काठमाडौं, पुस ५ गते । ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा इभानाले संखुवासभा ४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा हराइन् । धरान १६ की दीक्षा दाहाल र काठमाडौं महानगरपालिका २६ की अनिता महर्जन तेश्रो बने ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं २६ का चन्दन शाही पहिलो भए । उनले फाइनलमा ललितपुर २ का समिप श्रेष्ठलाई ११–३, ११–७ र ११–८ ले पाखा लगाए । ५० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा ललितपुर ११ का राजेन्द्र वज्राचार्यले कीर्तिपुर ६ का जय महर्जनको चुनौती १२–१०, १२–१४, ११–६ र ११–७ ले पन्छ्याउदै पहिलो भए । पुरुष टिम इभेन्टमा ललितपुर ८ ले ललितपुर ७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।
प्रतियोगितामा ललितपुर महानगरपालिका वडा ८ टिम च्याम्पियन बन्यो । वडा ८ ले ३ स्वर्ण जित्यो ।