
ललितपूर। नेपालीको दोस्रो महान चाड तिहार । हरेकको घरसंघारमा तिहारले छपक्कै छोएको छ । वरिपरि फूलको बगैँचा ।अग्रज र अनूज महिला साहित्यकारहरु रंगिचगी पहिरनमा देखिन्थे । एकआपसमा सयपत्री फूलको पहेंलपुर माला लगाउने कार्यसँगै अनौपचारिक सम्बोधन सहित कार्यक्रमबारे संक्षिप्त भनाई राखेर संयोजक रीता खत्रीले विगतदेखिको पृष्ठभूमिको पोयो फुकाइन । कार्यक्रममा महिला साहित्यकार मात्र थिएनन्, उनीहरुलाई साथ र समर्थन पुरुष साहित्यकारहरुको पनि थियो । अनि साथमा थिए साना साना बाबु नानीहरुपनि । साहित्यको विकास र सम्बृद्धिको लागि लागिपर्ने महिला सर्जकहरुको पहलकदमीमा देउसी भैलो खेलिएको प्रसँग हो यो ।

शुक्रबार पुल्चोकस्थित स्थानीय पुर्वाधार विकासको कार्यालय परिसरमा महिला स्रष्टाहरुले देउसी भैलोमा आम स्रष्टा र सर्जकहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको निम्ति सुखद पलको कामना गरे। कार्यक्रमको थालनी साना साना बाबुनानीहरुले देउसीभैलो गाएर प्रारंम्भ गरे ।
प्रत्येक महिनाको एक पटक भेटघाट गर्ने उनीहरु महिला स्रष्टाद्धारा सृजना गरिएका कृतिमाथि समीक्षा सहितको रचना बाचन कार्यक्रम समेत गर्दै आएका उनीहरुले पुरानो र नयाँ पुस्तालाई एकै ठाउँमा उभ्याएर महिलाहरु सर्जकहरुको निम्ति अबसर प्रदान गर्ने सेतुको कार्य पनि गर्दै आएका छन् ।

यसैक्रममा शुक्रबार उनीहरुले देउसी भैलो मार्फत साहित्यक्षेत्रका विकृति र विसंगतिमाथि व्यँग प्रहार पनि गरे । वर्तमान समयका वेथितिका विरुद्ध उनीहरु जागरुक देखिन्थे । कुनैपनि औपचारिक सीमाभित्र कैद नभएको खुल्ला देउसी भैलो कार्यक्रममा ४६ हजार रुपैयाँ संकलन भएको संयोजक स्रष्टा रीता खत्रीले जानकारी गराइन ।उनले संकलित रकम महिला स्रष्टाहरुकै निम्ति कोषमा जम्मा गरी प्राप्त व्याजबाट महिलाहरुकै साहित्यिक उन्नयन हुने गतिविधिहरुमा खर्चिने स्पष्ट पारिन्।

उक्त तिहार देउसीभैलो कार्यक्रममा उपस्थित कवि एवं समालोचक डा.विन्दु शर्माले यस्ता साँस्कृृतिक कार्यक्रमले एकदिन भएपनि महिला स्रष्टाहरुको एक आपसमा भेटघाट हुने र आफ्ना कुराहरु आदानप्रदान गर्ने अबसरको रुपमा कार्यक्रमलाई लिनुपर्ने बताइन । अर्का स्रष्टा छविरमण सिलवालले समूहको गतिविधि र क्रियाशिलता सम्मान गर्न लायक भएको र सकारात्मक कार्यमा आफ्नो साथ सहयोग गर्ने बानी भएकोले निम्तो पाएर उपस्थित भएको बताए । उनले अगाडि भने “यस्ता कार्यक्रमले महिला स्रष्टाहरुलाई एकदिन भए पनि सबैसँग भलाकुसारी गर्ने ,आफ्ना अनुभवहरु बाँड्ने र समस्याहरु राख्ने अबसर मिलेको छ । यो स्वागतयोग्य कार्य हो । यसले संस्कृतिलाई निरन्तरता दिन्छ भने स्रष्टाहरुलाई एकाआपसमा आत्मियता र निकटता महसुस गराउँन पनि उत्तिकै भूमिका निर्वाह गर्छ ।”

कार्यक्रममा जलेश्वरी श्रेष्ठ, कृष्ण प्रसाई,यशोदा अधिकारी,उन्नति शिला बोहोरा,छविरमण सिलवाल,राजेश खनाल,प्रदीप सापकोटा,डा.बेञ्जु शर्मा ,रेणुका सोलु,शान्ति पौडेल,रञ्जना निरौला,राज रजक,विजयध्वज थापा,कल्पना काफ्ले,सविना सिन्धु,गंगा प्रसाद भेटवाल,विमला कार्की,सुषमा आचार्य,शान्ता पन्त,सत्यराज वली,जे.सागर, निर्मला फुँयाल लगायत थुप्रै महिला तथा पुरुष स्रष्टा सर्जकहरुको उपस्थिति देखिन्थ्यो । यसैगरी महिला कलाकार शर्मिला शर्मा र विमला गिरी,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाको पनि कार्यक्रममा उपस्थिति थियो ।


