डा. श्यामसुन्दर राजवंशी
पूर्वतिर जान खोज्नेले पश्चिमको बाटो लियो भने उल्टो बाटो भयो र पश्चिमतिर जान खोज्नेले पूर्वको बाटो लियो भने त्यो पनि उल्टो बाटो भयो , यो सही कुरा हो । जसलाई गन्तव्य के हो ? त्यो चाहिँ थाहा छैन भने त्यतिबेला उल्टो र सुल्टोको कुनै अर्थ लाग्दैन र यसमा चकित पर्ने कुरा केही छैन ।नेपालमा लिच्छविकालका अभिलेख एकदुई वटा मात्र होइन सयौंभन्दा बढी संख्यामा तिथि मिति सहितको अभिलेखहरू भेटिएका छन् र फाट्ट फुट्ट अझै भेटिरहेकै पनि छन् । त्यसमा भएका संवत् भनी जनिएका अंकलाई कुन संवत् भनियो? भने इतिहाससँग तालमेल मिल्न आउँछ र कुन भनियो ? भने मिल्न आउँदैन भन्ने कुराको हेक्का जसलाई छैन उसैले त्यो सुल्टो बाटो, यो उल्टो बाटो भन्न थाल्छन् भने त्यो कुरा सुहाउँदो भएन । जो गन्तव्यहीन छन् उसलाई सुल्टो र उल्टो को कुनै भेद नै हुँदैन ।
भरखरै सिन्धुपाल्चोकको महादेवटार भन्ने ठाउँमा संवत् ४४२ अंकित अभिलेख सहितको शिवलिंग भेटियो । यसमा भएको संवत् ४४२ भनेको कुन संवत् हो ? भन्ने कुरा इतिहासको गन्तव्य थाहा नहुनेहरूले जे पनि भन्न सक्छन् । त्यतिबेला कसको कुरा ठीक कसको कुरा बेठिक भन्नका लागि इतिहासले तय गरेको निश्चित मापदण्ड त चाहियो नि । त्यो के हो त ? भन्ने नै मुख्य कुरो हुन आउँछ ।
मानी लिओैँ कि यो संवत् ४४२ लाई कुन संवत् भनेर जनमत संग्रह गर्दा यदि विक्रमसंवत् भन्नेहरूको संख्या धेरै भयो भने के विक्रमसंवत् नै रहेछ भन्ने ? त्यस्तैगरि शकसंवत् भन्नेहरू को संख्या धेरै भयो भने के शकसंवतै रहेछ भन्ने ? त्यसकारण मान्छेको टाउको गनेको आधारमा निक्र्यौल गर्ने विषय जस्तो यो विषय कदापि होइन ।
नेपालमा शिलालेख पनि प्रामाणिक स्रोत हुन् भनी बाटो देखाउने पहिलो व्यक्ति पं भगवानलाल इन्द्रजी थिए । उनले लिच्छविकालको अभिलेखमा दुईथरि संवत् देखेर पहिलो लाई विक्रमसंवत् भनेका हुन् तर कालान्तरमा अरु विद्वानहरूले यो कुरा गलत ठहराए । के त्यतिबेला विद्वानहरूले मान्छेको टाउको गनेको आधारमा गलत ठहराएको होला त ? बिल्कूलै होइन ।
त्यस्तैगरि अहिले मान्छेको टाउको गनेको आधारमा लिच्छविकालमा चलेको संवत् शकसंवत् नै हो । यसमा प्रामाणिक रुपमा अहिलेसम्म विवाद छैन भनी त्यसको पछि लाग्छन् भने व्यक्तिको नजरमा यो सुल्टो बाटो ठान्लान् तर इतिहासको दृष्टिले त्यो सुल्टो बाटो भने किमार्थ होइनन् ।
जसरी इतिहासले तय गरेको बाटो र गणितको माध्यमले लिच्छविकालमा चलेको संवत् विक्रमसंवत् होइनन् भनी ठहराएथे ठीक त्यस्तैगरि लिच्छविकालमा चलेको संवत् शकसंवत् पनि होइनन् भनी अरु अभिलेख र गणितको माध्यमले स्पष्ट हुन आएको हो ।
लिच्छविकालमा चलेको संवत् शकसंवत् होइनन् भनी पुष्टि गर्ने दृष्टान्त उदाहरणहरू:
१. संवत् ४२७ को दुईवटा अभिलेख भेटिएका छन् । पहिलो चाँगुको निरपेक्षको अभिलेखमा कार्तिक महिनामा राजा मानदेव जीवित रहेको वर्णन छ भने दोस्रो सूर्यघाटको अभिलेखमा आषाढमा राजा मानदेव दिवंगत भइसकेको वर्णन छ । यदि यो संवत् ४२७ शकसंवत् भएको भए आषाढ पहिले आउँछ र कार्तिक पछि आउँछ तब आषाढ मै दिवंगत भइसकेको व्यक्ति राजा मानदेव कार्तिकमा फेरि जीवित देखियो भन्नु असंभव कुरा हो । यसले लिच्छविकालमा चलेको संवत् नेपालसंवत् जस्तै कार्तिकमा शुरुहुने संवत् रहेछ भन्ने प्रमाणित भएको हो । यहाँ शकसंवत् कार्तिकबाट शुरु हुने भनी प्रमाणित भएको होइन । यदि संवत् ४४२ पौषको अभिलेख पनि भेटिएको र ४४२ वैशाखको पनि भेटिएको भए ती दुइटै अभिलेखको संवत् शकसंवत् मानेर ती दुइटै वि.सं ५७७ को भनियो भने त्यो कुरा जायज ठहरिने विल्कुलै होइन ।
२. संवत् ३९८ को विष्णुपादुका फेदीको अभिलेखलाई अहिलेसम्म भेटिएको मध्ये अधिमास उल्लेख भएको पहिलो अभिलेखको रुपमा लिइन्छ । यदि यो अभिलेखमा भएको संवत् ३९८ शकसंवत् भएको भए शक ३९८ को वर्षमा अधिमास परेको प्रमाण देखिनु प¥यो तर त्यो प्रमाण कुन शास्त्रमा दिइएको छ अहिलेसम्म देखाउन सकेका छैनन् । त्यतिमात्र होइनन् संवत् ४३३, ४३५ ४४९,४७९,४८७,५१७,५१९ र ५३६ का अभिलेखहरूमा अधिमास उल्लेख छन् तर ती शकसंवत् भएको भए ती शकवर्षहरूमा अधिमास परेको प्रमाण कुन शास्त्रमा छ उल्लेख गर्न सकिएका छैनन् । भियतनाम कम्बोडियामा पनि शकसंवत् उल्लेख भएका अभिलेख भेटिएको जस्ता गफ चाहिँ हाँक्नेहरू समेत देखिए तर ती वर्षमा अधिमास उल्लेख भएको उदाहरण भने एउटा पनि ल्याउन सकेको छैन ।
३. शकसंवत्मा १३५ जोडे विक्रमसंवत् आउने कुरा त सारालाई थाहा छ र समयक्रममा लिच्छविकालमा चलेको त्यही संवत् मै १३५ जोडेर विक्रमसंवत् बनाएर चलाएको पनि भन्ने गरियो । त्यसो भए त्यही लिच्छविकालको अभिलेखमा भएको संवत्मा १३४ र १३६ जोड्ने चालाखी र धूत्याईं कुन शास्त्रबाट ल्याइएको त भन्ने कुरा पनि थाहा हुनु पर्ने हो किन भएनन् त ?
चाँगुनारायणको शिलास्तम्भमा संवत् ३८६ जेठको मिति दिइएको त सारालाई थाहा छ । त्यही संवत् ३८६ लाई शकसंवत् मानेर त्यसमा १३५ जोडेर वि.सं ५२१ हुन्छ भन्नेहरू त धेरै देखिए । त्यसैको आधारमा प्रामाणिक रुपमा अहिलेसम्म विवाद छैन भन्नेहरूले सुल्टो बाटो हिँडी रहेका छन् वा उल्टो बाटो हिँडी रहेका छन् भन्ने कुरा दुनियाँले चाल पाई सके तर गन्तव्यहीनहरूले चाल पाएनन् । किनभने जेठमा १३५ जोड पछि कार्तिकमा त १३४ जोड्नु पर्ने भयो ताकि विक्रमसंवत् त कार्तिकबाट शुरु हुने होइन । जब जेठमा वि.स. ५२१ हुने भए पछि ३८६ कार्तिकतिर त वि.सं ५२० मात्र हुने त थाहा भएकै हुनुपर्ने हो तब कार्तिकमा ५२० हुन ३८६ मा १३४ नजोडी सुखै छैन । त्यसकारण शकसंवत्मा १३४ जोड्ने प्रावधान कुन शास्त्रमा दिइएको छ त ? गन्तव्यहीनहरूले अहिलेसम्म त्यो प्रमाण अघिसार्न सकेको छैन । लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् मान्दा अहिलेसम्म विवाद देखिएको छैन भन्नेहरूले यता तिर किन ध्यान दिइएका छैनन् ? आश्चर्य यसमा पो हो त ।
त्यस्तैगरि संवत् ३८६ लाई शकसंवत् मानेर त्यसमा १३५ जोडेर वि.सं ५२१ हुने त हो तर वैशाखदेखि ५२२ हुने भएकोले त्यही ३८६ मा १३६ जोड्नु पर्ने हुन्छ भन्नेहरू पनि देखिए किनकि ३८६ मा १३६ नजोडी ५२२ हुनुसंभव नै छैन । लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् मान्दा अहिलेसम्म कुनै विवाद देखिएको छैन भन्छन् भने अभिलेखमा भएको संवत्मा १३५ को साथ साथै कसैले १३४ र १३६ समेत जोडेर चल खेल गर्ने अधिकार कुनै शास्त्रले दिएकै छैन । यदि शकसंवत् भएको भए यो नाजायज हरकत किन गर्दछन् यो पनि प्रष्ट पार्नु पर्दथ्यो तर खोइ प्रष्ट पार्न सकेको पनि छैन ।
४. एकातिर लिच्छविकालमा चलेको संवत् शकसंवत् मान्दा अहिलेसम्म कुनै विवाद देखिएको छैन पनि भन्ने अर्कोतिर अहिलेको मान्यताअनुसार वि.सं ९३६ देखि नेपालसंवत् शुरु भयो भनेर सकार्ने गरेको पनि देखिएको छ । वास्तवमा यसमै पनि उल्टो सुल्टोको बाटो बिराउन पुगेको प्रष्टिन्छ । किनकि यसमा तालमेल नपरेको कुरा प्रष्टै छ ।
यसरी नेपालसंवत् शुरु हुँदा वि.सं ९३६ थियो भन्न जान्नेले त्यो बेलाको शकसंवत्मा १३४ जोडेर भएको हो वा १३५ जोडेर भएको हो वा १३६ जोडेर ९३६ भएको हो । त्यो स्पष्ट खुलाउन सक्ने क्षमता पनि हुनु प¥यो नि , खोइ त ? यदि ९३६ मा १३४ घटाए शक ८०२ हुन्छ,१३५ घटाए शक ८०१ हुन्छ र १३६ घटाए शक ८०० मात्र हुन्छ । यहाँ त तीन वटा बाटो देखा परे ती तीन वटा मध्ये कुन सुल्टो र कुन उल्टो आफै छुट्याउन सकेका छैनन् । त्यसैले उनै स्वयंले उल्टोबाटो हिँड्नु हुँदैन भनी अरुलाई अर्ति दिन्छन् भने त्यो कुरा सुहाउँदो भन्न मिल्दैन ।किनभने अहिलेको मान्यताअनुसार नेपालसंवत् ११४४ भनेको वि.सं २०८० को कार्तिक देखि २०८१ को आश्विनसम्म रहने त सबैलाई थाहा भइ रहकै कुरा हो । यसमा विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर ९३६ र ९३७ देखिन आउँछ । शुरुमा नेपालसंवत् १ भनेको वि.सं ९३६ को कार्तिकदेखि वि.सं ९३७ को आश्विनसम्म रहने भएकोले त्योबेला चाहिँ विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर ९३५ र ९३६ हुने स्पष्ट छ । अहिलेको मान्यताअनुसार ९३६ र ९३७ हुने उहिलेको मान्यताअनुसार ९३५ र ९३६ देखिनु पर्नाको कारण के हो ?
त्यसैले अहिलेको मान्यता के हो र उहिलेको मान्यता के हो ? त्यो पनि थाहा छैन । जसलाई यी सामान्य कुरा थाहा छैन भने उसले हेर्ने चश्माले अहिलेसम्म लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् मान्दा कुनै विवाद देखिएको छैन भन्छन् भने वास्तवमा इतिहासको दोष देखिएको होइन उनीहरूले हेर्ने चश्माको दोष देखिएको मात्र हो ।
५.स्वदेशमा बसेका होस् या विदेशमा बसेका सबैको नजरमा लिच्छविकालमा चलेका संवत् शकसंवत् मान्दा कुनै विवाद देखापरेको छैन भन्नु भनेको केवल अन्धानुशरण मात्र हो तर अन्धानुशरण गर्नु पनि एउटा सीमा हुन्छ , सीमा नै नाघेर अति अन्धानुशरण गर्नु राम्रो हुँदै होइन । यदि कसैले दिएको उपपत्ति बुझेन भने गणित देखाएर बुझाउनु पर्ने हुन्छ भन्दै प्रकाण्ड विद्वान भनाउँदो व्यक्तिले नै शास्त्र विरुद्धको गणित देखाइरहेका छन् मान्छेले बुझेकै छैन त्यत्तिकै दूषित गणितलाई आँखा चिम्ली पत्याउनु भनेको अन्धानुशरणको सीमा नाघ्नु हो ।
किनकि गत वर्ष २०८० सालमा अधिमास परेको त कसैले बिर्सेको छैन नै होला । के त्यो वर्ष को क्यालेण्डरमा ३९० दिन थियो भनी देखाउने हिम्मत कतैबाट देखियो त , देखिएन नि । जस्तो वि.सं २०८० मा अधिमास भए तापनि त्यो वर्षमा ३९० दिन थिएन । त्यस्तैगरि आज भन्दा १४१५ वर्ष अघि वि.सं ६६४ को वर्षमा पनि ३९० दिन थिएन । लिच्छविकालमा अंशुवर्माको पालाको संवत् ३१ माघको चाँगुको गरुड कवच अभिलेखमा बार सहित उल्लेख आएको देखेर गणित गरेर देखाउँदा शास्त्र बिरुद्धमा गई ३९० तिथि भएको वर्षको अवधारणा समात्न पुगेको छ । त्यो किन गरियो ? अन्धानुशरण गर्नेहरूले प्रश्न गर्न सकेको देखिएको छैन । त्यो त नियतवश जाली फर्जी गणित देखाएकै हो , यसरी जाली गणित देखाउनेले देखायो भन्दैमा पत्याउनु भनेको मूख्र्याईं र अन्धानुशरण हो । संवत् ३१ लाई चाहे अंशुवर्मासंवत् भनुन् वा मानदेवसंवत् भनुन् ,संवत् ३१ मा ४९८ जोडे पछि शक ५२९ हुने हो र त्यही ३१ मा ६३३ जोडे पछि वि.सं ६६४ हुने नै हो । यहाँ त्यही वि.सं ६६४ मा १३५ घटाए शक ५२९ नै हुने हो । त्यहाँ गणितमा ६३३ र ४९८ जोड्ने कुरा मात्र गरेर पुग्दैन शक ५२९ को वर्षमा अधिमास परेको छ भनी देखाउने सकिने शास्त्रहरू अघि सार्न सक्नु प¥यो तर अहिलेसम्म पनि अघिसार्न सकेको छैन ,त्यो किन ? वास्तवमा बुझ्नु पर्ने कुरा यो हो किनकि शक ५२९ को माघ शुक्ल त्रयोदशी भनेको तिथिगण ३४३ देखाउनु र माघ शुक्ल त्रयोदशी नै ३४३ हुनु भनेको शक ५२९को बाँकी तिथि ४७ समेत जोड्दा ३९० दिन हुन आउने हुन्छ । यो भनेको शास्त्र सम्मत कुरा होइन । यसरी शास्त्र बिपरीतको मान्यता समाएर गणित देखाइयो तर सूझबूझ केही नहेरी अन्धानुशरण गरी पत्याउँदै आउनाको कारण लिच्छविकालमा चलेको संवत् शकसंवत् नै हो भनी मान्दा प्रामाणिक रुपमा विवाद देखापरेको छैन भन्दै आएका हुन् त्यो बाहेक अरु होइन ।
यो एक प्रकारको धङ्धङी हो र यसले कहिलेसम्म प्रभावपारी रहने हो थाहा छैन । लिच्छविकालमा प्रचलित संवत् कार्तिकबाट शुरु हुने संवत् भनेर पनि सारालाई थाहा छ । यो अकाट्य सिद्ध भएकोले सर्वमान्य र सर्वस्वीकार्य समेत भइसकेको मान्यता हो भनेर पनि थाहा छ । हालै भेटिएको सिन्धुपाल्चोक महादेवटारको संवत् ४४२ लाई त्यही धङ्धङीको कारणले गर्दा स्वदेशका होस् या विदेशका होस् उनीहरू यसलाई शकसंवत् भन्न छोडिरहेका छैनन् । अभिलेखको मिति पौषको छ अतः ४४२ पौषलाई शकसंवत् मानेर त्यसमा १३५ जोडेर वि.सं ५७७ पौष हुन्छ भनिरहेका छन् । के संवत् ४४२ अर्काे कार्तिक नआएसम्म कायेम रहे जस्तै वि.सं ५७७ पनि अर्को कार्तिक नआएसम्म कायेम राख्न सक्छु भन्ने तागत कसैको छ ? त्यो तागत कोहीसँग छैन । अतः वैशाखदेखि वि.सं ५७८ भएर जान कसैले रोक्न सक्दैन । फलस्वरुप ४४२ मा १३६ जोडे बिना वि.सं ५७८ हुनु संभव छैन । त्यसकारण शकसंवत्मा १३६ जोडेर विक्रमसंवत् हुने व्याख्या कुनचाहिँ शास्त्रकारले सिद्ध गरेको छ ? भन्ने कुराको प्रमाण पनि चाहियो तर कसैले ल्याउन सकेको छैन । वास्तवमा मुख्य बिडम्वना यो हो ।
निष्कर्ष
यस्ता अनेकौँ प्रकारका विवादहरू विद्यमान हुँदा हुँदैको अवस्थामा पनि अहिलेसम्म प्रामाणिक रुपमा लिच्छविकालमा चलेको संवत् शकसंवत् नै हो भनी मान्दा कुनै विवाद देखापरेको छैन भन्नु अन्धानुशरणको सीमा पार गर्नु हो । यो अवस्थामा सिकाउनेहरूले के सिकाउँदै आए र सिक्ने विद्यार्थीले के सिक्दै आए भन्ने कुरा कति लज्जास्पद रहेछ भन्ने पनि प्रष्टै देखियो । त्यसकारण लिच्छविकालमा चलेको संवत् शकसंवत् नै हो, यसमा कुनै विवाद नै छैन भन्नु भन्दा अघि माथि चर्चा गरिएका कुरालाई कमसेकम ख्याल गरियोस् । अहिले लिच्छविकालका अभिलेख धमाधम पाइन थालेका छन् यो बडो खुसीको कुरो छ तर स्वदेश तथा विदेशमा रहेका प्राध्यापक जस्ता व्यक्तिहरूले ती अभिलेखमा देखापर्ने संवत्लाई शकसंवत् मान्दा देखिने समस्या र विवादहरूलाई केही परवाह नै नगरी अन्धभक्त हुनु मै श्रेयस्कर ठानेर बस्नु राम्रो होइन । यसले देशको इज्जत प्रतिष्ठामा कुनै योगदान दिएको साबित हुनसक्दैन ।
वि.सं २०४३ साल उपरान्त पनि महत्वपूर्ण लिच्छविकालका अभिलेखहरू भेट्टिसकेका छन् तर त्यतिबेला गरिएका कैफियत पूर्ण निर्णय जुन हुन गयो त्यही धर्राबाट अहिलेसम्म पनि इतिहासकारहरूको दिमागमा नयाँ कुरा फुर्न नसक्नु भनेको साँच्चै दूर्भाग्य नै हो । हालै सिन्धुपाल्चोकमा भेटिएको संवत् ४४२ को अभिलेखको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका प्रवुद्ध व्यक्तिहरूले यसलाई शकसंवत् नै हो र तद्नुसार वि.सं ५७७ हुन्छ नै भन्दै आएको देखिनु भनेको उनीहरूको विद्वतामा नयाँ कुरा फुर्न नसक्नुको उदाहरण हो र यही बाटोलाई सुल्टो बाटो ठान्नु भिल्लको देशमा मणि नचिन्नु भने जस्तै हो । इतिहासमा रुचि नै नभएका व्यक्तिले संवत्को बारेमा अज्ञानता जाहेर गर्छ भने त्यो सामान्य कुरा ठहर्छ तर इतिहासका ज्ञाता हुँ भन्न चाहनेहरूले पनि यसरी एकोहोरो भई अन्धभक्तले कुरा गरे जस्तो बूझपचाई रहनु भनेको अशोभनीय नै हो । साँच्चै भन्नु पर्दा सम्पूर्ण फसादको जड भनेकै लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् मानदेवसंवत् भन्नुको साथसाथै सुमतितन्त्रको नाम जपिरहनुलाई नै मुख्य कारक तत्व हुन् भन्न सकिन्छ अरु होइन ।