
बेस्सरी गढेको कीला उखालेर फाल्न निकै गाह्रो हुन्छ भने झै मान्छेको दिमागमा गढेको भ्रम हटाउन पनि निक्कै गाह्रो हुन्छ भन्ने कुरा भनिरहनु पर्ने भएन । त्यसैले भ्रम कै कुरागर्दा हरेक तीनतीन वर्षमा अधिकमास आउने हुनाले अधिकमास भएको वर्षमा १३ महिना हुन्छ भन्ने भ्रम मान्छेहरुको मनमस्तिष्कमा गढेर बस्दै आएको छ । त्यो भ्रम हटाउन कठीनमात्र होइन मुस्किल नै परिरहेको छ किनकि हरेक तीनवर्षमा १३ महिनाको वर्ष हुन्छ भनेर एक प्रकारले आँखा चिम्लेर विश्वास जनाई आएको देखीरहकै हो ।
यसरी १३ महिना भन्नाले दिनको हिसावले भन्नुपर्दा ३६५ दिनको एकवर्ष मान्नेहरुले ३६५+३० गर्दा ३९५ दिन हुने ३६० दिनको वर्ष भन्नेहरुले ३६०+३० गर्दा ३९० दिन हुने र ३५४ दिनको एक वर्ष मान्नेहरुले ३५४ + ३० गर्दा ३८४ दिन हुन्छ भन्दै मानी आएको दखियो ।
वास्तवमा यसरी वर्षलाई तानतुन गरेर जति तन्काए पनि खुम्चाए पनि ३६५ दिनको मात्र वर्ष हुने हो । इस्वीसंवत्मा चाहिं हरेक ४।४ वर्षमा फेव्रुअरी २९ हुने हुनाले लीपयरमा ३६६ दिन अरुवेला ३६५ दिन हिसाव गर्ने चलन भएको हो । किनभने उनीहरुको हिसावमा अधिकमासको प्रावधान नै छैन । हाम्रो पञ्चाङ्गमा ३६५ दिनको वर्ष मान्ने र त्यही भित्र तिथिका हिसाव गर्दै जाँदा अधिकमासले मिलान गर्ने गर्दै आएको हो । त्यो अधिकमासले ३६५ दिन भित्रको चान्द्रमासको ३५४ दिन भन्दा वढी ११ दिनमात्र होइन सौरमासको १५ घडी ३१ पला ३० विपलाको हिसाव समेत सम्मिलित हुने हुनाले यो अधिकमासको जरुरत सौरमास मान्ने र चान्द्रमास मान्ने यी दुबैलाई अपरिहार्य भएको हो । किनभने सौरमास मात्र लिइयो भने १५ घडी ३१पला ३० विपला फाल्नेहिसाव वैज्ञानिक ठहर्न सकिंदैन भने चान्द्रमास मात्र लिइयो भने ११ ।११ दिन फाल्ने हिसाव पनि वैज्ञानिक ठहर्न नसक्ने भएकोले चाहे विक्रमसंवत् भनुन्, शकसंवत् भनुन् वा नेपालसंवत् अथवा अरु पनि जुनसुकै संवत्को वर्षमा सौरमास र चान्द्रमास दुवै सम्मिलित हुनुपर्ने जरुरी भएको हो । यो कुरालाई ख्यालै नगरि गलत ढंगको बुझाइ बन्दै आएको हुनाले त्यस प्रकारको भ्रम परित्याग गर्न जरुरी भएको कुरालाई औंल्याएर यो लेख तयार गर्नु परेको हो ।
पञ्चाङ्ग पात्रोमा अधिकमास परेको हेर्ने तरिका
वि.सं २०८० सालको पञ्चाङ्ग पात्रो पल्टायौं भने श्रावण १ गते सोमवार औंसी र भाद्र १ गते शुक्रवार द्वितीया परेको बीच शुद्ध श्रावणकृष्ण पक्ष र अधिक श्रावणशुक्लपक्ष भनेर दिइएको छ र अधिकश्रावण कृष्ण पक्ष र शुद्धश्रावण शुक्ल पक्ष भनेर दिइएको कुरा पात्रो पल्टाएर हेर्न सकिन्छ । यो भनेको १२ महिनामध्ये श्रावण एक महिना र भाद्र एकमहिना दुवै महिनालाई श्रावण भनिएको देखिन्छ । दिन गन्तीले २०८० साल भित्र १३ महिना पनि परेको होइन र ३९५ दिन पनि छैन ३९० दिन पनि छैन र ३८४ दिन पनि छैन । हालाकि यो वर्ष अधिकमास परेको भएतापनि ३६५ दिनभित्र कै अधिकमास होभन्ने कुरा मनन गर्नु पर्ने हुन्छ । कोही उपबुज्रुक आएर एकमहिना किफायत गर्न गते आविस्कार गरेको जस्ता मनगढन्त तर्क लाद्न ल्याइयो भने पनि आँखा चिम्लेर पत्याउनु पर्ने कुरा होइन भन्ने प्रष्ट हुन्छ । केवल यहाँ श्रावण संक्रान्ति र भाद्र संक्रान्तिको बीचमा चान्द्रमासले संक्रान्तिलाई नछोएको मतलव प्रतिपदाले संक्रान्ति नदेखेको चोखो चान्द्रमासलाई अधिकमास भनेको छ भन्ने कुरालाई ध्यान दिनु पथ्र्यो भन्ने मात्र हो ।
त्यस्तै वि.सं २०७७ सालको असोज महिनामा पनि अधिकमास परेको थियो भन्ने कुरा पात्रो पल्टाएर हेर्नसकिन्छ । यहाँ पनि असोज १ गतेऔंसी छ र २ गते प्रतिपदा बाट चान्द्रमास शुरुभएर असोजको ३०गते औंसी परेको हुँदा चान्द्रमासको प्रतिपदाले संक्रान्ति देख्नपाएन भन्ने कुरा प्रष्ट देखियोे भने त्यहाँ अधिकमास परेको थियो भन्न सकिन्छ ।
तीनवर्षको एक चोटी दुईवटा संक्रान्ति भित्र एउटा सिंगै चान्द्रमास पर्न आउँछ । यसलाई अधिकमास भनिन्छ भने कसैले यसलाई अनला, मलमास र पुरुषोत्तम मास पनि भन्ने गरेका हुन् । जे होस् यो अधिकमासमा संक्रान्ति परेको हुँदैन । यसलाई अर्को परिभाषाबाट भन्नु पर्दा एउटा सौरमासमा दुईवटा औंसी पर्न आयो भने त्यो अधिकमास हुन आउँछ भनेर पनि बुझ्न सकिन्छ । जुन कुरा माथि उल्लेखित पञ्चाङ्ग पात्रोले प्रष्ट रुपले देखाउँछ । यो कुरा सामान्य पात्रो मात्र हेर्न जान्नेले पनि बुझ्न सकिने कुरो हो ।
पञ्चाङ्ग पात्रोमा क्षयमास परेको हेर्ने तरिका
संक्रान्ति नभएको चान्द्रमासलाई अधिकमास भनिए झै एउटा चान्द्रमासमा दुइवटा पक्षमा दुइवटा नै संक्रान्ति पर्न आएको खण्डमा क्षयमास पर्न आउँछ । क्षयमास बहुतै कम मात्रामा देखिन आउँछ । एकपटक क्षयमास देखिए पछि अर्को क्षयमास दखिन १४१ वर्ष लाग्छ भन्ने ज्योतिषहरुको विश्वास पाइन्छ । यसको अर्को उदाहरण भनेको एउटा चान्द्रमासमा दुइवटा संक्रान्ति देखिए भनेपनि पहिलो संक्रान्ति ग्राह्यमान्ने र दोस्रो संक्रान्तिलाई छाड्ने भएकोले त्यसरी छोडिएको चान्द्रमासलाई क्षयमास मानिन्छ भन्ने मान्यता पनि रहेको छ । सौरार्य ब्राम्हपक्षीय तिथिगणितमा शक १३९७ मा क्षयमास परेको उल्लेख पाइन्छ ।
यसबाट योस्पष्ट हुनआउँछ कि अधिकमास क्षयमास भन्नेकुरा सौरमास र चान्द्रमास बीचको सन्तुलन मिलाउने अपरिहार्य तत्व रहेछ भनेर बुझ्नु पर्ने हुन्छ अर्को कुरा पञ्चाङ्ग बन्नको लागि केवल चान्द्रमास मात्रले पनि संभव छैन र सौरमास मात्रले पनि संभव छैन भन्ने कुरा स्पष्ट हुनआउँछ । त्यस कारण नेपालसंवत् पनि चान्द्रमास र सौरमास दुवैको उपस्थिति बिना संभव थिएन भने विक्रमसंवत्को पनि चान्द्रमास सौरमास बिना पञ्चाङ्ग बन्न संभव नभएको कुरा मनन गर्नु पर्ने हुन्छ ।
अधिकमास परेको असर
गत वर्ष वि.सं २०८० सालमा अधिकमास परेकोले त्योवर्ष चैतदशैं रामनवमी देखिएन र चालु वि.सं २०८१ सालमा वैशाखमा पनि चैतदशै रामनवमी छ भने यही वर्षको चैत्रमा पनि चैतदशैं र रामनवमी परेको कुरा पञ्चाङ्ग पात्रो पल्टाएरै देख्न सकिन्छ । यसले यो स्पष्ट गर्दछ कि अधिमास भएको वर्षमा १३ महिनाको हिसाव देखिने होइन । केवल तिथि धकेलिने मात्र हो किनभने वि.सं २०८० सालको वर्षमा पर्नुपर्ने रामनवमी २०८१ सालमा पर्नु र २०८१ सालको रामनवमी २०८२ मा नपरी २०८१ साल मै परेको छ । जे होस् भन्न खोजेको कुरा ३६५ दिनको वर्षमा त्यहाँ १ दिनपनि बढेको हुँदैन भने ३९० दिनको हिसाव गरेर कुनै पंडितले ढोंगी हिसाव देखाएर गणनामा माहिर छु भनी देखाउदै आउँदैमा त्यसको कुनै औचित्य स्थापित हुन सकेको मान्न सकिन्न ।
मौलाउँदै रहेको भ्रम
अधिकाँश मान्छेहरुको दिमागमा अधिकमास आउनासाथ त्यो वर्ष १२ महिनाको वर्ष नभइ १३ महिना हुन्छ भन्ने नै दरो छाप पर्दै आएको छ । १३ महिना हुनासाथ ३६५ दिनको वर्षको हिसाव गर्नेहरुका लागि ३९५ दिन, ३६० को वर्षको हिसाव गर्नेहरुका लागि ३९० दिन हुने र ३५४ दिनको हिसाव गर्नेहरुको लागि ३८४ दिन हुने भन्ने गहिरो छाप पर्दै आएको छ । यसरी दिमागमा छाप परेपछि कुनकुन वर्षको पञ्चाङ्गमा ३९५,३९० र ३८४ दिन हुँदो रहेछ भनी पोत्रोको थुप्रोबाट केलाएर हेर्ने फुरसत निकाल्नु पर्ने हो तर कहिल्यै फुरसत निकालेको नहुनुलाई अति बिडम्वनापूर्ण भन्न सकिन्छ ।
एकदिन फुरसत लिएर भएभरको पात्रो थुपारेर त्यसमा अधिकमास परेको वर्षको मात्र पात्रो छुट्याइकन ती वर्षको पात्रोमा ३६५ दिन भन्दा कति दिन बढी देखियो ? त्यो दशचोटी, सयचोटी अझ नपुगे हजार चोटी गनेर हेर्ने फुरसत मिलाउनु पर्यो नि । त्यत्तिकै आँखा चिम्लेर पत्याएर बसेर भएन भन्ने हाम्रो आग्रह हो ।
त्यतातिर फुुरसत नै ननिकालेर खाली श्री ३ महाराज चन्द्रसमसेरले तिथिको क्यालेण्डरलाई बिस्थापित गरेर गतेको क्यालेण्डर पात्रोको आविस्कार गरेको किनहोला ? भन्ने कुरामात्र दिमागमा राखेर बसेको छ । यसैक्रममा एकजना हाउरे इतिहासकार देखापरे उनले यो हौवा फैलाई दिए कि चन्द्रसमसेरको एकजना कर्मचारीले १३ महिनाको तलव दिइ राख्नु परेकोले राज्यको ढुकुटीमा घाटा परेको देखाइ गते अनुसारको पात्रो बनाइयो भने १२ महिना भन्दा बढी नहुने र वर्षमा १३ महिनाको तलव दिन नपर्ने हुन्छ भनी कान फुके पछि चन्द्रसमसेर अति खुसी भएर वि.सं १९६१ देखि गतेको चलन ल्याएकोले १३ महिनाको तलव दिनु नपरेको हो । यसो हेर्दैजाँदा पात्रो पल्टाएर हेर्ने फुरसत नपाएका जतिले त्यही हाउरे इतिहासकारको हौवाको पछाडि दौडीरहेको देख्नु परेको हो ।
पात्रो पल्टाएर हेर्न नजानेका जति त्यही हौवाको पछिपछि दौडेको देखिनुमा आश्चर्य मानेको होइन । पात्रोपल्टाएर हेर्न जान्ने ज्ञाताहरु र अरुलाई बुद्धिदरिद्र पटमूर्ख भन्दै गाली गर्दै आउने स्वनाम धन्य पण्डितहरु समेतले पनि अधिकमास भएको वर्षमा ३९० दिन नै हुने त होनी भन्दै आएका छन् । त्यही मध्येको एक जना पण्डितले त विसं २०७९ कार्तिक ५ गतेको कान्तिपुर कोसेलीको पृष्ठ ग मा अधिकमास भएको बेलामा १२ चान्द्र महिनालाई ३० ले गुणा गर्दा ३६० हुन आउँछ अनि एक अधिमासका ३० तिथि थप गर्दा ३९० नैहुने त हुन् र अधिकमास नभएको वर्ष एकचान्द्र वर्ष पूरा हुन लगभग ३५४ दिनलाग्छ भने अधिकमास भएका वर्ष एक चान्द्रवर्ष पूरा हुन लगभग ३८४ दिनलाग्छ । त्यसैले श्यामसुन्दर तिथि र दिनबारे पनि राम्रो ज्ञान राख्न नसक्नेले लिच्छविसंवत्को निर्णयको त्रुटिहरु भनेर जे लेखे ती सबै दुराग्रहपूर्वक लेखिएका अशुद्ध विषयहरु हुन् भनेर लेख्नसम्म पनि भ्याएको देख्नु पर्यो ।
यो त केवल उनै पण्डितले आफनो परमपूज्य महामानव ठानिएको व्यक्तित्व प्रति देखाएको स्वामी भक्ती मात्र हो । उनी त्यसरी अघि सर्ना साथ उनी जस्तै अरु पनि थुप्रै भक्तहरु ह्वारारा ओइरिएर श्यामसुन्दर माथि खनिएला भनेर ठानेको होला तर उनी बाहेक अरु कोही चरोमूसो पनि अघिसरेको देखिएन । उनको यो धृष्टता प्रति संशोधन मण्डलबाट त अवश्य नै क्याबात् भनी स्यावासी पायो होला । यसरी केवल उनी मात्र होइन, स्वदेशमा रहेका पण्डितहरु सबै एकजूट होउन् । त्यतिमात्र होइन संसारभर छरिएर रहेका सारा पण्डितहरु पनि त्यसमा थप भएर एकजूट बनोस् र त्यतिमात्र होइन संशोधनमण्डल , विश्वविद्यालय र प्राज्ञ जगत लगायत जतिपनि शक्ति छन् ती सम्पूर्ण शक्ति एकजूट भएर एक ढिक्का बनी अधिकमास भएको वर्षमध्ये कुनकुन पात्रोमा ३९० छ र कुनकुन पात्रोमा ३८४ छ भनेर अहोरात्र खटेर हजारपटक नियालेर फुरसत निकालीकन खोजेर भेट्टाइयोस् र जनसमक्ष त्यो पात्रो सार्वजनिक गराइयोस् यो हाम्रो आग्रह र चुनौति पनि हो । यदि होइन भने एक जना संस्कृत विश्वविद्यालयको उपप्राध्यापक नाथे अघिसरेर अधिकमास भएको वर्षमा ३९० नै हुने त होनि भनेर गलत कुरालाई पृष्ठपोषण गर्दैमा के हुन्छ ? उनले जस्तै आफुले पाएको गरिमामय पदको इज्जत त्यत्तिकै दावमा लगाउन अरु कोही अघिसर्न आउनै पर्छ भन्ने जरुरी पनि होइन । अहिलेको माहौल हेर्दा संशोधनमण्डलले जे लेख्यो त्यही ठीक, उनीहरुले ठीक नभनेसम्म कुनै कुरा ठीक नठहरिने र यही प्रचलन बीस चालीस वर्ष टिक्यो होला तर यो क्रम अब कायम रहनेवाला चाहिं होइन । किनभने बिगतमा कान नछामीकन कागको पछि दौडेर समय खेरफाले भने पनि अब समय फाल्ने नहोला कि भन्न सकिन्छ । किनकि अब पनि ती पण्डित कै पछि लाग्नेकि पात्रो पल्टाएर हेर्ने भन्ने कुराको बाटो खुली सक्यो ।
भनाइ र गराइमा ठीक उल्टो
भनाइमा त नेपालसंवत् व्यवहार उपयोगी बनाउनु पर्यो भन्ने सबैको मुखमा छ तर गराइमा व्यवहार उपयोगी नबनाइकन खाली गिजोलेर राख्न कुनै कसर बाँकी राखेको देखिंदैन । यदि यसो नहुँदो हो त थाहा पाइपाइकन यो गल्ती गर्दैआएको किन ? भन्ने प्रश्न उठ्छ ।
एकवर्षमा ३६५ दिन नै हुनु पर्दछ यो कुरा थाहा नपाउने कोही पनि छैन । हरेक तीनतीन वर्षमा अधिकमास आउँने पनि थाहा नपाउने कोही छैन । अधिकमास भनेपछि दुइटा संक्रान्तिको बीचमा एउटा सिंगो चान्द्रमास पर्न आयोभने त्यो चान्द्रमासलाई अधिकमास भन्छ भन्ने पनि थाहा नपाउने कोही हुँदैन । त्यसो भएपछि नेपालसंवत्मा संक्रान्ति हुनु भनेको सौरमास पनि छ भन्ने स्पष्ट भएको भयो । सौरमास नभइकन अधिकमासको पहिचान नै नखुल्ने भएपछि नेपालसंवत्को क्यालेण्डर बनाउनेहरुले संक्रान्तिको यति साह्रो उपेक्षा किन गरेको ? हाम्रो नेपालसंवत्मा संक्रान्तिको जरुरत नै छैन र गते भनेको विक्रमसंवत्को मात्र हा,े नेपालसंवत्को होइन भन्नुको पछाडि गिजोल्ने कुरा लुकेको भयो । नेपालसंवत् चान्द्रमास हो त्यसमा ३५४ दिनहुन्छ अनि चन्द्रसमसेरले दुःखदिएर नेपालसंवत्को ठाउँमा विक्रमसंवत् लादेको भनेर त्यही मात्र रटान गरेर लिंडेढीपि गरिरहनुको अभिप्राय के हुन सक्छ ? यसले नेपालसंवत्लाई केही मान्छेले राजनीति खेल्ने थलो बनाएको त होइन ? भन्ने आशंका पैदा गराएको छ । जे होस् यो सबै गिजोल्ने कुरा मात्र हो । त्यसैले यसलाई अत्यन्त बिडम्वनापूर्ण हो भन्नु पर्दछ ।
नेपालसंवत्लाई राजनीति खेल्ने भूमि मात्र बनाउन चाहनेहरु यसलाई जसरी हुन्छ गिजोलेर राख्ने गर्दैआएको छ । यसमा समाधान गरियो भने गर्दै आएको राजनीति खेल्न नपाउने डर उनीहरुमा देखियो । किनभने पंचायतकालसम्मको सरकार अनुदार भएकोले नेपालसंवत्लाई राष्ट्रिय मान्यता चाहियो भनी राजनीति गर्दा दिएको थिएन । प्रजातन्त्र आए पछि त सबै सरकार उदारनै देखिए तब शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा उदार सरकारले नै गरे भने राष्ट्रिय मान्यता पनि अर्कै उदार दलका सरकारले नै गर्दै आए । अझ सरकारले व्यवहारोपयोगी क्यालेण्डर बनाएर ल्याउनु नै भनी आग्रह गरीरहेको नै हो । यदि व्यवहार उपयोगी क्यालेण्डर तयार गरेर लगियो भने भोलिदेखि राजनीति गर्न नपाउने त होइन भन्ने डर उनीहरुमा भएको पो होकि आभास त त्यही देखियो । होइन भने हरेक वर्ष ११ दिन फालेको ३५४ दिनको क्यालेण्डर मात्रै बनाइ रहनुपर्ने कारण के हो ?यही बुझ्न कठीन छ । होइन भने सबै माग पूरा हुँदाहुँदै पनि नेपालसंवत्को आन्दोलन भनी रहनु पर्ने किन ? अचम्म छ । आफुचाहिं ३५४ दिनकै क्यालेण्डर बनाएर लिंदेढीपि गरेर बस्ने र कसैले समाधानको कुरा ल्यायोकि त कुनै न कुनै बखेडा झिकी हाल्ने यो के काइदा हो ? यो त पाठकवर्गले पनि विचार गर्नु पर्ने हो नि ।
निष्कर्ष
जुनसुकै गणितलाई सिद्ध गर्नुपर्यो भने सूत्रको आवश्यकता पर्दछ । यदि सूत्र मै त्रुटि हुनगए भने जतिसुकै गणित मिल्यो भनेर दावा गरिरहे पनि त्यो खोक्रो धक्कू मात्र सावित हुने हो । त्यस्तो धक्कूको कुनै अर्थ हुँदैन । फेरि कुनै पनि गणितको शुरुवात नै त्रुटि भैसक्यो भने गणित जतिसुकै लामो होस् तर त्यो गणना पनि मिल्यो भनी दिएको व्यर्थको धक्कू बाहेक अरु होइन । भनाइको तात्पर्य यही कि कुनै पण्डितले सूत्र नै गलत समाएर लामोलामो गणना देखाइ आएका जति सबैखोक्रो धक्कू सिवाय अरु होइन भन्ने प्रष्ट हुन्छ ।
समग्रमा भन्नु पर्दा कीला गढे सरी गढेर रहेको भ्रम भनेको अधिकमास भएको वर्षमा १३ महिना हुन्छ । त्यसरी १३ महिना भए पछि हिसाव गर्दा ३९० दिन या ३८४ दिन नै हुने त हो नि भन्दै पण्डितहरु उफ्रीउफ्री कुर्लेर कराउनु हो । यसले त हाम्रो गौरवमय इतिहासलाई ध्वस्त बनाउँदै आएको छ । यस कुराले देश र समाजलाई कुनै हित गरेको छैन उल्टो यसले घात गर्दै आएको छ ।
अर्को हाम्रो विशुद्ध गौरवमय नेपालको इतिहासका मुख्य आधार भने कै नेपालसंवत् हो । यसलाई पनि खाली ३५४ दिनको अव्यवहारिक क्यालेण्डर मात्र बनाइकन इतिहासलाई ध्वस्त बनाउँदै आएको छ । फेरि ३५४ दिन देखाउँदैमा नेपालसंवत् चान्द्रमासको वर्ष सिद्धगर्न सकेको पनि होइन । जेठ असार श्रावण मध्ये दुइ महिना ३२ दिन हुने यथावत् र पुस, माघ फागुन यी मध्ये दुई महिना २९ दिनहुने पनि यथावत् गरी केवल कार्तिक महिना एउटा जहिले पनि १९ दिनको महिना देखाएर ३५४ दिन देखाउँदै आएको छ । यो नितान्त अवैज्ञानिक एवं कपोलकल्पित किसिमको ३५४ दिनको वर्ष भइआएको छ ।
यो भन्दा पनि सबभन्दा खतरनाक तत्व भनेको नजानेर गल्ती गर्नु स्वभाविक हुन्छ र तुरुन्त सच्याए पछि क्षम्य भएर जान्छ तर जानाजान बुझेरपनि गल्ती गर्दै आउनु भनेको खतरनाक तत्व भनेर चिन्नु जरुरी हुनआउँछ । आफुहरुले दैनिक व्यवहार गर्दै आएको पञ्चाङ्ग पात्रो मात्र पल्टाएर हेरे पनि देख्न र चाल पाउन सकिने कुरा पनि देखादेख बूझ पचाउनेहरुलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन । हेक्का राख्ने गरोस् ।









