
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन रोक्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिएका छन्।
पाँच दिने काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन बूढानीलकण्ठस्थित साप्रेढुङ्गामा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘संघीयता विरूद्धको आन्दोलनलाई जति उठाउनुपर्थ्यो, त्यति हुन सकेको छैन’ भन्दै उनले चेतावनी दिए-‘यदि संघीयता विरूद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ। सबै कुरा गौण हो,मूख्य कुरा राष्ट्र हो ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका के.सीले राजा हटाइएका कतिपय देशहरूमा पुनर्स्थापनाको उदाहरण दिँदै नेपालमा पनि प्रतिगमनको खतरा कायमै रहेको बताए ।




