काठमाडौं । चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिएका छन्।
एकसाता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ। यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जबाफ भने दिइ नसकेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो।
उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए। सोहीअनुसार नै चीनबाट निम्तो आएको र त्यसबारेमा छिट्टै निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि कोसिस गरिरहेकी छिन्। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो।
त्यसबेला नेपालका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। भारतीय पक्ष भने प्रधानमन्त्री ओलीलाई बोलाउने विषयमा अहिलेसम्म मौन छ।
प्रधानमन्त्री नियुक्त भएपछि ओली छिमेकी भारत र चीन भ्रमणमा गएका छैनन्। यसपालि प्रधानमन्त्री भएपछि ओलीलाई पहिलो पटक चीनले भ्रमणको औपचारिक निम्तो दिएको छ।





