कठमाडौं । स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।
डिएलएस मेथड अनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएकोमा ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए ।
यो जितपछि स्कटल्याण्डको लिग- २ मा २९ खेलमा ३६ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा यो १५औं हार हो । नेपालले २५ खेलमा ८ जितसहित १८ अंक हासिल गरेको छ र हाल सातौं स्थानमा रहेको छ ।