
आदरणीय नेपाली दाजुभाई दिदीबहिनीहरु,
तपाईं हाम्रो घर आगँनमा महान पर्व दशैं आइपुगेको छ । धार्मिक,साँस्कृतिक र सामाजिक सुसम्बन्धलाई जोड्ने मियोको काम पनि यो पर्वले गर्दछ । भावनात्मक रुपमा एकतामा बाँध्ने,पारिवारिक र सामाजिक सम्बन्धमा सेतुको भूमिकामा दशैंको महत्व छ भन्ने हाम्रो ठहर छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको देवी दुर्गाको आराधाना गरेर दशमीको दिन तोकिएको साइतमा आफ्ना मान्यजनहरुबाट टीका प्रसाद ग्रहण गर्ने हाम्रो प्रचलित मान्यता हो दशैंको । यो कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
हामीले मान्दै आएका चाडपर्व मध्येको ठूलो चाड पनि हो दशैं । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा लिइने प्रचलन छ दशैंलाई । मिष्ठान्न,मासु,पिँग,टिका,जमरा,दक्षिणा,माइत,मावल र आफन्तजनहरुसँगको सम्पर्क भेटघाट दशैंका पर्याय लाग्छन् ।
शक्तिरुपा दुर्गा देवीमाताको नौ वटा विभिन्न रुप शैलपुत्री,व्रम्हचारणी,चन्द्रघण्टा,कुशमन्डा, स्कन्दमाता,कात्यायनी,कालरात्री, महागौरी,सिद्धिधात्रीको रुपमा मानिन्छ । यसैले नवदुर्गाका यी स्वरुपहरुको पूजा महानवमीका दिनसम्म पुजा गरिन्छ ।
माता दुर्गाले महिषासुर नामक दैत्यलाई र भगवान रामले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको कहावत रहि आएको छ । यसरी दशैंलाई सनातन धर्म,संस्कार,संस्कृति,धर्म र आस्थासँग जोडिएको छ । दशैंको बैज्ञानिक महत्वलाई पनि बुझौं । जमराको गुणलाई पनि जानौं । चन्दनको महत्वलाई आत्मसात गरौं ।दशैं हाम्रो कृषिपेशासँग पनि जोडिएको छ ।
आजकाल आडम्बरीपूर्ण भावका साथ दशैं मनाउने विकृति पनि भित्रिएको छ । हैसियत नभएपनि देखासिकी गर्नुपर्ने,फजुल खर्च रिनै गरेर पनि गर्ने गरिएको छ । अनि खानपानमा पनि अस्वस्थ्य हुने हिसावले दशैं मानिन थालिएको छ । यो किमार्थ,हाम्रो आर्थिक,स्वास्थ्य लगायतका दृष्टिकोणले राम्रो कुरा हुँदै होइन् । त्यसैले फजुल खर्च र देखासिकीको दशैं नमनाऔं ।
मूलुक केह्री वर्षदेखि आर्थिक रुपमा थला परेको छ । केही सालको अन्तरालमा भुकम्प,कोभिड,जस्ता महामारी आएर जनताको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । झनै यहि महिना अविरल परेको पानी र त्यसले निम्त्याएको बाढीपहिरोको कारण मानविय र भौतिक क्षति भएको छ । कैयनको उठिवास लागेको छ । कैयनका लहलह झुलेका धानका वालामाथि बाढी र पहिरो पसेर खेत बगर बनाएको छ । खाने अन्नपात छैन् । लाउने लुगा छैन् । ओत लाग्ने छानो छैन् । बास बस्ने घर छैन् । चौपायाँहरु पुरिएका छन् । यस अबस्थामा आडम्बर देखाएर,रिन काढेर अनि अरुको देखासिकी गरेर फजुल खर्च गरेर दशै मनाउँनुको अर्थ छैन् ।
तसर्थ,संस्कार धान्ने हिसावले,परम्परा चल्ने हिसावले दशैं मनाऔं । हुँदा मात्र खानेहरुले दशैंलाई दशाको रुपमा परिणत नगरौं । स्वास्थ्यकर कुरा खाउँ । दशैं दशैं बनोस दशा नबनोस ।
सम्पूर्ण नेपाल तथा विश्वभर रहनुभएका नेपालीहरुमा वडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।



