
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै सुखद् सुरुआत गरेको छ ।
मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली यूएईलाई डीएल मेथडअनुसार पाँच रनले हराएको हो । यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, यूएई, ओमान र हङकङ सम्मिलित यू–१९ विश्वकप एसिया छनोटमा सुखद् सुरुआत गरेको छ । छनोटको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।
अघिल्लो संस्करणको छनोटमा विजेता बन्दै नेपालले विश्वकप खेलेको थियो । यसपल्ट पनि नेपालले सुखद् सुरुआत गरेको छ । अफगानिस्तानले पनि आइतबार नै ओमानमाथि आठ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ ।
नेपाल र यूएईबीचको खेलमा मैदानमा हिलो भएपछि टस गर्न ढिलाइ हुँदा ४० ओभरमा छोट्याएको थियो । कप्तान नरेन भट्टको अर्धशतकप्रेरित नेपालले २०१ रनको लक्ष्य दिएको थियो । जवाफी लक्ष्य पछ्याएको यूएई ३६औँ ओभरमा १७१/७ को अवस्थामा हुँदा खेलमा वर्षा भयो ।
त्यसपछि खेलका अम्पायरले खराब प्रकाशका कारण थप खेल हुन नसक्ने निर्णय दिन लागेका थिए । तर यूएईका खेलाडीले विरोध जनाएपछि लामो समय पर्खाइपछि मात्र अम्पायरले खराब प्रकाशका कारण खेल हुन नसक्ने निर्णय दिए र नेपालले साँघुरो अन्तरले जित निकाल्यो । त्योभन्दा केही ओभरदेखि नै नेपाल र यूएईबीच डिएल मेथडअनुरूप अगाडि रहन प्रतिस्पर्धा चलिरहेको थियो । अन्तत् त्यसमा नेपालले सफलता पाएको हो ।नेपालले दोस्रो खेल ओमानसँग सोमबार नै खेल्नेछ ।







