
स्पेन युरोकप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
जर्मनीमा जारी प्रतियोगिताअन्तर्गत मंगलवार राति भएको सेमिफाइनल खेलमा फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जीत निकाल्दै स्पेन फाइनलमा पुगेको हो ।
म्युनिखमा भएको खेलको आठौँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । रान्डल कोलो मोउनीले कप्तान केलियन एमबाप्पेको पासमा अग्रता दिलाएका थिए । स्पेनले २१औँ मिनेटमा गोल फर्कायो । १६ वर्षीय किशोर लमिन यमालले गोल गरेका हुन् । त्यसपछि खेलको २५ औँ मिनेटमा स्पेनले अर्को गोल गर्दै अग्रता लियो । ड्यानी ओल्मोले गोल गरेका हुन् ।
आइतवार स्पेन युरोकपको आफ्नो चौथो उपाधिको खोजीमा हुनेछ । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो । स्पेन र जर्मनीले हालसम्म सर्वाधिक तीन–तीन पटक उपाधि जितेका छन् । दुई पटक यूरोकप जित्ने फ्रन्सको यूरोकप फाइनल यात्रा रोकिएको छ ।
अब स्पेनले आइतबार मध्यराति हुने फाइनल खेलमा इंगल्याण्ड र नेदरल्यान्डस् मध्येको विजेतासँग यूरोकप उपाधिको लागि भिडन्त गर्ने छ ।

