काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ।
लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ।
उक्त ऐनमा भएको ब्यवस्था अनुसार , ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ।’
सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ।
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।


