काठमाडौं आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा समावेश गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आजपा काठमाडौं उपत्यका विशेष कमिटी र राम मन्दिर बतिसपुतलीको संयुक्त आयोजनामा आज काठमाडौंको बतिसपुतली स्थित राममन्दिरमा आज आयोजित सीता जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । नेपालको राष्ट्रिय विभूती एवं विश्वमै नेपाललाई चिनाउने सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा सीता जयन्ती मनाउनुपर्ने उनले बताए । ‘हामीले रामनवमी मनाउछौं । त्यो खुशीको कुरा हो ।
तर नेपालको राष्ट्रिय विभूती, नेपाललाई विश्वमै चिनाउने सीता माताको जन्मजयन्ती किन नमाउँने । सरकारी क्यालेण्डरमा सीता जयन्ती किन उल्लेख नगरेको म सरकारसंग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘सीता जयन्ती सरकारी क्यालेण्डरमा राख्नुपर्छ । नेपालभरी भव्यरुपमा हामीले सीता जयन्ती मनाउँछौं । राम नवमीमा विदा दिने सरकारले आफ्नै देशको राष्ट्रिय विभूतीलाई विर्सन मिल्दैन् ।’ आजपा अध्यक्ष साहले विगत एक दशक देखी सीता जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारमा सहभागि साहले सीता जयन्ती सरकारी क्यालेण्डरमै राख्नुपर्ने अडान राखेका थिए ।
तर त्यतिवेला सरकारले उनको माग सुनुवाई नगरेको उनले बताए । आउने दिनमा सरकारले सरकारी क्यालेण्डरमै सीता जयन्ती राख्नका लागि जनदबाब आवश्यक रहेको उनले बताए । ‘हाम्रो समाजमा पुरुषहरु आफ्नो योगदानको बारेमा चर्चा गर्छन तर महिलाको योगदानको बारेमा चर्चा हुदैन् । पुरुषको जन्मदिन भव्यरुपमा मनाउँने तर महिलाको जन्मदिन नमनाउने बिषय ठिक होईन्’ साहले भने, ‘सीता माताको सहित महिलाहरुले गरेको योगदानको चर्चा हुन आवश्यक छ । देश, समाजका लागि योगदान गर्ने महिलाको पुरष जस्तै सम्मान हुनुपर्छ ।’ आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष अरुण घिसिङ, प्रवक्ता चन्द्रभुषण साह लगायतको विशेष सहभागिता रहेको थियो । सोही कार्यक्रममा बिभिन्न क्षेत्रमा उच्च योगदान गर्ने महिलाहरुलाई सम्मानित गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।