
ईखबरनेट संवाददाता काठमाडौं| राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ गते हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन हुन लागेको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत म्याराथनको बारेमा जानकारी दिएको हो ।
हाफ म्याराथनमा महिला/पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ ।
राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार संख्यामा सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा.शितलकाजी श्रेष्ठले बताए ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।







