
भक्तपूर। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् ।
शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गरेका छन्। उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ। कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइदिने गरिएको छ। कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ।’
उनले जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् ।
‘जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो’ उनले भने।
अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि बताए।
हामी कुनै छलफल छाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौं । हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो–पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको । शान्ति सुब्यवस्थत गर्ने कुराको, कानूनी राज्यको कुराको । हाम्रो नीति यही हो,’ जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्ति र देशवासीलाई आह्वान गरे ।



