
बिराटनगर । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
अनसनस्थलबाट मंगलबार अबेर साँझमा नियन्त्रणमा लिएर भ्यानमा राखी प्रहरीले कार्कीलाई उनको घर लगेको छ।
नसनस्थलमा कार्कीको समर्थन गर्न पुगेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले प्रहरी दमनको भर्त्सना गरेका छन्।
‘प्रशासनले अनावश्यक रूपमा दमन गरेको छ, हामी संयमित छौं,’ मेयर कोइरालाले भने, ‘हामी यस्तो कदमको शान्तिपूर्ण रूपमा प्रतिवाद गर्नेछौं।’
मंगलबार साँझ ठूलो संख्यामा अनसनस्थलमा पुगेको प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा लिने प्रयास गर्दा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो।
कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले भने, ‘प्रहरीले यहाँ लाठी प्रहार गरेर करिब एक दर्जनलाई घाइते बनाएको छ।’
पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा भवन अगाडि रहेको वनसखण्डी मन्दिर अगाडि अनसन बसेका थिए।
१० वर्ष मुनिका बालबालिकाको निस्शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसनमा थिए।




