परिचय
“लिच्छविसंवत्को निर्णय”नामक पुस्तकका लेखक नयराज पन्त हो । उनीद्वारा लेखिएको सर्बाधिक नाम चलेको कृति पनि यही हो । यो कृतिको पहिलो प्रकाशन वि.सं २०४३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडौं,नेपालबाट भएको हो र मुद्रण चाहिँ लुष प्रेस,बानेश्वर काठमाडौंले गरेको हो । यस कृतिमा जम्मा ६४० पृष्ठ छन् । मूल्य चाहिँ त्यतिवेला रु ४० त्यस्तै कति पर्दथ्यो ।
नेपालको इतिहासमा लिच्छविकाललाई विशेष स्थान दिइएको कुरा सर्बविदित नै छ । यस कालमा प्रचलित भएको संवत्को बारेमा स्वदेशी र विदेशी विद्वानहरु बीच मतैक्य नभएको कारणले नेपालको प्राचीन इतिहासमा कालनिर्णय अति आवश्यकीय विषय भइरहेको थियो । उहाँले कालनिर्णय गर्दा जुन सिद्धान्त रोज्नु भएको हो त्यो विधिसम्मत भएन कि भन्ने आशंका केही वर्ष अघि गोकर्ण बालुवागाउँको संवत् ५३६ को अंशुवर्माको अभिलेख पाइए यता देखापर्न आएको हो । विवेचित यस पुस्तकको प्रकाशकीयमा “अपुष्ट प्रमाणले अतीतलाई हेर्नु कानो आँखाले दूरि नाप्नु जस्तै हो” भनेर दिइएको बडो सटिक लागेको छ ठीक त्यस्तैगरी सुमतितन्त्र नामक अपुष्ट स्रोतको आधारमा लिच्छविराजाहरुले चलाएको संवत् वि.सं ६३३ देखि प्रारम्भ भएको हो भनी लेखकले जुन प्रमाणित गर्न खोज्नु भएको हो त्यो पनि पित्तललाई सुन बनाए जस्तै अपुष्ट कुरालाई प्रमाण भन्दै गलत तथ्याङ्क प्रयोग गरी कालगणना गरिएको हो त्यो समग्रमा नाजायज ठहरिन आएको छ ।
लेखक परिचय
लिच्छविसंवत्को निर्णय पुस्तकका लेखकलाई अन्य लेखकहरुले अनेक देवत्वकरण गरी उनको बारेमा अनेकौं पुस्तकहरु बाहिर ल्याइरहेका देखिन्छन् । ती पुस्तकहरुमा उनलाई कतिले नेपालका बौद्धिक विभूति भनेर प्रशंसा गरे,कतिले प्रज्ञा मनीषि,कतिले लौह पुरुष, कतिले नेपालका शुकरात, त कतिले त आकाशका शुक्रतारा भनेर समेत अतिशयोक्तिपूर्ण नाजायज तारिफ गर्ने गरेका पाइन्छन् । खासमा उनी इतिहास संशोधकका एक अगुवा लेखक अवश्य हुन् तर इतिहास संशोधन गर्दै जाने क्रममा उनले अरुको दोष भने देख्ने आफ्नो दोष चाहिँ नदेख्ने गरेको र उनको दोष अरुले औंल्याउन सक्छ भन्ने न्यूनतम हेक्का पनि नराख्ने व्यक्तिको रुपमा चिन्न सकिन्छ । प्रायः अरु इतिहासकारहरु चाहिँ कसैले त्रुटी औंल्याइ दियो भने त्यसलाई सहर्ष शिरोपर गरेर लिन्छन् भने उनी र उनका अनुयायीहरु चाहिँ त्रुटी सकार्ने पक्षमा बिल्कुल देखिने गरेका छैनन् । वास्तवमा इतिहास लेखनको धरातलमा आएर टेक्न आउने जोसुकै होस् स्थापित भएर टिक्नका लागि अरुको आलोचनाबाटै पाठ पढेर सिक्दै सच्चिंदै जानेहरुनै गन्तव्यमा पुग्ने गरेका छन् भने त्रुटी नसच्याउनेहरु एकादेशको कथाका पात्र भएर खुम्चनु पर्ने यथार्थ देखेको सुनेको हुनै पर्ने थियो । त्यसको ख्याल उनमा नहरेको कारणले यही अवस्था उनको हुने छाँटकाँट देखिएको हो ।
विषयवस्तुको सार
यो पुस्तकको मूलखण्ड भनेको पृष्ठ १ देखि पृष्ठ ३१ सम्म मात्रै हो । यस पुस्तकको अगाडिको २७ पाना भएको भूमिकाखण्डलाई उपोद्घात नाम दिइएको छ । त्यसपछि पृष्ठ ३२ देखि पृष्ठ १८० सम्ममा अधिकाँश लेख पूर्णिमा अंकहरुमा अघिनै छपाई सकेका लेखहरु समावेश गरिएका छन् तर ती लेखले मूलखण्डलाई पुष्टि गर्ने नभई मूलखण्डसितै आफैमा बाझिने खालका लेखहरुले गर्दा केवल पुस्तकको पृष्ठ बढाउनका लागि मात्र उपयोगी बनेको देखियो । त्यसपछि पृष्ठ १८३ देखि ५४० सम्म प्रवचन माला अन्तर्गत गर्नु भएका प्रवचनहरु गाभिएका छन् भने पृष्ठ ५४१ देखि ५७७ सम्म उपसंहार खण्ड रहेका छन् । त्यसपछि पुस्तक तयार पार्दा सहयोग लिइएका पुस्तक तथा लेखका सूची दिइएका छन् । अन्तमा नामसूची र शुद्धिपत्र समेत गरेर ६४० पृष्ठ पु¥याइएका छन् ।
पुस्तकको मूलखण्डले बार सहित उल्लेख भएका चाँगुनारायणको गरुडको कवच मुनीको अभिलेखको मिति र सहोत्तरतन्त्र नामक ग्रन्थको पुष्पिकामा अंकित मितिको गणना प्रस्तुत गरिएका छन् । ती मितिमा बार उल्लेख भएकाले सुमतितन्त्रले ४९८ सम्म शकसंवत् चल्ने छ भनेर दिइएको कुरालाई आधारको रुपमा लिएर त्यही ४९८ मा १३५ जोड गर्दा वि.सं ६३३ हुन आउने देखाइयो । त्यही वि.सं ६३३ देखि मानदेवसंवत् सुरु भएको हो भनी देखाइएको छ । त्यही वि.सं ६३३ भन्दा अघिको मिति चाहिँ शकसंवत् नै हो भनी सिद्ध गर्न कुनैपनि तथ्य अघि सारेका छैनन् तथापि अघिको संवत् शकसंवत् नै स्वतःसिद्ध हो भन्ने प्रमाण पनि अघि सार्न सकेका छैनन् ।
स्रोतको मूल्यांकन
पुस्तकको मूलखण्डको लागि सुमतितन्त्रको सहारा लिएको त भनियो त्यो भनेको ४९८ सम्म शकसंवत् चल्यो भन्ने कुरालाई मात्र लिई त्यसलाई वि.सं ६३३ बनाउनको लागि प्रयोग गर्ने बाहेक त्यसलाई अरु कुनै प्रयोजनमा सहयोग लिइएका छैनन् । यो कुरा पृष्ठ १ देखि ३१ सम्म धेरै पटक दोहराई तेहराई हेर्न पाठकहरु समक्ष आग्रह गर्न चाहन्छु । त्यसको मतलव उनको मूलखण्डमा सुमतितन्त्रको तड्कारो प्रभाव देखाइएको बिल्कुलै छैनन् । त्यसकारण उनको मूलखण्डलाई सुमतितन्त्रद्वारा पालितपोषित भएको छैन भन्ने प्रष्ट हुन्छ र लेखकले सुमतितन्त्र नामक ग्रन्थलाई केवल दुरुपयोग गर्दै आफनो दुनो सोझ्याउने कार्य मात्र गरियो भन्न सकिन्छ ।
पुस्तकको मूलखण्डमा बेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथिगणितको माध्यमबाट गणना गरेको देखाइएको छ । यस गणनामा वेदाङ्गज्योतिषको “व” पनि आकर्षित गरिएको भेटिएको छैन । लेखक स्वयंले संवत् ३१ को भक्तपुर इनाचोटोलको अभिलेखमा अधिमास उल्लेख भएको पनि देखाएको छ भने पाटन सुनधाराको संवत् ३४ को अभिलेखमा पनि अधिमास परेको देखाएको छ । वेदाङ्गज्योतिषले पाँचवर्षमा दुईचोटी अधिमास आउँछ ,त्यसमा पहिलो साढे दुईवर्षमा आषाढमा अधिमास पर्छ र अर्को साढे दुई वर्षमा पौषमा अधिमास पर्ने सिद्धान्त छ । लिच्छविकालको संवत् ३१ को अभिलेख पनि पौषको र संवत् ३४ को अभिलेख पनि पौष मै परेको दृष्टान्तले गर्दा उनको मूलखण्डमा वेदाङ्गज्योतिषको सिद्धान्त लागु भएको देखाउन सकेको होइन । जब मूलखण्ड मै वेदाङ्गज्योतिषलाई आकर्षित गर्न सकेको छैनन् भने पुस्तकको अन्य अध्यायहरुमा वेदाङ्गज्योतिषको बखान गर्नु बिनसित्तिको गफ सिद्ध हुने बाहेक अरु तात्विक औचित्य देखाउन सकेका छैनन् ।
स्वयं बेंकटेश केतकरले केरो लक्ष्मण छत्रेले गनेको अधिमास क्षयमास सारणी पनि पेश गरेको छ जुन सारणी लिच्छविसंवत्को निर्णयको पृष्ठ २९३ देखि २९७ सम्म पल्टाएर हेर्न सकिने कुरा हो । त्यस सारणीमा शक ५२९ को वर्षमा अधिमास पर्छ भनी दिइएको बिल्कुलै छैन । तथापि संवत् ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाइएको हेर्ने हो भने त्यसबाट फेरि १३५ घटाई शक ५२९ देखाउन त्यसरी घुमाउनुको औचित्य के ? प्रश्न उठ्छ । जुन वर्षको माघ शुक्ल त्रयोदशी दिनको तिथिमिति गणना गर्दा शक ५२९ को वर्षमा अधिमास नभएपनि अधिमाससहित गनेर त्यो मितिको तिथिगण ३४३ पु¥याई गणना गरेको दृश्य प्रत्यक्ष देख्न पाइन्छ । त्यसरी ३४३ तिथिगण बनाई गणना गर्नु भन्दा अगाडि त्यो ३४३ तिथिगणले माघशुक्ल त्रयोदशी र माघ शुक्ल पूर्णिमा भनेको चैत्रमा पर्न जाने ख्याल गर्नु पर्दैन र? कुनै पनि वर्षमा माघ स्नान गर्ने तिथि चैत्रमा परेको थियो भन्ने उदाहरण त आकासदेखि पातालसम्म गएर जहाँ खोजे पनि भेटिने कुरा होइनन् । यो त पत्याउने मान्छेको अकर्मण्यता मात्र हो । यस्तो गणना देखाएर उनले आफनो कद आफैँले घटाएको मात्र सिद्ध हुन्छ । यस्तो निकृष्ट गणना देखेर स्वतन्त्र पाठकले भविष्यमा छिछि गर्ने त होइनन् भन्नेसम्म पनि हेक्का राख्न नसक्नु साँच्चै उनको यो भयंकर अक्षम्य भूल हो । यो भूललाई ढाक छोप गर्नेहरुले अझैपनि अधिमास परेको वर्षमा माघ स्नान गर्ने तिथि चैत्रमा पर्ने त होनि भन्दै ढाकछोप गर्ने प्रयत्न लाखचोटी गरिरहे पनि त्यो केवल गन्हाएको सिनोलाई छोप्दैमा गन्ध छोपिन सक्दैन भन्ने उक्ति जस्तै मात्र हुन् ।
यही पुस्तकको मूलखण्डमा सहोत्तरतन्त्रको पुष्पिका वाक्यमा रहेको मिति संवत् ३०१ वैशाख शुक्ल सप्तमीको दिन पनि आइतबार नै परेकोले त्यसको पनि गणना गरिएको छ । जुन गणना सुमतितन्त्रको अनुकुल पनि होइन वेदाङ्गज्योतिषको अनुकुल पनि होइन र स्वयं बेंकटेश केतकरको सिद्धान्त अनुकुल पनि होइनन् । अघिल्लो मिति संवत् ३१ मा ६३३ जोडेर विक्रमसंवत् ६६४ बनाई त्यही ६६४ बाट १३५ घटाई जसरी शक ५२९ बनेको देखाईकन जुन प्रकारले कैफियत कार्य गरेको हो, त्यही प्रकारले संवत् ३०१ मा देखाउन सकिएन । यो भनेको गणितलाई चातुर्यता देखाउने कला बनाउन पाईंदैन भनी बुझ्न पनि जरुरी थियो ।
पहिलो त वि.सं ६३३ को उल्लेख सुमतितन्त्रमा कहींकतै उल्लेख भएकै होइन । सुमतितन्त्रमा शक ४९८ सम्म चल्छ भनेको कुरा टप्प टिपे तापनि त्यही ४९८लाई संवत् ३१ मा जोडेपनि शक ५२९ नै आउने हो । त्यसैले सुमतितन्त्रमा भएको ४९८ मा १३५ जोडिएको वि.सं ६३३ लिएर त्यो ६३३ अभिलेखको संवत् ३१ मा जोडी वि.सं ६६४ बनाइकन फेरि त्यो ६६४ बाट १३५ घटाई जसरी गणितको चातुर्यता देखाई शक ५२९ हुन्छ भनियो त्योत सोझै संवत् ३१ मा ४९८ जोडेर पनि शक ५२९ बनाउन सकिने हो । के त्यसरी गणितको चातुर्यता देखाएको मात्र गणित सोझै संस्कार गर्नु गणित होइन भन्ने सिद्धान्त तीन त्रिलोकमा कहाँ छ , सिद्ध गर्नु पर्दैन र ? प्रश्न उठ्छ ।
त्यसरी ६३३ जोड्नको लागि सुमतितन्त्रको ४९८ सापट लिएको भन्ने मान्यता उन गणितज्ञको हो भने सहोत्तरतन्त्रको पुष्पिका ग्रन्थको मितिमा रहेको ३०१ लाई वि.सं ९३५ वैशाख बनाएर गणना गर्दा त्यहाँ चाहिँ किन ६३४ जोड्नु पर्ने नौवत आयो ? त्यसको उपपत्ति न सुमतितन्त्र अनुकुल ,न वेदाङ्गज्योतिष अनुकुल, न बेंकटेश केतकरको सिद्धान्तको नै अनुकुल हो त्यो देखाउन नसक्ने किन ? गणितज्ञले गणना गर्दा ६३४ जोड्न कुनै सिद्धान्त नलिइकन गरिंदा यो गणितज्ञको मनमानी मात्र भयो यदि त्यसरी जे मन लाग्यो त्यही गर्न इच्छा राखेको भए , सुमतितन्त्र, वेदाङ्गज्योतिष, बेंकटेश केतकरको हवाला दिइरहने किन ? मुख्य सवाल त यो हो नि । त्यसरी शास्त्रको नाम जपेर दुरुपयोग गर्न पाईंदैन , यो शास्त्रको घोर अपमान पनि हो भनी बुझ्न जरुरी छ ।
आलोचनात्मक विश्लेषण
यस पुस्तकको मूलखण्डको पहिलो लेखको शीर्षक “वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको थियो भन्ने कुराका प्रमाण नेपालमा र भोटमा गरी जम्मा ४ वटा पाइएका छन्” हो । यो लेख संशोधन मण्डलको इतिहास प्रधान पत्रिका अंक ३९मा वि.सं २०३५ आश्विनमै प्रकाशित भइसकेको हो । त्यतिबेला यो लेख लेखकले महेशराज पन्तलाई सहायक बनाई लेखेको लेख हो । पुस्तकको मूलखण्ड हेर्दा लेखकलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य नियुक्त गरी सकेपछि रचना भएको जस्तो गरी प्रस्तुत गरिएका छन् । यसबाट उनले प्राज्ञ सदस्य नियुक्त भएपछि आफनो लेखलाई आधिकारिकता प्रदान गरेको मात्र देखियो । वास्तवमा उनलाई प्राज्ञ सदस्यमा नियुक्त गर्नुको अर्थ पूर्णिमा अंकमा छपाइसकेको लेखलाई वैधानिकता दिनका लागि पुनः अनुमति दिइएको बिल्कुल होइन । यस प्रकार छापी सकेको लेख पुनः प्रकाश गर्नु भनेको तत्कालीन राष्ट्रलाई विश्वासघात गरेको ठहरिन्छ ।
यस लेखमा उनले देखाउन खोजेको खूवी भनेको वि.सं ६३३ देखि अर्कै संवत् चल्यो भनेर देखाइएकोलाई लिन सकिन्छ । सुमतितन्त्रको मूल वाक्य लगायत चारैवटा प्रमाण भनिएको स्रोतमा विक्रमसंवत्को उल्लेख कतै छैन । भारतको इतिहासमै पल्टायौं भने पनि ९३६ पुग्दासम्म त्यो संवत्को नाम मालवासंवत्को नामले प्रशिद्ध थिए । त्यही मालवासंवत् ९७३ मा आएर बल्ल विक्रमकाल भनेर उल्लेख हुन थालेको अभिलेख प्रमाण बोल्छ र १०९९ मा आएर मात्र विक्रमादित्य संवत् नामाकरण हुन थालेको तथ्य भारतीय इतिहासकारहरुले लेख्ने गरेका छन् । त्यसरी मालवासंवत्को नाम ६३३ मै विक्रमसंवत् जनिएको प्रमाण देखाउन पनि सक्नु प¥यो । त्यसकारण सुमतितन्त्र लगायत स्रोतहरुमा विक्रमसंवत् ६३३ उल्लेख भएको जिकिर गर्ने अधिकार संशोधन मण्डलको प्रणेता भएको हैसियतले पनि पाउने होइन र प्राज्ञ सदस्यमा नियुक्त हुँदैमा पनि पाउने होइन । यदि उनले आफूमा गणित गर्ने खूवी भएको सावित गर्न सक्ने भइदिए सुमतितन्त्रमा शक ४९८ सम्म चल्नेछ भनेको कुरालाई नै साधन मानेर गणना गरेको हुनुपर्दथ्यो । अभिलेखको संवत् ३१ मा सोझै ४९८ जोड्दा पनि शक ५२९ आउने हुन्छ । यो कुरा छोडेर ४९८ मा १३५ जोडेर वि.सं ६३३ बनाइ ,त्यही ६३३ लाई संवत् ३१ मा जोडी वि.सं ६६४ बनाइकन फेरि त्यही ६६४ बाट १३५ घटाई शक ५२९ हुन्छ भनी नाटक मञ्चन गरिएकोलाई गणना गरेको किमार्थ भनिंदैन । भारत मै मालवसंवत् ६३३ को समयमा विक्रमसंवत् कहलिएको छैन भने उनलाई ६३३ भनेको विक्रमसंवत् भन्ने अधिकार कसले दियो ? अचम्म यो पनि हो ।
त्यस्तै मूलखण्डको दोस्रो लेखको शीर्षक “अंशुवर्मादेखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् वि.सं ६३३ देखि उठेको हो भनी सकार्दा अभिलेखका सबै मिति ट्वाक्क मिल्छन्” हो । यो लेख पनि संशोधन मण्डलको इतिहास प्रधान पत्रिका अंक ३९ मा वि.सं २०३५ आश्विनमा नै प्रकाशित भइसकेको हो । त्यतिवेला लेखकले देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल र दिनेशराज पन्तलाई सहायक बनाई लेखेका हुन् । यसबाट प्रष्ट हुन्छ कि यी मूलखण्डका लेख पनि लेखक प्राज्ञ सदस्यमा नियुक्त भएपछि लेखिएका होइनन् । यसबाट उनले पूर्णिमा अंकमा छपाइसकेको लेखलाई केवल चोख्याउने कार्य बाहेक अरु गरेको होइन रहेछ भनी बुझियो ।
अंशुवर्माभन्दा अघिका नेपालका लिच्छविराजाहरुले व्यवहार गरेको संवत्को निर्णय गर्न वेदाङ्गज्योतिष संझनु प¥यो भन्ने व्यक्तिले धर्मनिर्णयतिथिसार संग्रह समात्न पुगेको किन हो ? यो पनि अचम्म छ । वेदाङ्गज्योतिष र धर्मनिर्णयतिथिसार संग्रहमा समानता के छ ? त्यसको तुलना गरिएको छैन । आषाढ र पौषमा पर्ने अधिमास बारे वेदाङ्गज्योतिषमा मात्र छ भन्ने व्यक्तिले नेपालका अभिलेखमा संवत् ३१ र संवत ३४ गरी तीन वर्ष भित्रै दुईचोटी अधिमास पौष मै परेको पुष्टि गर्ने वेदाङ्गज्योतिष हो या धर्मनिर्णयतिथिसार संग्रह हो । त्यसको खुलासा दिन नसक्ने पनि गणितज्ञ होला भनी विश्वास गर्ने कसरी ? यसको लागि पत्याउन मिल्ने आधार पनि ल्याउन सक्नु पर्ने हो ल्याउन सकेका होइनन् ।
शक ५२९ को वर्षमा अधिमास परेको छ वा छैन यो कुरा अधिमास क्षयमास तालिका भिडाएर हेर्न सकिने कुरा हो त्यसमै यति हेलचेक्र्याई किन भएको होला ? त्यही शक ५२९ को माघ शुक्ल त्रयोदशीको गणना गर्दा अधिमास नै नभएको वर्षको तिथिगण नै ३४३ साधन गरेको किन ? यो बिल्कुल भ्रामक सिद्ध छ । माघ शुक्ल त्रयोदशीको तिथिगण ३४३ गन्ना साथ त्यो तिथि माघमा नपरी चैत्रमा पुग्न जान्छ भन्ने हेक्का राख्न नसक्ने व्यक्तिलाई सिद्धहस्त गणक मान्ने हामी नेपाली कति बुद्दु रहेछौँ भन्ने कुराको लेखाजोखा कसले गर्ने ?
अर्को कुरा माघ शुक्ल त्रयोदशीको तिथिगण नै ३४३ भएपछि त्यहाँबाट चैत्र शुक्ल प्रतिपदा आउन अर्को ४७ दिन जोड गर्दा ३९० तिथिगण हुन पुग्छ । यो असंभव हो किनकि कुनै पनि वर्षमा ३९० तिथिगण हुनसक्ने उदाहरण आकासदेखि पातालसम्म खोजे पनि पाउने होइनन् भन्ने कुरा बुझ्ने कहिले होला ?
यदि ३९० तिथिगण देखा पर्ने कुरा साँचो हो भने उनकै पुस्तकको अर्को अध्यायमा “गणितमा लाघव होस् भनेर एक सौर वर्षमा ३६६ सावनदिन हुन्छन् भनी वेदाङ्गज्योतिषकारले बोलेको देखिन्छ” भनी आफनै सिद्धान्त बाझिने गरी एक चान्द्रमासमा २९.५३०५९ सावनदिन हुन्छन् र एक सौरवर्षमा ३६५.२५८७५ सावनदिन हुन्छन् भन्ने कुरा ल्याइनुको मतलव के हो? यसरी आफ्नै मान्यता दश ठाउँमा बाझिने गरी उल्लेख गरेको कुरा आफै बेखवर बन्नु भनेको लेखकले आफु सिद्धहस्त गणक हुँ भनी आफुले आफैँलाई असफल सिद्ध गराउनु हो ।
लेखकले आफनो पुस्तक मोटो बाक्लो देखाउन पूर्णिमा अंकहरुमा छापिएका थुप्रै लेख गाभ्न ल्याइएको छ तर आफ्नो पुस्तकको मूल खण्डलाई पुष्ट्याई हुने लेख मात्र गाभ्न ल्याएको हुनु पर्नेमा मूलखण्डले देखाउन खोजेको कुरा एउटा अन्य लेखले अर्कै कुरा देखाइरहने भएको पनि चाल नपाउनु भनेको आफुले आफैँलाई धिक्कार सिद्ध गराउनु हो ।
पुस्तकको उत्तरार्धखण्डमा पं भगवानलाल इन्द्रजीदेखि काशीप्रसाद जायसवाल सम्मको मत परीक्षा गरिएको छ । त्यसमा ती विद्वानहरुको मत यो हो हाम्रो तथ्यपूर्ण इतिहास यो हो । त्यसकारण उहाँहरुको कुरा यहाँ यसरी बिग्रेको छ भनी देखाउन छोडेर आफनो मूलखण्डसित भिडाउँदा नभिडेको कुरा मात्र दिइएको छ । यी कुराको आधारमा लेखक स्वयंले आफुलाई मत परीक्षकको भूमिका निभाउन असक्षम सिद्ध गर्नु हो ।
निष्कर्ष
समग्र रुपमा भन्नु पर्दा ६४० पृष्ठको यो पुस्तक तराजुमा तौल गर्दा गह्रुंगो देखाउन चाहिँ अवश्य काम लाग्यो तर बौद्धिक स्तरमा तौलने हो भने हावा जत्ति कै हलुँगो सिद्ध भएको देखियो । यो दृष्टिकोणले भन्नु पर्दा यो पुस्तक कुनै बौद्धिक जगतको लागि उपयोगी छैनन् । तथापि यो पुस्तकले गरिमामय पुरस्कारले पुरस्कृत किन भयो त? भन्ने कोणबाट हेर्ने हो भने त्यो समयमा नाम चलेका इतिहासकारहरुले पनि लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत् गलतै किन नहोस् , अप्रमाणिक नै किन नहोस् , सबैलाई त्यही चाहिएको थियो । यस पुस्तकका लेखकले अपुष्ट तथ्याङ्क तयार गरी, गलत अंकजाल तयार गरी देखावा गणना पस्केर भएपनि त्यही अनुकुल निर्णय ल्याइ दिएको कारणले पुरस्कृत भएको
हो । त्यसरी दुनियाँको अगाडि आँखामा धूलो छ्याप्ने गणना तयार गरी दिए वापत दिइएको पुरस्कार मात्र हो । ती पुरस्कार देशको इतिहास शुद्ध लेखनको लागि दिइएको बिल्कुलै होइनन् । यो कुरा माथि खुलाइएका तथ्यहरुबाटै छर्लङ्ग पारी सकेको छु ।
लिच्छविकालमा चलेको संवत्का विषयमा स्वदेशी तथा विदेशी विद्वानहरुको बीच मतमतान्तर भएर रहेको हुनाले लेखकलाई वि.सं २०३६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गराइएको थियो । उनी सदस्यमा नियुक्त भए पछि यस विषयमा नयाँ शिराबाट अध्ययन अनुसन्धान गर्नको लागि अविभारा सुम्पेको हो तर पूर्णिमा अंकमा छपाइ सकेको लेखहरु जम्मा गरी थप भ्रामक निर्णय गर्न पुगे । यसले त जो सीमित समूहको सिफारिसमा सदस्य नियुक्त हुन पाएको हो उनै समूहलाई चित्त बुझाउने गरी गरेको निर्णय मात्र भएको हो भन्ने पनि प्रष्ट रुपले देखियो र त्यही समूहले उनलाई पुरस्कार पनि दिलाइएको हो भन्ने पनि प्रमाणित भएको छ । यस्तो गलत निर्णयको खोक्रो धव्वु पुस्तक नेपालको गरिमामय इतिहास लेखनको लागि रत्तिभर काम नलाग्ने भएकोले कसैलाई यो पुस्तक पढ भनी सिफारीश गर्न सक्दिन । पछि फेला परेका अभिलेखहरु पनि अगाडि राखी लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत् हुन् वा होइनन् भनी केलाउन आधार प्रशस्त भइसकेको अवस्थामा विवेचित पुस्तकको औचित्य समाप्त भइसकेको छ । यसको लागि पुराना पिढीका इतिहासकारहरु र अब नयाँ सोच परख गर्ने क्षमता भएका लेखकहरुको मन मस्तिष्कमा यो लेखले अलिकति प्रभाव पार्न सकियो भने पनि मेरो लागि पाठक वर्गले लगाएको अमूल्य गुण ठान्नेछु ।