
काठमाडौँ ।नेकपा एमालेको सचिवालयले पार्टी रुपान्तरणसम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेका बेला कार्यदलको प्रतिवेदनमा उक्ति विषय भने समावेश छैन ।
उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताए । ”प्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी कुरा हटेेकाे छ । मतभेद भएका सबै कुरा हटेर सर्वसम्मत रुपमा कार्यदलले पास गरेको छ,” उनले भने ।
प्रतिवेदन लेखनको जिम्मा सुरुमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो । त्यसपछि महासचिव शंकर पोखरेलले
समेत कार्यदलको प्रतिवेदन लेखेका थिए ।
दुवै प्रतिवेदनमा विवाद भएपछि अध्यक्ष ओलीले पुनर्लेखनको जिम्मा कार्यदल सदस्य नै नरहेका प्रदीप ज्ञवालीलाई दिएका थिए । उक्त पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको हो ।


