
काठमाडौं, जेठ १३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई मंगलबार स्वागत गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई त्रिपुरेश्वर आफ्नै कार्यकक्षमा स्वागत गर्दै सफलताका लागि बधाइ दिए ।
श्रीलंकाको कोलम्बोमा मे १२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ कांस्य पदक जितेको थियो । पुरुष ५१ केजीमा अर्पिल राना र ६० केजीमा सिंहवीर लिम्बू तथा महिला ८० केजीमाथि त्रिशा जबेगु र ६० केजीमा नारिका राईले कांस्य जितेका थिए ।
सो अवसरमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

