
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग– २ को जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
सोमबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालाई नामिबियाले तीन रनले पराजित गरेको हो ।
नामिबियाले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २०८ रन बनायो ।
नेपालका आसिफ शेखले ४५, कप्तान रोहितकुमार पौडेलले ४१, आरिफ शेखले अविजित ३८, कुशल भुर्तेलले ३४, गुल्शनकुमार झाले अविजित १९ र इशान पाण्डेले १४ रन बनाए ।
नामिबियाका ज्याक ब्रसेलले तीन र रुबेल ट्रम्पलम्यानले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।
नामिबियाका जान फ्रेइलिंकले १०० रनको शतकीय इनिङ खेले । उनले १४९ बलमा तीन चौका प्रहार गरे ।
लोरेन स्टिनक्याम्पले ५९ रनको योगदान गरे । उनले ८७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, मलान क्रुगरले १५ र जान निकोल लफ्टी इटोनले अविजित १० रन बनाए ।
नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडनसहित २९ रन खर्चिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
करणले यही खेलमार्फत एकदिवसवसीयमा १०० विकेट पनि पूरा गरेका छन् ।
हारसँगै ३१ खेलबाट २४ अंक जोडेको नेपाल छैटौँ स्थानमा झरेको छ । जित निकालेको नामिबिया समान खेलबाट २६ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।
