका वाचित एक दर्जन कवितामाथि टिप्पणी समीक्षक वरिष्ठ स्रष्टा उमेश उपाध्यायले गरेका थिए ।





