nor
काठमाडौं । साहित्यकार विजय चालिसेद्वारा लिखित वैदिक उपन्यास ‘युगसन्धि’ लोकार्पित भएको छ ।
उपन्यास ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित रहेर आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष तथा रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको बताइएको छ ।
लोकार्पण कार्यक्रममा समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको बताए ।
प्रा.डा. ज्ञानू पाण्डेले यस उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउनसक्ने सशक्त कृति भएको बताइन् ।
कार्यक्रममा डा.ऋषिराम पोखरेलले पुस्तकमाथि आफ्नो धारणा राख्दै वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको आजको अवस्थामा चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए ।
कार्यक्रममा साहित्यकार विजय चालिसे,युवराज मैनाली ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।
युगसन्धिलाई परिचय पब्लिकेसनले बजारमा ल्याएको हो ।





