
काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौँ महानगरपालिकाबाट उद्धार गरिएका असहाय, घरबारविहीन र सहयोगापेक्षी व्यक्तिहरूको स्वास्थ्योपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपैयाँ स्वास्थ्योपचारका लागि खर्च गरिनेछ ।
यससम्बन्धी काठमाडौँ महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै आइडीपीले पहिलो किस्ताबापत शिक्षा कार्यक्रमका लागि १० लाख ८० हजार रुपैयाँ र स्वास्थ्य कार्यक्रमका लागि १० लाख ४० हजार रुपैयाँ गरी २१ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई मानवीयतामा आधारित सहर बनाउने अभियानमा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको बताउँदै यस्ता सहकार्यले सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् । आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले कार्यक्रमको प्रभाव मूल्याङ्कनपछि सहयोगलाई निरन्तरता दिने बताए भने मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले प्राप्त सहयोग तोकिएको उद्देश्यअनुसार मात्रै खर्च गरिने प्रतिबद्धता जनाए ।
सम्झौताअनुसार रकम आश्रममा रहेका बालबालिकाको विद्यालय शुल्क, पोशाक, शैक्षिक सामग्री तथा अन्य आवश्यक शैक्षिक सहयोगमा खर्च गरिनेछ। साथै काठमाडौँका सडकबाट उद्धार गरिएका असहाय तथा घरबारविहीन व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्योपचार, औषधि तथा आवश्यक उपचार सेवामा पनि सहयोग गरिनेछ । कार्यक्रमको कार्यान्वयन मानव सेवा आश्रमले गर्नेछ भने काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्नेछ ।






