
समय चिन्न नसकेको एउटा महाकाव्य
साहित्यको क्षेत्रमा पाश्चात्यको देन हो उपन्यास, यसको नसा नसा पहिचान गर्न सकेको हुँदा पाश्चात्य उपन्यासकारहरूको यस क्षेत्रमा राम्रो पकड रहेको छ । निसन्देह पूर्वियको देन महाकाव्य हो, रामायण र महाभारत उदाहरण दिइने सर्वकालीन महाकाव्य हुन् । यिनैलाई मानक मानेर खदिलो विषयवस्तुमा एउटा गतिलो योजना बनाएर कविले महाकाव्य लेख्दा आफ्नो सम्पूर्ण ज्ञान र सीप त्यसमा खन्याएको हुन्छ र त्यस्ता महाकाव्य गुणवताको दृष्टिले सबल बन्न पुग्छ ।हुन त महाकाव्य लेखेर महाकवि भनाउन रुचाउने केहीले झिनो विषयवस्तु, कथा अनुसार कमजोर पात्र, मात्र शब्दजाल तानतुनपारेर प्रायशः पाठकको साथमाअत्याचार पनि गरेका छन् । यस्तै कारणले आज नेपाली साहित्यमा गतिलो महाकाव्यको कमी विझाइरहेको छ जसले पाठकलाई अध्ययनको आस्वाद दिन सकोस् र उनीहरूका अगाडि समय र समाजको तस्वीर देखाउन सकोस् ।
यसै सन्दर्भमा ११ जना महाकविको संयुक्त प्रयासमा पाठकमाझ अनुहार देखाएको “जियालो” महाकाव्यबारे मेरो आफ्नो स्वतन्त्र धारणा राख्न चाहेको हुँ, हुन त म महाकाव्यको राम्रो पाठक होइन । तर पनि रामायण, महाभारत लगायतबाट प्रभाव ग्रहण गरेको छुँ सो आधारमागंभीर र विशिष्ट महाकाव्य मन पराउँछु । वसन्तकुमार शम्र्मा ‘नेपाल’, डम्बरप्रसाद घिमिरे, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, मुकुन्दप्रसाद शर्मा चालिसे, लक्ष्मीकुमार कोइराला, गणेशप्रसाद घिमिरे, खगेन्द्र खोल्साघरे, उपमा आचार्य, डा.मधुसूदन लामिछाने र बुनू लामिछानेको संयुक्त महाकाव्य जियालो मन्थन पछिको समय कटौनीमात्र बनेको पाए । यसको सबभन्दा ठुलो कमजोरी भनेको ‘जियालो’ यानी जिँउदो, जाग्दो वा फुर्तिलो— यस अर्थको सार्थकता कतै पाइन्न । यसका योजनाकार ९४ वर्षिय वसन्तको उमेर र यो उमेरमा देखाइएको संयोजन गर्न फुर्तिलो यसतर्फ पनि मैले नसोचेको होइन । कुनै पनि सिर्जनाको महत्त्व या वृद्धले लेखेकै भरमा उत्कृष्ट छ भन्न मिल्दैन, त्यसमा रहेको गुणवत्ताको आधारमा मुल्यांकन गरिनुपर्छ भन्नेमा म विश्वस्त छु । यो एउटा प्रयोग हो, तर न त यसको कथा समाजोपयोगी छ न त यस महाकाव्यले लोकप्रियता नै प्राप्त गर्न सकेको छ। केही सर्गमा त शब्दलाई आवश्यक रूपमा प्रयोग गर्न सकेको पनि पाइएको छैन । पहिलो सर्गको दोस्रो श्लोकको तेस्रो पाउ अनुसार वसन्तकुमार शम्र्मा ‘नेपाल’को चाहनाअनुसार जुटेका कविहरूबाट सिर्जिएको महाकाव्य हो । यसमा सहभागी महान व्यक्तित्व संलग्न रहेको हुँदा समय निकालेर आनन्दसंग साहित्य पढ्न बस्ने पाठकको दातमा पहिलो शर्गमा नै ढुंगा लाग्छ, व्रह्माण्डको चर्चा त पौरस्त्य महाकाव्य र पुराणहरूमा पढिएकै हो, पाठक त जहिले पनि फरकपन चाहन्छ, पहिलेको भन्दा उत्कृष्ट चाहन्छ, हो कथाले मागेको भए कुरा अर्कै, तर यसमा कथाको माग नै भएको बुझिन्न ।
‘जियालो’ महाकाव्य सन्त वसन्तको चाहनाअनुसार लेखिएको हो । चौरानव्बे वर्षिय पण्डित वसन्तकुमारले संयुक्त महाकाव्य लेख्ने कुरा निकालेपछि प्रतिभा सम्पन्न थप १० जना साहित्यकारको सहयोगले एउटा महाकाव्य नेपाली साहित्यमा थपियो । वास्तवमा समूहम ात्यो पनिव् यक्तिले एक सर्ग पूरा गर्ने जिम्मेवारी लिएर वुनिएको कथामा रहेर पुरा गरेका छन् आफ्नो जिम्मेवारी । काव्यशौन्दर्यको दृष्टिले कतिपय सर्ग निकै राम्रो छ । पाठक ध्यानमग्न भै पढ्दै महाकाव्य तुर्दा यसको कथाबाट कस्तो शिक्षा पाए भनेर सोच्दा भने निराश हुन्छ । पाठकलाई लाग्दछ के शब्द मात्रै हो त महाकाव्य, एउटा झिनो कथामा अडिएको हुन्छ त महाकाव्य । तर कवि शीरोमणी लेखनाथ, राष्ट्रकवि घिमीरे, युगकवि सिद्धिचरण लगायतका अग्रजहरूले आफ्नो नाममा थानका थान महाकाव्य लेख्नुपर्ने होइन र ! वास्तवमा हतार हतारमा जियालो जस्तो कमजोर कथानक रहेको लाखौं महाकाव्य लेखिएपनि नेपाली साहित्य सम्पन्न बन्नेवाला भने छैन । शब्द खेलाउन सामथ्र्यवान ११ जना प्रतिभाले आफ्नो क्षमता यसमा देखाएका छन् । तर क्षमता छ भन्दैमा सही ठाउँमा प्रयोग हुन सके मात्र त्यसको कदर हुन्छ । क्षमताको भरमा त हिमालमा वसन्तोत्सव मनाउँन सकिदैन । अर्कोतिर केही सर्ग निकै राम्ररी सजिएको पाएर पाठकको मन प्रफुल्ल हुन्छ । फेरी कुनै शर्ग कविता विहीन बलजफ्ती थुपारीएको शब्द कनिकुथी पढ्दा नरमाइलो लाग्छ ।
एकातिर त कमजोर कथावस्तुले महाकाव्यलाई स्तरहिनबनाएको छ भने अर्कोतिर शर्ग तुर्दा र उठान गर्दा अपनाउनुपर्ने सामान्य कुरामा पनि ध्यान दिन नसकेको जस्तो लाग्छ । म पात्रबाट सुरु भएको कथा अगाडि बढ्छ र यसमा रहेको कथाको समाजको पत्रपत्र खुल्दै जान्छ । पाठकको अगाडि भिन्नभिन्न नाम रूपका पात्रहरू आउदै जान्छन् र आफ्नो जिम्मेवारी पनि पुरा गर्छन् । यसमा रहेका पात्र निरिह देखिन्छन् र निरिह पात्रमा शब्द खेलाउन सामथ्र्यवान साहित्यकार यहां लाचार देखिएका छन् ।
यस महाकाव्यको चौथो शर्ग ‘चित्रलेखा’ छन्दमा छ भने छन्द परिवर्तन गर्न ‘मन्दकान्त’ छन्द रोजिएको छ । तर पाचौं शर्गका कविले ‘मन्दकान्त’ छन्द नरोजी ‘मदिरा’ छन्द प्रयोग गर्नु भएको छ । चौथो शर्गका बाजुराम पौडेल र पाचौं शर्गका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ महाकाव्य लेखिसकेका, यसबारे गहिरो ज्ञान भएका प्रतिभा हुनुहुन्छ यो त्रुटि उहाँहरूको पक्कै होइन यस बारेमा म विश्वस्त छु । बाजुरामजीले मन्दकान्तको सट्टा मदिरामा पनि टुंगयाउन सक्नुहुन्थ्यो भने वेदमणिजी मदिरा भन्दा सजिलो छन्द मन्दकान्तमा सहजै शब्द भर्न सक्नुहुन्थ्यो । यस्तैगरी आठौं सर्गमा स्रग्धारा छ भने छन्द परिवर्तन गर्न, ‘शार्दूलविक्रीडित’ रोजिएको छ । वास्तवमा नवौं सर्ग शार्दूलविक्रीडितमा लेखिनुपर्ने थियो तर लेखियो मालिनी छन्दमा । अनी दशौं शर्गको अंतिमश्लोक पनि परिवर्तन गरिएको पाइएन, अंतिमशर्गको अंतिमश्लोकको शर्ग परिवर्तन गर्ने नगर्ने स्वइच्छा हो । प्रतिभाको अभावले यस्तो कमजोरी अवश्य रहन गएको होइन । यो त नेतृत्व गर्ने व्यक्तिमा नेतृत्व क्षमताको अभाव वा बढी आत्मविश्वासको कारण हुनगएको कमजोरी हो । यस कमजोरीले हासको बथानमा कौवा मिसिँदाको अवस्थामा महाकाव्यलाई पु¥याएको भने हो ।
यसो त ‘जियालो’ले सामाजिक परिवर्तनको एउटा चिंताजनक पक्षतर्फ संकेत गरेको छ । अहिलेको सामाजिक विकासमापारिवारीक (दाम्पत्य) चिन्तन एउटा ठूलो मूल्य बनेर उदाउँदै छ । नयाँ चिन्तनले सम्पुर्ण समाजलाई नियंत्रण गर्न खोज्दैछ । बरू महाकाव्यमा देखिएको चिन्तन, समाजको मूल्य बन्दै जाँदैछ । विभाष–विभूषाको वरिपरी शब्द नियन्त्रतित छ । जसले शब्द खेलाउन सक्छ, उसले जे लेखे पनि पाठकले स्वीकार्नुपर्छ । यही यस महाकाव्यको मुख्य सार भएजस्तो लाग्यो मलाई । अहिले त्यो दिन छैन बजारमा जे देखिए पनि आहा भन्ने, पाठकको पनि सरोकार हुन्छ । देवकोटाले आफ्ना महाकाव्यलाई सामाजिक विचारको हतियार बनाएका थिए । सो समयमा केही उद्भट् विद्वानले पचाउन नसकेर, महाकाव्य यस्तो पो हुन्छ भनेर पुरातन मान्यता जोगाउन अगाडि ल्याइएको ‘आदर्श राघव’शब्द र कथाले आदर्श बोके पनि पाठकको मनमा बस्न सकेन, अड्न सकेन । केही त लेख्दै छु जस्तो भावनाले प्रकाशित भएका कृतिहरूको पहाड प्रेस या प्रकाशक अथवा लेखकको गोदाममा थन्किन पुग्छन् । यदाकदा किलोको भाउमा बिक्रि हुँदै गरेको समाचारले पाठकको मन नराम्ररी कुडिएको पनि पाएको छु । यो महाकाव्य पढ्दा क्षमता भएको प्रतिभा यसरी बरालिएकोमा दुःखी छु । हो संयुक्त महाकाव्य लेखनलाई ज जसले अवसरको रूपमा लिएर यहाँ देखापर्नु भयो उहाँहरूको मिहेनतलाई स्वागत गर्दछु । कथाबस्तु झिनो भएपनि आफ्नो सामथ्र्य देखाएर शब्दमा पाइन लगाएर राम्रो बनाउनुहुनेहरू प्रति आभार व्यक्त गर्दछु । हो योजनाकारले माथि औल्याइएका कुरामा विचार पु¥याउन नसक्दा उद्देश्य अनुसार सफल हुन नसक्नु स्वभाविक हो । विभाष–विभूषा र उसकै आफन्तको वरिपरीको संसार मात्रै समाजनभएको यथार्थ पाठकले महसुस गर्छ ।
यस महाकाव्यमा लोभ लाग्ने र मन छुने पंक्तिहरू पनि छन्,। सुललीत पदावलीमा सङ्लो पानी जस्ता पदहरूले मन प्रफुल्ल नबनाएको पनि होइन । केही सामथ्र्यवान शब्द सारथीको शब्दशक्तिले झिनो कथानक भएको यस महाकाव्यलाई अति राम्रो छ भनेर भन्नु खतरनाक हो, किनभने यसका पाठक अरूहरू पनि छन्, यसमा सहभागी कविले पनि स्व मूल्याङ्कन गर्नु भएकै होला । महाकाव्यको भाषा एकदम छरितो र माझिएको छ । पात्रको चरित्रको दृष्टिले संवाद राखिएको पनि छ । सबभन्दा ठुलो कुरा झिनो र कमजोर कथावस्तु र संयोजनले यो असफल बन्न गएको छ, असफल हो तर काव्य क्षमतामा भने कतिपय व्यक्ति सफल रहेको महाकाव्य हो ।
पुस्तक— जियालो (महाकाव्य)
लेखक— ‘वसन्त मण्डली’
प्रकाशक— भाभा प्रकाशनप्रा.लि.









