
काठमाडौं । प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेह्रौं श्रृङ्खला २०८१ कात्तिक ३० गते शुक्रबारका दिन सम्पन्न भएको छ । दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको हिजोको कार्यक्रममा दिवंगत स्रष्टा विष्णुचरण श्रेष्ठ (कवि सिद्धिचरण श्रेष्ठका पिता) को कथा ‘कुबेरको ढुकुटीको साँचो’ कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष १ अङ्क ४ बाट वाचन गर्नुभएपछि छ जना प्रतिष्ठित कथाकारहरूले २०३०, २०४०, २०५०, २०६० र २०७० को दशकमा प्रकाशित आफ्ना कथा वाचन गर्नुभएको थियो ।
कथाकार योगेन्द्र तिमिल्सिनाले २०३० को रूपरेखामा प्रकाशित कथा ’बैंशको निर्बाशित शहर’ सोही शीर्षकको आफ्नो कथासङ्ग्रहबाट वाचन गर्नु भएको थियो । सोही दशकको अर्को कथा ’बुढो आँपको बोट’ स्रष्टा पद्मावती सिंहले वाचन गर्नुभएको थियो । सो कथा सर्वप्रथम उहाँको कथासङ्ग्रह ’कथायाम’ (२०३९)मा प्रकाशित भएको थियो ।
कथाकार मधुवन पौडेलले आफ्नो २०४० को दशकको कथा ’अकलबहादुर’ वाचन गर्नु भएको थियो । सो कथा २०४२ सालमा ’समष्टि’ साहित्यिक पत्रिकामा पहिला प्रकाशित भएको थियो ।
अभिव्यक्ति द्वैमासिकको हेमन्त ऋतु अङ्क (२०५५) मा पहिला प्रकाशित स्रष्टा हरिश कल्पितको ‘प्रमोशन’ शीर्षकको कथा उहाँले आफ्नो कथासङ्ग्रह ’आस्था’ बाट वाचन गर्नुभएको थियो ।
स्रष्टा मधुसूदनप्रसाद घिमिरेले २०६० जेठको मधुपर्कमा प्रकाशित आफ्नो कथा ‘बिछ्यौना’ वाचन गर्नुभएको थियो भने कथाकार पबित्रा अधिकारीले सुलेख मासिक पत्रिकाको २०७६ साउनको अङ्कमा प्रकाशित आफ्नो कथा ‘नचिनेको पुरुष’ वाचन गर्नुभएको थियो ।
अभियानका परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त प्रकाश पार्दै विगतमा यहाँ वाचन गरिएका कथाका दिवंगत सर्जकहरू रूपनारायण सिंह र रूद्रराज पाण्डे तथा आज वाचन गरिएको कथाका सर्जक विष्णुचरण श्रेष्ठले कथा विधामा साहित्य सिर्जना शुरू गरेर नेपाली उपन्यास विधामा ख्याति कमाउनुभएको तथ्य जानकारी गराउनुभयो । उहाँहरू क्रमशः भ्रमर, रूपमती तथा सुमती उपन्यासहरूका स्रष्टाका रूपमा चर्चित हुनुहुन्छ ।
यस अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले कार्यक्रमलाई अहिलेसम्म प्राप्त सफलतामा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले बिभिन्न कालखण्डका कथाकारहरूलाई एकै स्थानमा राखेर फरकफरक दशकमा लेखिएका कथा स्रष्टाकै मुखबाट वाचन गराउने गरिएकाले कुन कालखण्डमा केकस्ता विषयमा, केकस्ता भाषाशैलीमा कथाहरू लेखिए ती बारे कथामा रुचि हुने सबैले थाहा पाउने र पुस्तापुस्ता बीचमा परिचय र सुसम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा प्रकाश पार्नुभएको थियो । आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रम व्यवस्थापन संयोजक मन्दिरा मधुश्रीका पिता गणेशप्रसाद कोइरालाको स्वर्गारोहण यसै हप्ता भएकामा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै आजको कार्यक्रमको प्रारम्भमा एक मिनेट मौन धारण गरिएको थियो ।
आयोजक समितिका सदस्य समिना खनाल पृथाले कार्यक्रम संचालन गर्नुभएको थियो ।




