
किरियापुत्री
सुमन सौरभ
काँचो धागोको मुन्तिर एउटा सानो कोठामा किरियामा बसेको थिएँ ।
केही खानु हुँदैन थियो । भोकले पेट कटक्क काट्यो । बच्चाजस्तै चिल्हिएर रोएँ ।
जन्मिदै देखिको बानी हो भोक लाग्यो कि दूध चाहिन्थ्यो,दूध देख्यो कि भोक लाग्थ्यो । आमा आइन् र चोलोको तुन्हा खोलेर दूध चुसाउन थालिन् ।
एक हातले आमाको बुबु खेलाउँदै अर्काे हातले आमाको ब्लाउजको टाँक समातेर दूध खान थालें । एकछिनमा मनतातो दूधको मात लाग्न थाल्यो । आमाले कोक्रोमा राखेर हल्लाइन् ।म मानिनँ ।आमाले कोक्रोबाट निकालेर काखमा राखिन् र घूँडा हल्लाइन् ।
झुपुक्क निन्द्रा लाग्यो ।
निन्द्रा लागेर सपनामा पुग्नुपर्ने हो तर निन्द्रा लागेर सपनाबाट ब्युँझिए । ब्यूँझिँदा उहि काँचो धागोले बारिएको सानो कोठामा किरियामा थिएँ । शरीरमा कमजोरी थियो,आलस्य थियो र उस्तैउस्तै भोक पनि थियो ।
कठैबरा म, अझै केही समय भोकभोकै बस्नु छ । उनकै त किरिया बसेको,कसरी आउनु आमा मलाई दूध खुवाउन ?
(लघुकथासंग्रह स्वप्निस्तानबाट)









