
काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग(२ मा नेपालले आफ्नो लिगमा पाँचौं हार बेहोर्ने क्रममा नेपालले बिहीबार विहान क्यानडामा सकिएको खेलमा ओमानसँग १ विकेटको हार ब्यहोर्यो।
नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा पनि हार बेहोरेको थियो।
टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे। उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए। उनले ३ चौका र ५ छ्क्का हिर्काए।
सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै जोडेको २० रनले नेपालले २ सय रन कटाउन सफल भयो।
उता ओमानलाई अन्तिम ओभरमा ८ रन चाहियो। ओमानका कलीमुल्लाहले नेपालका सोमपाल कामीविरूद्ध पहिलो बलमा एक लिँदा सकील अहमदले दोस्रो बलमा चौका र चौथो बलमा एक रन लिए। पाँचौ बलमा कलीमुल्लाहले चौका प्रहार गरेपछि ओमानले एक बल बाँकी छदा जित निकाल्यो।


