काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रमलगत्तै नयाँ सरकार गठनको तयारीमा रहेका उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । आगामी शुक्रबार ९असार २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत पाउने सम्भावना भने छैन ।
पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै छन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको छ ।
दुवै दलले संविधान संशोधन, नागरिकमा रहेको निराशा चिर्नेगरी अर्थतन्त्रका चुनौती पन्छाउने भन्दै राष्ट्रिय सहमतिको सरकारको लागि अग्रसर रहेको दाबी गरेका छन् । दुई ठूला दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेसँगै साना दलको बार्गेनिङ भने निकै कमजोर भएको छ । तर, कतिपय साना दल सरकारलाई समर्थन गर्ने लाइनमै छन् । पहिलोपटक ओली प्रधानमन्त्री हुँदा अर्थ मन्त्रालय उनैले राख्नेछन् ।
कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने मोटामोटी समझदारी छ ।एमालेले ९ र कांग्रेसले १० मन्त्रालय लिने समझदारी भएको बताइन्छ ।सरकारले गर्ने काम, मन्त्रालयको भागबन्डामा सहमति जुटाउन कांग्रेस र एमालेबीच कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्र कार्की र गगन थापा सदस्य छन् । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् । कार्यदल स्तरमा दुईरतीन चरणसम्म छलफल भइसकेको एक नेताले जानकारी दिए । ओली निकट स्रोतले पनि अर्थ र गृह मन्त्रालयबाहेक अरु नुटुंगिएको बतायो ।अरु पार्टी कसरी सहभागी हुन्छन् यस आधारमा मन्त्रालयको टुंगो लाग्ला ।
‘अघिल्लोपटक कांग्रेसबाट मधेसी, थारू र दलित मन्त्री भएनन् त्यसैले यसपटक समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ कांग्रेस महामन्त्री गगन थापाले गत बिहीबार भनेका थिए, ‘त्यसैले पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिएर घरमै राख्नुपर्छ ।’ तर कांग्रेसमा थापाले भने भन्दा फरक स्थिति छ । अहिले पनि थुप्रै पटक मन्त्री भएकाहरु नै मन्त्री हुन कोशिस गरिरहेका छन् ।
एमालेले भने मापदण्ड बनाएर मन्त्री चयन गर्ने बताएको छ । तर ब्यक्ति छान्ने जिम्मा भने अध्यक्ष ओलीलाई दिइएको ओली निकट सुत्रले बताएको छ ।


