
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आसन्न चीन भ्रमणबारे तीन सुझाव दिएका छन्।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।
गोरखामा रहका भट्टराईले यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले राखेको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत् तीन सुझाव दिएका हुन्।
उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहेकाले आफ्नो सार्वभौमसत्तालाई जुनसुकै हालतमा कायम राख्ने दायित्व प्रधानमन्त्रीमा रहने बताएका छन्।
डा. भट्टराइले दुई प्रतिस्पर्धी र उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूराजनीतिक तथा आर्थिक स्थिति, सुपर पावर अमेरिका र यसका सहयोगी राष्ट्रहरूको निगरानी गरिरहेको अवस्थामा ती देशहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउनुपर्ने पनि सुझाव दिएका छन्।
नेपाललाई छोटो समयमा तीव्र रूपमा विकास गर्नका लागि वैदेशिक व्यापार, पुँजी, प्रविधि आवश्यक पर्ने बताउँदै चीनको विकास परियोजना बिआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनुपर्ने कुरामा पूर्व प्रधानमन्त्री डा. भट्टराईले जोड दिएका छन् ।



