
नेपालमा इतिहासको विषयमा रुची लिएर पढ्ने र लेख्नेहरुको जमात खासै ठूलो छैन । सीमित व्यक्तिले कलम चलाएर लेख्छन् तर त्यसलाई खास चासो र अभिरुची देखाएर पढ्नेहरु त झनै सीमित मात्र होइन अति न्यून मात्रामा छन् भन्दा कुनै अन्यथा नहोला । इतिहासको विषयमा कलम चलाउनेहरुको संख्या सीमित संख्यामा रहेका मध्ये संशोधन मण्डल पनि एक पर्दछ । अरुले इतिहास लेख्दा अलिकति त्रुटि गरे भने संशोधन मण्डल उनीहरु माथि जाइलागेर ठुंगी हाल्ने हुनाले कतिपय लेखकहरु पढ्नसम्म जाँगर गर्छन् तर इतिहास लेख्न हिच्किचाउँछन् । त्यतिमात्र होइन संशोधन मण्डलले लेखेको कुरामा त्रुटि औंल्याउन प¥यो भने त झनै डराएर आँट नै गर्दैनन् । त्यसैले उनीहरुले जे लेख्यो पाठकहरुमा त्यही सही ठानेर बस्ने बानी परिसकेको छ ।
भरखरै सन् २०२५ मा पब्लिकेसन्स नेपा—लयद्वारा प्रकाशित “पृथ्वीनारायण शाह नायक, प्रतिनायक अनि नायकदेशीय ” शीर्षकीय १३३ पृष्ठको पुस्तक बजारमा आएको छ । यस पुस्तकका लेखक संशोधन मण्डलका अध्यक्ष महेशराज पन्त हुनुहुन्छ । यही पुस्तक अरुले लेखेको भए त्यति चासो नराख्दा पनि हुने थियो । किनभने इतिहासको मूलधार भनेको केवल संशोधन मण्डल मात्रै हो अरु होइन भन्दै इतिहासको रथ गुडाउने कार्य गर्दै आएको देखिएको हुनाले यसमा कुनै पनि त्रुटि हुन नपर्ने हो । तर यसमा पनि त्रुटिहरु प्रशस्त छन् । अरुले ती त्रुटि औंल्याओस् वा नऔंल्याओस् मतलव ठान्दिन । इतिहास शुद्ध लेख्न र पढ्न चाहनेहरुको निमित्त ती त्रुटिहरुले कताकता बिझाइ रहेको हुनाले ती त्रुटिहरु यहाँ औंल्याउनै परेको हो ।
१ काँस मिश्रित ढलोटको मूर्तिलाई शिला भनिएको
यस पुस्तकको आवरणमा पृथ्वीनारायण शाहको काँस मिश्रित ढलौटको मूर्तिको फोटो राखिएको छ तर यसलाई शिला मूर्ति भनिएको छ । हेर्दा यो सामान्य त्रुटि जस्तो देखिन्छ तर पाठकहरुमा यसले गम्भीर भ्रम उत्पन्न गराइदिन सक्छ । यही पुस्तकको पृष्ठ १९मा आवरणमा भएको मूर्तिको फोटो पनि दिइएको छ र साथै पृथ्वीनारायण शाहको तात्कालिक शिलामूर्ति हाल नुवाकोट दरवारमा राखिएको छ भनेर उल्लेख छ । कथंकदाचित महेशराज पन्तले त शिलामूर्ति भनेर उल्लेख गरेको र नुवाकोट दरवारमा राखिएको भनिएकोमा यो काँस मिश्रित ढलौटको मूर्ति कसरी हुन गयो ? पृथ्वीनारायण शाहको शालिक शिलाको हुनुपर्ने कसरी धातुको हुनगयो ? भनेर विवाद भयो भने को जवाफदेही हुने ? त्यस कारण यस्तो भ्रमोत्पादक कुराले भविष्यमा गम्भीर असर पार्ने हुँदा यस प्रकारको त्रुटि माथि बेलैमा सजग हुनु जरुरी छ । पाँच जना पहलमान जस्ता मान्छेले हल्लाउन नसकिने गह्रुंगो शालिक मूर्तिलाई शिलामूर्ति भनेर भ्रम पार्न खोज्नु र त्यसैलाई आँखा चिम्लेर पत्याउन चाहनेहरु दुवै वास्तविक दोषी ठहरिने हुन्छ ।
२. काव्यात्मक वर्णन ऐतिहासिक वस्तु तथ्य हुँदैन
काव्यमा लेखिएको कुरा यथार्थ सत्य मानिंदैन किनकि जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्न सक्छ भन्ने त उखानै छ । ललितावल्लभले लेखेको पृथ्वीन्द्रवर्णोदय जुनसुकै काल खण्डमा लेखिएको भएतापनि त्यो गद्यमा लेखिएको भए मात्र त्यसमा उल्लेखित घटना पत्याउन मिल्ने हुन्छ पद्य काव्यमा लेखिएको हुँदा त्यसमा भएका कुरा हरेक लाक्षणिक प्रतिविम्ब हुने गर्दछ । च्यासलय् खुसः सित भन्दा आठसयमा छसय मर्यो भन्ने सामान्य अर्थ लाग्छ तर त्यो यथार्थ होइन । खासमा च्यासल टोलमा एक जना तण्डुकार खुसः मर्यो भन्ने अर्थ हो । ललितावल्लभले लेखेको कुरा पनि कीर्तिपुरेहरुको इज्जत गएको भन्ने कुरा नाक काटेको कुरा संग काव्यमा लाक्षणिक तुलना गरेको मात्र पनि हुनसक्छ । यो कुरा यथार्थ भएको भए गद्यमा लेख्ने लेखकहरु अरुपनि तात्कालिक कैयन हुनुपर्ने हो तर कोही देखिएन । अहिले दुई सय पचास वर्ष पछि आएर कीर्तिपुरेको नाककाट्ने भनेर फोटोमा लात्तीले हानेर बिरोध जनाएर केही अर्थ लाग्दैन र मरेको बाघको जुंगा उखेलेर बाघलाई कुनै असर हुँदैन । त्यो भनेको आकास तिर हेरेर थुके बरावर हो । कुरा यत्तिमा सीमित छैन ललितावल्लभको काव्यलाई इतिहाससंग तुलना अरुले गरे भने पनि इतिहास संशोधन मण्डलले त्यसलाई तालमा ताल मिलाएर लेख्नु हुँदैनथ्यो । जुन कुरा यस पुस्तकमा पनि गरियो यो दुःखद हो ।
३ मिति नभएको स्रोत ऐतिहासिक ठहरिंदैन
पृथ्वीनारायण शाहको उपदेश कुन बेला कुनमितिमा, कसकसको उपस्थितिमा कहाँ कुन परिस्थितिमा पृथ्वीनारायण शाहले घोषणा गरेको भन्ने कतै केही उल्लेख छैन । त्यसकारण यो तात्कालिक होइन पछि सिर्जना गरिएको स्रोत हो भन्न सकिन्छ । पुस्तकको परिशिष्ट १ मा पृष्ठ ११४ देखि १२३ सम्म उपदेशको मूल प्रतिको फोटो दिइएको छ । त्यस मूल पाठमा पृथ्वीनारायण शाहले कुन मितिमा घोषणा गरेको भन्ने कुरा उल्लेख छैन । संशोधन मण्डलले हात हाले पछि उपदेशको मूल प्रति भनिएको कागजको लिपि तात्कालिक हो होइन जाँच्ने कसि के हो ? कागज प्रति त्यतिबेलाको हो होइन सार्ने व्यक्तिको नाम के हो? त्यो कसको हस्तलिपि हो यावत् कुराको वैज्ञानक परीक्षण नै केही नगरी हचुवाको भरमा लेख्ने हो भने इतिहास संशोधन मण्डलको के औचित्य रह्यो ? यो पनि एक प्रकारले दुःखद नै भन्न सकिन्छ ।
४. गते लेख्ने प्रचलन पृथ्वीनारायण शाहको पालामा थिएन
यही पुस्तकको पृष्ठ ३३ मा वि.सं १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गरी जिते भनेर लेखिएको छ साथै असोज १५ गते नै एकता दिवस मनाउनु पर्ने थियो भन्ने लेखकको तर्क समेत रहेकोछ । नेपालमा गते लेख्ने चलन कहिलेदेखि चलेको भनेर जनमत संग्रह गरियो भने पृथ्वीनारायण शाहको पालामा पनि गते लेख्ने चलन थियो भन्ने केवल उहाँ एकजना बाहेक अरु सायद कोही नआउला । बरु गणना गर्दा तिथिको तद्नुसार असोजको १५ गते पर्न आउँछ भन्न सक्नुहुन्थ्यो । त्यसकारण संशोधन मण्डलको काम तथ्य इतिहास पस्कने काम हो गलत सूचना प्रवाह गर्ने काम होइन ।
५. पृथ्वीनारायण शाहको जन्मपत्रिका नै थरिथरिका किन ?
कुनै पनि मान्छेको जन्मपत्रिका चिना एउटा मात्र बन्छ ,रहरले पनि दुई तीनथरिको बनाउने गरिदैन तर पृथ्वीनारायण शाहको दुई तीन थरिको चिना देखा पर्न आयो किन ? यस बारेमा अरुले भन्दा संशोधन मण्डलले यसमा बढी चासो राख्नु पर्दथ्यो ,नत्र के संशोधन मण्डल ? कुनचाहीँ नक्कली र कुन सक्कली चिना छुट्याएर जनमानसमा भ्रमित हुनबाट जोगाउने काम संशोधन मण्डलको हो । यदि साँच्चै इतिहासको मूलधार समात्दै आएको हो भने अहिलेसम्म त्यतातिर ध्यानै दिएको नहुनुपर्नाको कारण के हो ? किनभने हालै बजारमा आएको पृथ्वीनारायण शाहको पुस्तकको पृष्ठ ३४ मा “पृथ्वीनारायण शाहको जन्म पुस २७ गते भएकोले त्योदिन सालिन्दा पृथ्वीजयन्ती मनाउँदै आएको” भनेर उल्लेख गरेको देखेपछि थरिथरिको चिना देखेको भएतापनि पस्तकका लेखकले मतलव नै नगरेको प्रष्टै हुन्छ ।
योगी नरहरिनाथको सन्धिपत्र संग्रह पल्टाएर हेरियो भने त्यसमा “शालिवाहन शाके १६४४ संवत् १७७९ चान्द्रेण पौष मासे कृष्ण पक्षे अमावाश्या तिथेर्घट्यः४ पले २ तदुपरि शुक्ल पक्ष प्रतिपदि तिथौै गुरुवासरे” भनेर स्पष्ट चिनाको पाठ दिइएको छ । यसबाट पृथ्वीनारायण शाहको जन्म हुँदा औंसी उप्रान्त प्रतिपदाले छोएको भनेर दिइएको भयो तर जनम बार गुरुबार चाहिँ प्रतिपदाको होइन औसीको गुरुबार हो भन्ने कुरा नबुझ्ने सायद कोही नहोला । त्यो भन्दा पनि ध्यानाकृष्ट हुनुपर्ने कुरा यो चिनामा कलिगत ४८२३ को उल्लेख छैन । त्यस कारण थरिथरिको चिना देखा प¥यो किन र कसरी ? भन्नु परेको हो ।
एकत त्यो बेला गते लेख्ने चलन नै आएको थिएन । पछि गणना गरेर गते यति पर्न आउँछ भन्नु सक्नु बेग्लै कुरा हो । त्यो पनि शक १८०० मा प्रतिपादित सौरार्यब्राम्हपक्षीय तिथि गणित देखापरेपछि बल्ल गते बार गणना गर्न सकेको देखिएको हो । संशोधन मण्डलले अरु गणनाका पद्दति कुनै पनि अघि सार्न सकेको देखिंदैन । तसर्थ पृथ्वीनारायण शाहको जन्म शाके १६४४ मा हुने गणनागर्ने सिद्धान्त शक १८०० मा बनेको भएपछि १५६ वर्ष गणना गर्ने साधननै बनेको थिएन भन्ने प्रष्ट हुन्छ । त्यहीभएर पछि बनेको सिद्धान्तले वास्तविक चिनामा कुनै मलजल गर्नसकेको छैन । यसबाट यो प्रष्ट हुन्छ कि पुस २७ गते भनेर उल्लेख भएको चिना शक १८०० भन्दापनि धेरै पछि आएर कल्पना गरी रचना गरेको रहेछ भन्ने स्पष्ट हुन्छ ।गते उल्लेख भएको पृथ्वीनारायण शाहको जन्मपत्रिका चिना श्री दिनेशराज पन्तको “गोरखाको इतिहास” पल्टाउँदा पनि भेटिन्छ तर त्यसमा विक्रम संवत्को उल्लेख छैन । कुनै चिनामा कलिगत संवत् ४८२३ को उल्लेख नहुनु कुनैमा विक्रमसंवत् १७७९ को उल्लेख नहुनुले थरिथरिको चिना कसरी देखाप¥यो भन्ने सवाल उठेको हो ? त्यसमा “कलिगत वर्षणि ४८२३ श्रीसंवत् श्री शालीवाहनीय शाके १६४४ माशे ९ तिथौ १ बारे ५ नक्षत्रै राशौ अंशके योगे लग्न ………पौष मासे दिन २७ गते ” भनेर उल्लेख गरिएको छ । यसबाट झन यो प्रष्ट हुनआउँछ कि यी चिनाहरु बिल्कूल नक्कली हुन् । किनभने पहिलो त कलिगत र शकबीचको अन्तर ३१८० हुनु पर्नेमा ३१७९ अन्तर देखिने भएको अर्को शकसंवत् चैत्रबाट शुरुहुने भएकाले पौष भनेको मासे १० हुनुपर्ने मतलव शकसंवत् लाई वैशाख बाट शुरुगरेर मासे ९ भनियो । तेस्रो कुरो तिथौ १ बारे ५ भने पछि गुरुबार त औशीको हो प्रतिपदाको होइन । चौथो कुरो पृथ्वीनारायण शाहको पालामा कहींपनि गते लेख्ने चलन आएकै थिएन । पाँचौं कुरा यसमा विक्रमसंवत् १७७९ भनेर उल्लेख नै गरिएको छैन । यसमा पौष २७ गते भनेरपनि उल्लेख हुनुको मतलव यो धेरै पछि कल्पना गरि बनावटी चिना तयार भएको मात्र हो भन्न सकिन्छ ।
६. इतिहासकारहरुले उल्लेख गर्ने गरेको तारिखीय जन्म मिति
लुडविग एफ स्टीलर एसजे को द राइज अफ हाउस अफ गोर्खाज् नामक पुस्तकमा पृथ्वीनारायण शाहको जन्म मिति इस्वी १७२२ डिसेम्बर २७ दिइएको छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी नामक पुस्तकमा पृथ्वीनारायण शाहको जन्म मिति इस्वी १७२३ जनवरी ७ दिइएको छ ।
इतिहास शिरोमणि बाबुराम आचार्यको श्री ५ प्रतापसिंह शाह नामक पुस्तकमा पृथ्वीनारायण शाहको जन्म मिति वि.सं १७७९ पौष २७ गते तद्नुसार २७ दिसेम्बर इ.सं १७२२ पनि दिइएको छ ।
यसरी एउटै व्यक्तिले फरकफरक पुस्तकमा फरकफरक मिति लेखिएको देख्दा पनि संशोधन मण्डल एक शव्द बोल्न नसक्नुको रहस्य के होला पाठकहरुले मूल्यांकन गर्नुपर्ने कुरा हो । जे भए पनि इतिहास संशोधन मण्डलले व्यक्ति हेरेर होइन इतिहासमा यसरी देखिएका विवादास्पद कुरालाई सप्रमाण खण्डन गरी सही निर्णय पाठकहरुलाई दिनसक्नु पर्दथ्यो । त्यो कुरा आजसम्म पनि संभव भएन भनेपछि त्यो कुरा हिजो थिएन र भोलीको दिनमा त आउला कि भनी विश्वास गर्ने ठाउँ बिल्कुलै छैन ।
७.संशोधन मण्डलले समाती आएका गलत सिद्धान्त
यही पुस्तकको पृष्ठ ८३ मा पृथ्वीनारायण शाहले काठमाडौं जितेको दिन भनेर ने.सं ८८८ तद्नुसार वि.सं १८२५ भाद्र शुक्ल चतुर्दशी अर्थात् इन्द्रजात्राको दिन भनेर दिइएको छ । यसैमा यस मितिको झण्डै डेढवर्ष पछि ने.सं ८९० तद्नुसार वि.सं १८२६ (अमान्तमानले) पौषकृष्ण पञ्चमीको दिन धृतिलक्ष्मी बितिन् भनेर दिइएको छ । यसको मतलव पौषको मिति आउँदा विक्रमसंवत् र नेपालसंवत्मा ९३६ फरक देखाउने र भाद्रको मिति आउँदा ९३७ फरक देखाउने गरेको छ । यथार्थको सतहमा गएर हे¥यौं भने नेपालसंवत् वि.सं ९३८ कार्तिकमा उठान भएको संवत् बिल्कूल होइन । संशोधन मण्डल स्थापना भएदेखि हालसम्म त्यस संस्थाले गर्दै आएको काम हेर्दा नेपालसंवत् वि.सं ९३८ मा उठेको हो भनी सिद्ध गरेर देखाएको कहीं भेटिएको छैन । यसबाट संशोधन मण्डलले शुरुदेखि हालसम्म गलत सिद्धान्त समात्दै आएको प्रष्ट देखियो ।
किनभने जबजब मानदेव संवत्को प्रसंग उठ्छ तबतब ३०४ वर्ष मानदेव संवत् चलेको भन्नका लागि वि.सं ९३८ कार्तिक समात्ने र अरु बेला वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठेको भनेर ९३७ को कार्तिकदेखि ९३८ को आश्विनसम्म रहेको देखाउँदै नेपालसंवत्को मामलामा द्वैधचरित्र प्रदर्शन गर्दै आएको यत्रतत्र जताततै उहाँहरुको पुस्तक तथा लेखहरुमा भेटिन्छन् । मानदेवसंवत् ३०४ वर्ष चलेको देखाउनु पर्दा वि.सं ९३५ वैशाखमा मानदेवसंवत् ३०१ हुनेभएपछि मानदेवसंवत् ३०४ भनेको वि.सं ९३८ को आश्विनसम्म रहेको देखाउन करै लाग्यो । फेरि ९३६ र ९३७ देखाउने बेला ९३७ — ने.सं १ = ९३६ र ९३८ — ने.सं १= ९३७ देखाएर पनि दुनियाँलाई ढाँट्नमा सफल हुँदै आएको छ । यथार्थमा उहाँहरुले समातेको यी दुवै सिद्धान्त गलत छन् भन्ने ज्वलन्त प्रमाण अरु के चाहियो ?
निष्कर्ष
सरसर्ति हेर्दा पृथ्वीनारायण शाहको विषयमा विसंगति र भ्रामक प्रचार व्यापक भइरहेको तिर प्रस्तुत यस पुस्तकले छेउटुप्पो कुनै उपचार गर्न सकेको जस्तो देखिएन । बरु उल्टै विसंगति र भ्रामकतालाई बढावा दिएको मात्र देखियो । पृथ्वीनारायण शाहका सक्कली जन्म पत्रिका उनकै देहावसान हुँदा नै उनका पार्थिव शरिर संगै जलाएर पठाइएको हुनुपर्दछ । त्यसबेला उनको चिनाको प्रतिलिपि लिन पाइएन नै होला ।
साना साना राज्यमा टुक्रिएको नेपाल अधिराज्यलाई पुनः एउटै सिंगो राज्य बनाउन पृथ्वीनारायण शाहले जुन देन दिएको थियो । त्यो देनलाई सम्पूर्ण देशभक्त नेपालीले हिजो पनि स्तुत्य नै माने , आज पनि मानीरहेका छन् भने यो देश बाँचुञ्जेल देशभक्त नेपालीले उनको सराहना गरिनै रहने छन् । यसो हो भन्दैमा उनको विषयमा झूठा प्रशंसा पनि गर्नु हुँदैन भने झूठा लाञ्छना लगाएर थुक्ने फोटोलाई कुल्चिने जस्ता कुकृत्य पनि गर्नु हुँदैन । यसो गर्नेहरुलाई इतिहासले कदापि क्षमा गर्दैन । वास्तवमा पृथ्वीनारायण शाहको बारेमा स्वतन्त्र निष्पक्ष भएर अध्ययन अनुसन्धान हुन सकेकै छैन । उल्टै नक्कली उपदेशको दस्तावेज बनाउने ,नक्कली चिना जन्मपत्रिका रचना गर्ने , थरिथरिका मान्छेले थरिथरिका जन्ममिति कल्पना गर्दै आएका छन् । बरु सकेदेखि गद्यमा लेखिएका प्रमाणहरु खोजेर त्यसको आधारमा अध्ययन अनुसन्धानको क्रम अघि बढाउँदै लानु जरुरी छ ।
समग्रमा संशोधन मण्डलका अध्यक्ष जस्तो गरिमामय पदमा आसीन भएका व्यक्तिबाट चाहिने कुराको खोजी भन्दा नचाहिने कुराको गनथन लेखेर पृथ्वीनारायण शाह जस्तो राष्ट्र निर्माता ,राष्ट्रिय विभूतिको साखलाई गिराउने किसिमको पुस्तक आएको देखिनु राम्रो मानिंदैन । यसले तमाम देशभक्त नेपालीको मन दुखेको छ । आगामी दिनमा पृथ्वीनारायण शाहको बारेमा लेखिने पुस्तक यस प्रकारको खल्लो कृति पस्कने काम कसैबाट नहोस् । इतिहास भनेको प्रामाणिक हुनुपर्दछ । राम्रो कामको मात्र प्रशंसा पनि इतिहास होइन र नराम्रो कुरा मात्र थुपार्ने पनि इतिहास होइन । हरेक मानिसको राम्रो पक्ष पनि हुन्छ र नराम्रो पक्ष पनि हुन्छ । त्यसैले इतिहासबाट सिक्ने भनेकै राम्रो कुरा जतिलाई निरन्तरता दिन योग्य मान्ने र नराम्रो कुरा जति आइन्दा हुन नदिने प्रण गर्नु नै इतिहासको मर्म हो । यी कुरालाई हरेक विद्वान पाठकहरुबाट सही मूल्यांकन होओस् ।









