
(सन्दर्भ :महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान)
गङ्गा खतिवडा (थपलिया)
आजको आवश्यकता : अभियान होइन कार्यान्वयन
जबसम्म गलत बिरुद्ध विद्रोह गरिदैन समतामुलक समाजको यथार्थ चित्र निर्माणको वास्तविक प्रक्रिया सुरु हुन सक्तैन । समाजलाई बदल्न पहिला म बदलिन्छु र अगाडि आउँछु भन्ने संकल्प गर्नु आजको अग्रचेतनाका नयाँ पुस्ताका हरेक सदस्यको प्रमुख आवश्यकता हो । परिस्थिति वा अन्य कसैमाथि दोषारोपण गरेर एकै स्थानमा टोलाइ बस्नु कदापि होइन ।
पुरुष भनेको दिमाग र महिला भनेको शरीर हो भन्ने सोचले समाजलाई मुछेको छ ।हिजो पितृसत्ताले आफ्नो सहजताका निम्ति निर्माण गरेको सस्तो आवरणभित्र निस्सासिएको महिला विवेक र स्वतन्त्रताले वास्तविक अर्थमा महिला समानता र स्वतन्त्रताको मुक्तिको श्वास फेर्न अझै पनि पाएको छैन । आमाको गर्भदेखि सुरु हुने विभेदले मृ्त्युको कर्मकाण्डसम्म पनि विभेद नै सहेको हुन्छ । प्रत्येक वर्ष मनाइने लैंगिक हिंसा बिरुद्धको अभियानले यसको कार्यान्वयन, प्रभावकारिता र उपलब्धिलाई कसरी मूल्यांकन गरिएको छ यसतिर सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ । सिमित समयमा चालिएको अभियानले असिमित सुधार र दिगो समृद्दीलाई अंकमाल गर्दै लैजान सकेमा साच्चै अभियान सारगर्भित बन्ने कुरामा कसैको विमति नहोला
लैंगिक हिंसा लिङ्गको आधारमा गरिने हिंसा हो । जब कुनै व्यक्तिलाई कसैको व्यवहारले मानसिक वा शारीरिक आघात पुग्दछ तब हिंसा हुन थाल्दछ । प्राय महिलाहरुमा हुने बालविवाह‚ बहुविवाह‚ बलात्कार‚ बुहार्तन‚ बेचबिखन र तस्करी‚ दाइजो प्रथा‚ असमान ज्याला वितरण‚ स्वास्थ्य समस्याजस्ता अनगिन्ती हिंसाका प्रकारहरु समाजमा व्याप्त छन् । हिंसाका कारण महिलाहरु चिन्ता‚ कुण्ठा‚ त्रास र तनावग्रस्त स्थितिमा बाँचेका हन्छन् र विभिन्न कारण परिवार र समाजबाट मारिएका पनि थुप्रै घटना दिनानुदिन बढिरहेका छन् ।
सामान्य अवस्था भन्दा भूकम्प, बाढी पहिरो, युद्ध‚ अशान्ति र महामारीका बेला महिला र बालबालिकामाथि हिंसाका घटनामा वृद्धि हुनु वैश्विक पर्याय बनेको छ । महिला र बालबालिका माथि भएको हिंसाका घटनाहरु दिनानुदिन पढ्नु र सुन्नु सामान्य दिनचर्या जस्तै भएको छ । त्यस्तै दोस्रो विश्वयुद्धताका जापानी सैनिकहरुले लाखौं कोरियाली महिलाहरुलाई यौनदासी बनाएका थिए । पाशविक बलात्कार‚ कठोर यातना‚ अत्याचारका दारुणिक घटना र अमानविय व्यवहार गरेको कुरा अन्तराष्ट्रिय सम्मेलनका सिलसिलामा नेपाल आइपुगेका दुई कोरियाली महिला लिग्योङ सेङ र किम योङले बताएका थिए । लिग्योङ सेङ र किम योङ दुवै पिडित कोरियाली महिलाहरु हुन् । उनीहरु अहिले ७० वर्षभन्दा माथि भइसकेका छन् । तत्कालीन जापानी सैनिकहरुबाट ८ वर्षको उमेरमा अपहरित भई १२ वर्षको उमेरमा बलात्कृत भएकी सेङ १६ वर्षको उमेरमा गर्भवती भएकी थिइन् । सैनिकद्धारा बलात्कृत युवतीलाई गर्भवती भएको खण्डमा बिनासर्त मारिन्थ्यो । तर सेङको शारीरिक बनावट र अनुहार अति सुन्दर भएकाले गर्भको बच्चासहित पाठेघर फाल्न लगाई सैनिकहरुले उनलाई भोगी नै रहे । ती सैनिक जवानहरुले खेतबारी‚ पानीपँधेरा र बाटोघाटोबाट बालिका र महिलाहरु अपहरण गरी मनपरी रुपमा प्रयोग गर्थे । आफूसँग सहजै सहमत नहुने महिलाहरुको सबैको सामु क्रुर पाशविक हत्या गरी अरुलाई समेत तर्साउने गर्थे । सैनिकहरुले आफूसँग प्रतिकार गर्न खोज्ने कैयौं महिलालाई मुखमा मोजा कोचेर मार्ने गरेकाबारे पनि सेङ र योङले बयानमा भनेका थिए । सेङका अनुसार सैनिक जवान बेलुका मदिरापान गर्थे । त्यस बेला महिला सुसारे भएकाले दुई बोतल मदिरा लुकाएर राखेकी रहिछन् । त्यही मदिरा द्धारपाललाई खान दिएर अचेत बनाई उनी भाग्न सफल भएकी थिइन् । तर उनीजस्ता पीडित अरु कति महिलाहरु मारिए कति दबाइए त्यसको कुनै लेखाजोखा नै छैन ।
यो मार्मिक कथा यी दुईको मात्र नभई लाखौं महिलाहरुको हो । संसारका विकसितदेखि अविकसितसम्म सबैजसो मुलुकमा बलात्कार र पुरुष हुकुमीका कारण महिलाहरु पीडित छन् । हाम्रो देशमा पनि राजनीतिक अस्थिरता‚ गृहयुद्ध र महामारीका कारण धेरै बालिका र महिलाहरु यौनहिंसा भोग्न बाध्य छन् । माओवादी आक्रमणका कारण विगत ७ वर्षमा ३ हजार ८ सय ८६ महिला मारिएका थिए भने ७ सय ६७ जना विस्थापित भएका थिए । १६ वर्षमुनिका मात्र ३ हजार २ सय ९४ जना बालबालिका हिंसाबाट प्रभावित भएका थिए । अहिले दैनिक ९जना महिला बलात्कृत भइरहेका छन् ।
नेपालमा कुल जनसंख्याको २० प्रतिशत जनसंख्या दलितको रहेको छ । मानिस- मानिसबिच छुवाछुत‚ पानी बाराबार‚ उच जात र निच जात आज पनि विद्यमान छ । आज पनि जातीय विभेद कायम नै छ । जातका आधारमा तल्लो जातका मानिसले भोग्नुपरेको हिंसाका उदाहरण धारामा पानी भर्नेदेखि लिएर मन्दिरमा मूर्ति ढोग्नेसम्म ज्यूका त्यूँ छ । छुवाछूतकै कारण भोग्नुपरेका सांघातिक आक्रमण र मानसिक आघातका थुप्रै घटनाहरु छापा माध्यममा प्रष्टिरहेका छन् । दलित आयोग गठन भएपनि कार्यन्वयनको आभास दिन सकिरहेको छैन ।
मदिरापानका कारण धेरै पारिवारिक समस्या‚ आर्थिक दुरुपयोग‚ कुटपिट‚ अभद्र व्यवहार हुने गरेका छन् । हत्या‚ आत्महत्या जस्ता धेरैजसो अपराधहरु बढ्नुमा मदिरासेवनलाई पनि लिन सकिन्छ । यो समस्याको समाधानका लागि निश्चित ठाउँमा‚ निश्चित समयमा‚ निश्चित उमेरका मानिसहरुले मात्र मदिरा किन्न र पिउन पाउने नियम बनेतापनि कार्यान्वयन पक्ष फितलो देखिन्छ । रक्सी सेवन गर्ने पुरुषबाट पीडित ग्रामीण महिलाहरु रक्सीविरोधी अभियानमा पनि सरिक भए तर यो पनि प्रभावकारी हुन सकेन । मदिरा नियन्त्रण‚ जुवा- तास निषेध गर्न सरकार र माओवादीको भगिनी संस्था अखिल महिला क्रान्तिकारीबिच सहमति जनाउँदै करिब बिस वर्षअघि (२०५८ भदौ ९ गते)गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेको थियो । तर बिसौं वर्षदेखि लडेका ग्रामीण महिला र अन्य संघसंस्थाका महिलाहरुको आवाजले सरकारलाई खासै तताउन सकेन र महत्वको विषय बनेन । रक्सीविरोधी र जुवा तास विरोधी अभियानमा लागेका महिलाहरुले घरघरमा कुटाइ खाए‚ समाजमा उनीहरुमाथि औंला ठड्याइयो । उनीहरुले सरकारी प्रशासनको पनि सहयोग पाएनन् । सामाजिक कुरिति र मदिराविरोधी अभियानमा लागेका गाउँका महिलाहरु पनि कुटाइ खाएर मुख बन्द गरेर बसे । मदिराविरोधी अभियानमा लागेका ग्रामीण महिलाहरुले राष्ट्रियस्तरका महिला नेत्रीहरुको खासै सहयोग र समन्वय पाउन सकेनन् र यो आन्दोलन पनि राजनीतिक ध्रुविकरणको मारमा परेको पर्यै भयो ।
ग्रामीण भेगमा आज पनि आमाबाबुले बालबालिकालाई श्रमको स्रोत मान्दछन् र उनीहरुबाट व्यवहारिक सहयोगको अपेक्षा गर्दछन् । बालिकाहरुको विवाह कलिलो उमेरमा हुनु को एउटा कारण यो पनि हो। अधिकांश बच्चा घरमा जन्मन्छन् र सुत्केरीलाई घरका अनुभवी सदस्य र सुडेनीहरुले मद्दत गरेको पाइन्छ । धेरैजसो महिलाहरुको जीवनको अधिकांश भाग गर्भिणी हुँदै र दुधेबालक खेलाउँदै बित्ने समयमा भने परिवर्तन आएको छ ।
आजभोली चर्चामा आएको प्रमुख विषय गर्भपतन हो । कानुनी प्रावधानका कारण असुरक्षित गर्भपतनले गर्दा हुने मातृ मृत्युदरमा त कमी आउला तर स्वास्थ्य सुविधाको पहुँचभन्दा बाहिर रहेका महिलाको लागि आकाशको फल आँखातरी मर जस्तै हो । पहुँचवाला र सम्पन्नको लागि न कानुन चाहियो र,न त नियम र अनुशासन नै । यो कानुन आउनुअघि पनि गर्भपतन गराउन सक्थे र अहिलेपनि जुनसुकै क्लिनिकमा गएर पनि गर्भ फाल्न र औषधि खान सक्छन् । अर्कातिर अवैध यौन सम्बन्ध भई गर्भ रहेर जन्मेको शिशुको हत्या गरेको आरोपमा प्रायः विपन्न वर्गका महिलाहरु मात्र जेलमा जान्छन् । अवैध गर्भ रहेको सम्बन्धमा प्रेमीले प्रेमीका मार्ने घटनाहरु पनि धेरै भएका छन् ।
केही वर्षअघिका तुलनामा आजभोलि विभिन्न सञ्चार माध्यमहरुले महिलाका मुद्दाहरुलाई अलि बढी नै प्रस्तुत गर्ने गरेका छन् । जति बोक्सीका नाममा हिंसा भए‚ छुवाछूतका नाममा हिंसा भए‚ तिनलाई सञ्चार माध्यमले सम्बोधन गरेर बाहिर ल्याएका छन् । अझै पनि वैवाहिक बलात्कारका विषयमा भने समाज नकारात्मक नै रहेको छ । महिलाले खुलेर आफ्ना समस्या व्यक्त गर्न सक्ने वातावरण अझै छैन ।
विभिन्न किसिमका हिंसाहरु परम्परागत कुसंस्कारका कारण फस्टाएका छन् । एउटी छोरी घरबाट भागेमा‚ गर्भवती भएमा वा प्रेममा परेमा अभिभावकहरुले नै मार्ने र समाजमा त्यो सजाय जायज मानिने समुदायहरु धेरै छन् । रौतहतको एउटा घटना सम्झौ आफ्नै जन्म दिने बाबुआमाले नै छोडपत्र गराएर माइतीघरमा बसेकी छोरी अर्को केटासँग प्रेममा रहेको चाल पाएँ अनि एक लाख पचास हजार दिएर मार्न लगाइयो । आफ्नो इज्जत र प्रतिष्ठा जोगाउने प्रयत्नमा जघन्य अपराधमा सामेल भएकोमा हिनता नभई जायज मानिरहेका छन् तिनै अपराधीहरु । महिला बेच्ने र तस्करी गर्नेलाई भने कानुनले समेत २० वर्ष जेलसम्म राखेको छैन । यस्ता पुरातनवादी सोच र संस्कारले सामाजिक विभेदमा मात्र सिमित नराखी हत्या जस्तो जघन्य अपराधमा समेत अग्रसर गराइरहेको छ ।
केही जातीविशेषमा नवविवाहित युवतीको कौमार्य जाँच्ने प्रथा पनि प्रचलनमा छ । खाना समयमा नपाएको विषयदेखि लिएर कुनै पुरुषसँग बोल्दा मात्र पनि महिलाहरुले ज्यान गुमाएको धेरै उदाहरणहरु हाम्रो सामु छर्लङ्ग छन् । महिलाले आर्थिक उपार्जनमा खुट्टा लम्काउदा वा वृत्तिविकास गर्न संघसंस्थामा जाँदा पनि पिटाइ खाएका यथार्थ कथा पनि छन् । एकातिर पुँजीवादी महिला स्वच्छन्दतालाई आधुनिकताको सनातनी नाम दिएर कुहिरोभित्रको काग बनेका छन् भने अर्कातिर आधुनिक जमानाका पढेलेखेका‚ बौद्धिक र चतुर महिला सामन्तवादमा रहेको कुसंस्कृतिलाई पूर्वीय संस्कृति र सभ्यताको अनुसरण भन्दै निरन्तरतामा लिप्त छन् । समाजलाई हिंसारहित गतिमा लैजाने यी दुवै अवधारणाका अगुवाहरु आफ्नै गतिमा रुमलिरहँदाको फाइदा पितृसत्ताले नै लिनु कुनै आश्चर्यको विषय होइन । महिला हिंसा अन्त्य गर्न महङ्गा बैठक सेमिनारमा चर्का स्वरमा बोलेर होइन पीडित र शोषित महिलाको घर आँगनसम्म पुग्न खुट्टा कमाइरहेका छन् सम्बन्धित अधिकारकर्मीहरु । सर्वप्रथम अन्याय अत्याचारको बिरुद्ध प्रतिकार गर्न सक्ने सामर्थ्यवान् महिलाको सिर्जना गर्न उनीहरुको चेतनास्तरमा अभिवृद्धी गर्नु प्रमुख विषय हुन आउँछ । तब महिलाबाट सिर्जित पुरुषको चेतना आफै पलाउँछ ।
सरकारीस्तरबाट भेदभावपूर्ण कानुनको अन्त्य‚ पैतृक सम्पतिमा छोरीको पनि समान अधिकार‚ विभिन्न प्रकारका हिंसात्मक घटनाका लागि खास कानुनको व्यवस्था‚ महिलाप्रतिको नकारात्मक भावना हटाउन चेतना अभिवृद्धि‚ सम्बन्धित व्यक्तिहरुका लागि सामाजिक-आर्थिक कार्यक्रम व्यवस्था गर्ने‚ सामाजीकरणमा सुधार ल्याउन शैक्षिक सामाग्री बनाउँदा सम्बन्धित गैरसरकारी संस्था र पेसागत व्यक्तिहरुको सुझाव राख्ने‚ आश्रय र परामर्श केन्द्रजस्ता सहयोग सञ्चालन गर्ने‚ फिल्म सेन्सर बोर्ड‚ टिभी र छापा माध्यम तथा युटुव च्यानलहरमा महिलाको मर्यादा संरक्षण गर्न उपयुक्त व्यक्तिहरुको चयन र प्रतिनिधित्व भएमा पनि हिंसामा कमी आउन सक्छ । महिलाहरुको सामाजिक‚ राजनीतिक‚ आर्थिक लगायतका महत्वपूरर्ण भूमिका प्रकाशमा ल्याउने र सूचना प्रवाह गर्ने काम गर्नुपर्दछ । महिला हक-हितका लागि भेदभावपूर्ण कानुन निर्मूल पार्न र वैकल्पिक कानुन तयार गरी सरकारलाई लागू गर्न सुझाव र दबाब दिने काम गर्नुपर्दछ । धेरै वर्षदेखि विकासका नाममा भइरहेको बालुवामा पानी पोख्ने किसिमको स्रोत- साधनको दुरुपयोग रोक्नुपर्दछ । महिलाहरुको सामाजिक मर्यदास्तर वृद्धिका लागि अन्यायपूर्ण विकासका शैलीहरुमै सुधार हुनुपर्दछ ।









